हेटौंडाः हेटौंडामा जारी ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको ५ खेलहरु सम्पन्न भएको छ । भूटनदेवी क्लबको आयोजनामा बुधबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा प्रतियोगिताको ५ खेल सम्पन्न भएको हो । बुधबारको पहिलो खेलमा एफसी सुकौलीलाई २–० गोलले हराउँदै एफसी देवनगर विजयी भएको छ । एफसी देवनगरको तर्फबाट प्रशान्त देउलाले खेलको ४२ औं मिनेटमा र विशाल कार्कीले ३९ मिनेटमा एक–एक गोल गरेका हुन् । म्यान अफ द म्याच विशाल कार्की घोषित भएका छन् ।
दोस्रो खेलमा नवमिलन क्लबलाई २–१ गोलले हराउँदै हेटौंडा एफसी विजयी भएको हो । हेटौंडा एफसीका निराजन घलानले दुई गोल गरे भने नवमिलनका पुजन रुम्बाले एक गोल फर्काएका थिए । तेस्रो खेलमा एफसी डिभी गाइजलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै कुमारी एफसीले सुखद् सुरुवात गरेको छ । कुमारीको जीतमा अनिल घलानले २ गोल, छिरिङ तामाङ, समयुयल सुनार र सुुविन लामाले एक–एक गोल गरेका छन् । खेलको म्यान अफ द म्याच सुविन लामा घोषित भएका छन् ।
यस्तै, चौथो खेलमा कर्रा युथ क्लबलाई ३–० गोलले हराउँदै आयोजक भुटनदेवी क्लब विजयी भएको छ । आयोजकको जीतमा सुजल श्रेष्ठले २ गोल गरे भने सुरज लामाले एक गोल गरेका हुन् । म्यान अफ द म्याच सुजल श्रेष्ठ घोषित भएका छन् ।
पाँचौं खेलमा रिगल हेटौंडा रिसोर्टलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै एफसी चाइना पब्लिक विजयी भएको छ । निर्धारित समयमा २÷२ गोलको बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरीमा रोकिएर खेल सडन डेथमा पुगेको थियो । चाइना पब्लिकका युवराज लामाले २ गोल गरेका थिए । रिगलका प्रितम स्याङ्बो र अछिम लामाले एक–एक गोल गरेका हुन् ।
प्रतियोगिताको फाइनल खेल असोज २० गते हुनेछ । प्रतियोगिताका संयोजक सेजन खड्गीको संयोजकत्वमा भएको प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।