स्वास्थ्य मन्त्रालय अन्तर्गतको वार्षिक समिक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुरा भएको छ । एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बहादुर सिंह लामाले सरकार गठन गरेको गत कात्तिक १६ मा एक सय दिन पुरा गरेपनि उपलब्धीहरु सार्वजनिक भएका छैनन् ।

गत साउन ९ मा सरकार गठन गर्नुभएका मुख्यमन्त्री लामाले एक सय आठ बित्दासमेत एक सय दिनको उपलब्धीहरु सार्वजनिक गर्नुभएको छैन । सामान्यतः सरकार गठन भएको एक सय दिनको अवधिको कार्यलाई विशेष मान्दै प्रगति विवरण सार्वजनिक गर्ने गरिन्छ । हनिमुन पिरियडको रुपमा व्याख्या गरिने उक्त अवधिको उपलब्धीले सरकारको लक्ष्य र अवस्था मापन गर्ने गरिन्छ । तर, मुख्यमन्त्री लामाको एक सय दिनको उपलब्धी सार्वजनिक हुन नसक्दा सरकारको अवस्था र कार्य प्रगति बारे विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् ।

सरकारको एक सय दिनको उपलब्धी पनि निकै कमजोर देखिन्छ । सरकार औपचारिकतामा मात्र सीमित भएको देखिन्छ । प्रदेश सरकारका मन्त्रीहरु पनि खासै जिम्मेवार भएको देखिँदैन । मन्त्रीहरु खासै मन्त्रालयमा भेटिँदैनन्् । अधिकांश मन्त्रीहरु गृह जिल्लामा नै केन्द्रीत भएर बस्ने गरेका छन् । मन्त्रालयमा उपस्थिति कमजोर हुँदा बजेट तथा कार्यक्रम कार्यान्वयन नै निकै सुस्त देखिन्छ भने नयाँ र फरक प्रकृतिको योजना कार्यान्वयन हुने अवस्था देखिन्न । मन्त्रीसहित मुख्यमन्त्री नै औपचारिक कार्यक्रम, गृह जिल्ला तथा सामान्य कार्यक्रम तथा उद्घाटन र शिलान्यासमा व्यस्त हुँदा सरकारको कार्य सम्पादन कमजोर देखिन्छ ।

अंक गणितीय रुपमा प्रदेश सरकारको नेतृत्वमा एमाले–कांग्रेसको गठबन्धन अत्यन्त मजबुद देखिन्छ । कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ प्रदेशसभा सदस्यको समर्थनमा बनेको सरकारले एक सय दिन पुरा गर्नु नै महत्वपूर्ण भएको मन्त्रीहरुको भनाई छ । अस्थिर राजनीतिका बिच दुई मुख्य ठुला दलबाट समस्याको निकास निकाल्ने र देश विकासको नयाँ आयाम आउने व्याख्या पनि भएका थिए । तर, बलियो अंक गणितसहित खडा भएको सरकारको जग भने निकै जोखिमपूर्ण रहेकाले सरकारको कामको प्रभावकारिता समेत कमजोर भएको उनीहरु बताउँछन् ।

मुख्यमन्त्री लामासहित मन्त्रीहरुले प्रभावकारी कार्य सम्पादन नभएकाले तत्काल सार्वजनिक गर्ने अवस्था नरहेको एक मन्त्रीले बताउनुभयो । सरकार गठनको एक सय दिन नै पुरा भएपनि कार्य अवधि एक सय दिन नभएको उहाँको व्याख्या छ । साउन ९ पछि चाडपर्व र विपद्का कारण सरकारले सोचे अनुरुप काम गर्न नसेकको उहाँको भनाई छ । “हामीले जिम्मेवारी पाएको एक सय दिन पुरा भएपनि कार्य अवधि एक सय दिनको छैन । विपद् र चाडपर्वले पुरा अवधि काम गर्न सकेको अवस्था छैन । काम नै केही हुन सकेको छैन । तर, पनि केही नयाँ कामहरु थालिएको छ । उपलब्धीहरु देखिने समय पनि भएको छैन । तत्काल एक सय दिनको उपलब्धीहरु सार्वजनिक गर्ने अवस्था देख्दिनँ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्ने अधिकार मुख्यमन्त्रीको हो । चाडपर्वका कारणले एक सय दिनको मितिमा उपलब्धीहरु सार्वजनिक हुन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । सरकारले गरेका कामको उपलब्धीहरु तयारी अवस्थामा रहेपनि समय अनुकुल नहुँदा सार्वजनिक नभएको उहाँको भनाई छ । सरकारले प्रभावकारी कामहरु गरेको र उपलव्धीहरु पनि सन्तोषजनक नै रहेको उहाँको दावी छ । “एक सय दिनमा नै सरकारले कायापलट गर्छ भन्ने पनि हुन्न । सरकारको योजना अनुसार काम हुन केही समय लाग्छ । हामीले सिस्टम बनाएका छौं । त्यस अनुसार काम हुन्छ । उपलब्धीहरु क्रमशः देखिन्छन्”, उहाँले भन्नुभयो ।

विशेष योजना गोप्य राखिएको छः मुख्यमन्त्री लामा
मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले प्रभावकारी ढंगबाट काम गरेको दावी गर्नुहुन्छ । एक सय दिन पुरा भएपनि विपद् र चाडपर्वका कारण उपलब्धीहरु सार्वजनिक गर्न नसकेको उहाँको भनाई छ ।

छिट्टै नै पत्रकार सम्मेलन मार्फत् सरकारको १०० दिनको उपलब्धीहरु सार्वजनिक गर्ने उहाँले बताउनुभएको छ । सरकारले एक सय दिनमा विपद् व्यवस्थापनमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त गरेको उहाँले बताउनुभयो । बजेट कार्यान्वयनको चरणमा सरकार गठन भएकाले तत्काल नयाँ र फरक प्रकृतिका योजनाहरु कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले नयाँ र विशेष प्रकृतिका योजनाहरु गोप्य राखेको उहाँको भनाई छ ।

“एक सय दिन पुरा हुने समयमा तिहार परेकाले हामीले सार्वजनिक गर्न सकेनौं । छिट्टै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर एक सय दिनको उपलब्धीहरु सार्वजनिक गछौं”, उहाँले भन्नुभयो, “विशेषगरी विपद्का कारण सरकारलाई काम गर्न निकै समस्या भयो । हामीले एक सय दिनमा प्राप्त गरेको उपलब्धी पनि विपद् व्यवस्थापन नै हो । क्षतविक्षत भएको बागमती प्रदेशमा नागरिकहरुसम्म पुग्ने गरी सरकारले काम गरेको छ । चाडपर्वमा सडक संचालन हुने हो वा होइन भन्ने अवस्था थियो । हामीले अस्थायी रुपमा भएपनि कुनैपनि सडक अवरुद्ध नहुने अवस्था बनायौं । बजेट कार्यान्वयनको चरणमा रहेकाले विशेष योजनाहरु ल्याउन नसकेको हो । त्यसलाई हामीले गोप्य राखेका छौैं ।”