हेटौँडाः बागमती प्रदेश सरकार गठन भएको एक सय दिन पूरा भएको छ । कात्तिक १६ गते प्रदेश सरकार गठनको एक सय दिन पुरा भएको हो । गत साउन ९ मा गठित मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको एमाले–कांग्रेस गठबन्धनको सरकारले एक सय दिन पुरा गरेको हो । प्रदेश सरकारले साउन १२ मा पूर्णता पाएको थियो । प्रदेश सरकारको तत्कालिन १३ मन्त्रालयमा मुख्यमन्त्री लामाले १४ मन्त्री नियुक्त गरी साउन १२ मा सरकारलाई पूर्णता दिनुभएको थियो । प्रदेश सरकारमा एमालेका ६ र कांग्रेसबाट मुख्यमन्त्री लामासहित ८ मन्त्री सहभागी छन् ।

एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी अमन कुमार मास्केले पाउनुभएको छ । २२ अर्ब रुपैयाँ बढीको बजेट रहेको उक्त मन्त्रालयले शहरी विकास तथा भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ । मन्त्री मास्केले जिम्मेवारी सम्हाल्नु भएको एक सय दिनमा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सरकारले संचालन गरेको ५५ जिर्ण आयोजना पहिचान गरेको छ भने १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । मन्त्रीको पदबहाली गरे लगत्तै पहिलो निर्णय मार्फत् मास्केले जिर्ण आयोजना पहिचान गर्न अध्ययन समिति गठन गर्नुभएको थियो ।

मन्त्री मास्केको एक सय दिनको महत्वपूर्ण उपलब्धीको रुपमा जिर्ण आयोजनाको पहिचान तथा व्यवस्थापन रहेको छ । मन्त्री मास्केको निर्णय अनुसार मन्त्रालय अन्तर्गत रहेको रुग्ण आयोजनाहरुको पहिचान, व्यवस्थापन तथा सहजीकरण गर्नका लागि १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी रुग्ण आयोजना पहिचान तथा सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिबाट प्राप्त प्रतिवेदनको आधारमा योजनागत रुपमा प्राथमिकता साथ कार्यस्थल भ्रमण तथा ताकेता गरी ५५ ओटा रुग्ण योजनाहरु मध्ये सो अवधिमा २ वटा योजना सम्पन्न भएका छन् । रुग्ण आयोजनाको रुपमा रहेको २५ वटा योजनाहरुमा ठप्प रहेको निर्माण कार्य सुचारु गरिएको छ भने बाँकी योजनाहरुको समेत समस्या सहजीकरणको प्रयास भइरहेको मन्त्री मास्केले जानकारी दिनुभयो ।

मन्त्री मास्केको एक सय दिनको उपलब्धीको रुपमा प्रादेशिक सडकहरुमा प्राकृतिक विपद्को समयमा छिटो छरितो तथा प्रभावकारी रुपमा क्षतिग्रस्त भौतिक पूर्वाधारहरुको मर्मत सुधारको कार्यका लागि आकस्मिक र तत्काल परिचालन गर्न सकिने गरी द्रूत प्रतिकार्य टोली गठन गरिएको छ । उक्त टोलीलाई परिचालन गरी मन्त्रालयले विपद् प्रभावित क्षेत्रको सडकहरु संचालनको काम गरेको थियो । मन्त्री मास्केको एक सय दिनको उपलब्धीको रुपमा असोज ११ गतेदेखि १३ गते सम्मको अविरल वर्षाको कारणले आएको बाढ़ी, पहिरो तथा डूवानको कारणले प्रदेश अन्तर्गतका मुख्य–मुख्य सडक तथा सडक पुलहरु संचालन गर्नु रहेको छ । वर्षका कारण सडक पुलहरुमा अत्यधिक क्षति पुगेर चाडपर्वको अवसरमा आवागमन ठप्प भएकाले स्रोत र साधनहरुको परिचालन गरी तत्काल मर्मत तथा सुधार, डाईभर्सन निर्माण तथा वैकल्पिक सड़कहरुको पुनस्र्थापन जस्ता कार्यहरु गरिएको छ ।

जसबाट हेटौंडा–काठमाडांै जोड्ने ३ वटा मुख्य प्रादेशिक सडकहरु, अति क्षतिग्रस्त सिन्धुली, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक लगायत अन्य जिल्लाहरुको समेत आवागमनलाई छोटो समयमा नै रुपमा सुचारु गरिएको मन्त्री मास्केले बताउनुभयो । एक सय दिनमा बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माण योजनाको जग्गा प्राप्ति गर्ने प्रक्रिया अन्तर्गत उक्त आयोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ निर्धारण गर्न राष्ट्रिय योजना आयोग, काठमाडौं पत्राचार गरिएको छ । सो अवधिमा प्रदेश सरकार अन्तर्गत भवन निर्माणको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन, प्रदेश सरकारको भवन नीति, २०८१ तयार गरी सहमतिको प्रक्रिया अगाडि बढाइएको छ भने प्रादेशिक शहरी नीति, २०८१ र प्रादेशिक सडक मापदण्ड २०८१ को मस्यौदा तयार भएको छ ।

मानव विकास सुचाकांकमा पछाडी परेका स्थानीय तहहरुको एकीकृत पूर्वाधार विकास कार्यक्रमलाई व्यवस्थित गर्न कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ तयार गरी सहमतिका लागि पेश गरिएको छ । सो अवधिमा मन्त्रालयले १३ किलोमिटर सडक कालोपत्रे गर्नुको साथै ११ किलोमिटर सडक ढलान, २२ किलोमिटर ग्राभेल, २७ किलोमिटर नयाँ ट्रयाक खोल्ने कार्य, ४ वटा पुल र १ वटा झुलुंगे पुल, ३ वटा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । सो अवधिमा जनता आवास कार्यक्रम मार्फत् १२ वटा आवास, चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत थप २६० वटा आवास र खरको छानो उन्मूलन कार्यक्रम अन्तर्गत थप २४७ वटा आवास निर्माणको कार्य सम्पन्न गरिएको छ ।