देश अहिले राष्ट्रिय शोकमा छ । सरकारले गत शुक्रबार र शनिबारको अविरल वर्षासँगै बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी, पहिरो, डुबान र कटानका कारण दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । लाखौं मानिस पीडित र प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानबाट पीडित बनेकाहरुको बस्ने खाने ठेगान छैन । २० औं अरबको आर्थिक क्षति भएको छ । यस्तो विपद् र शोकको अवस्थालाई कतिपय व्यवसायी तथा व्यक्ति भने अवसर बनाउँदैछन् । खोला, नदीमा आएको बाढीले धेरै सडक तथा पुल बगाउँदा राजधानी काठमाडौंसँग जोड्ने धेरै सडक–खण्डहरु अवरुद्ध भएका छन् । केही सडक–खण्डमा यातायात सञ्चालन हुन थालेका छन् । नजिकिँदै गरेको दशैंले मानिसको आवागमन बढ्दै गएको अवस्थामा सडक अवरुद्ध हुँदा थप समस्या बनिरहेको छ ।

बाढी, पहिरो र कटानका कारण सडक यातायात अवरुद्ध हुनेवित्तिकै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरुले चर्को हवाइ भाडा असुलेका छन् । हवाइजहाजको टिकट अग्रिम बुकिङ भइरहेको र साविकको भन्दा तेब्बरसम्म भाडा असुल गरेको यात्रुको गुनासो छ । हेटौंडा–काठमाडौं चल्ने टाटा सुमो तथा विद्युतीय सवारी साधनले पनि यात्रुसँग बढी भाडा लिएको गुनासो आएको छ । आइतबार साँझबाट त्रिभुवन राजपथको पालुङबाट चित्लाङ हुँदै काठमाडौंसम्मको सडक सुचारु भएपछि हेटौंडा–काठमाडौं सुमो सेवा सञ्चालन भएको थियो । सोमबार सुमो सञ्चालक तथा चालकहरुले यात्रुसँग एक हजार रुपैयाँ भाडा लिएको पाइएको हो । साविक ६ सय ५० रुपैयाँ भाडा रहेकोमा सुमो व्यवसायी तथा चालकले ३ सय ५० रुपैयाँ बढी भाडा लिएका हुन् । विपद्को समयमा यात्रुलाई सहुलियत दिएर सेवा सञ्चालन गर्नु पर्नेमा झन् बढी भाडा असुल गर्नु उचित होइन । सरकारले तोकेको भाडादर भन्दा बढी भाडा असुल गर्नु गैरकानुनी काम हो ।

दशैं, तिहारजस्ता चाडपर्व र लोकसेवा, शिक्षक सेवाको परीक्षाको बेलामा यात्रुको चाप बढी हुने गरेका कारण सुमो व्यवसायीले यसअघि पनि बढी भाडा असुल गर्ने गरेका छन् । विगतका वर्षहरुमा दशैं, तिहारअघि काठमाडौंबाट हेटौंडा आउने र दशैं, तिहारपछि काठमाडौं जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिँदा पनि सुरक्षा निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको जगजाहेर छ । दशैं नजिकिँदै गर्दा बढी भाडा असुल गर्ने दाउमा रहेका सुमो व्यवसायीलाई अहिलेको विपद्ले थप अवसर दिएको छ । साविकको भन्दा बढी दुरीको सडक–खण्ड प्रयोग गर्नुपरेका कारण बढी भाडा लिएको सुमो चालक तथा व्यवसायीको भनाइ औचित्यपूर्ण छैन । यसअघि भाडादर तोक्ने समयको भन्दा अहिले डिजेलको मूल्य निकै कम भइसकेको छ । तोकिएको भाडादरमा सवारी साधन चलाउन नसकिने हो भने व्यवसायीले सरकारी निकायमा पहल गरेर नयाँ भाडा दर निर्धारण गराउनुपथ्र्यो । आफूखुशी मनलाग्दी भाडा लिएर यात्रु ठग्नु कालोबजारी हुने तथ्य व्यवसायीले बुझ्नुपर्छ ।

विपद्को समयमा पीडित र प्रभावितलाई राहत दिनुपर्नेमा उल्टै कालोबजारी गर्नेलाई सरकारी निकायले प्रभावकारी कारबाही गर्न सकेको छैन । दुई दिन पानी पर्दा बजारमा तरकारीको भाउ आकाशिँदा नियमनकारी निकायले थाहा नै पाउँदैन । प्रतिकेजी ५०–६० रुपैयाँमा बिक्री भइरहेका तरकारी दुई दिनको अन्तरालमा २ सय रुपैयाँको हाराहारीमा बिक्री हुँदा पनि नियन्त्रणको कुनै प्रयास गरिँदैन भने सरकार छ भनेर आम नागरिकले विश्वास गर्न सक्दैनन् । चाडपर्वको समय र यस्ता विपद्को समयमा मोका छोपेर कालोबजारी तथा अन्य अनियमित कार्य गर्ने जोसुकैलाई कारबाही गर्न नियमनकारी निकाय चनाखो बन्नैपर्छ । विपद्लाई अवसर बनाएर मौकामा चौका हान्ने यातायात तथा अन्य व्यवसायीलाई कारबाही हुनैपर्छ । नजिकिँदै गरेको दशैं तथा अन्य चाडपर्वको समयमा हवाई तथा सडक यातायातका साधनमा यात्रुको चाप बढी हुने भएकाले व्यवसायीबाट बढी भाडा असुल गर्ने सम्भावना रहन्छ । यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था अन्त्य गर्नु सरकारको दायित्व भएकाले सरकारले कि नयाँ भाडादर तोक्नुपर्छ नभए बढी भाडा लिनेलाई कारबाही गर्नैपर्छ ।