साङ्केतिक तस्वीर ।

हेटौंडाः बालबालिकालाई हुने विभिन्न रोगको मुख्य कारण कुपोषण रहेको बताइएको छ । पोषणयुक्त खानेकुरा नखाएका बालबालिकालाई कुपोषणसहित अन्य स्वास्थ्य समस्या धेरै देखिने गरेको बताइएको हो ।

कुपोषण भएमा बालबालिकालाई छिटो रोग लाग्छ भने अन्य बालबालिकाको तुलनामा जटिल पनि हुन्छ । मकवानपुर जिल्लामा कुपोषण संक्रमणका बालबालिकाहरु बढि देखिइरहेका छन् । तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को जेठसम्म जिल्लाका १० वटा पालिकामा २ सय २५ जना बालबालिकालाई कुपोषण भएको छ ।

चालु आर्थिक वर्षमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २३ जना, मकवानपुरगढी गाउँपालिकामा ७ जना, इन्द्रसरोवर गाउँपालिकामा ३० जना, बकैया गाउँपालिकामा १३ जना, भीमफेदी गाउँपालिकामा २० जना, बागमती गाउँपालिकामा १८ जना र मनहरी गाउँपालिकामा ४ जनालाई कुपोषण भएको बताएको छ । यस्तै, कैलाश गाउँपालिकामा ६ जना र राक्सिराङ गाउँपालिकामा एक सय ४ जना बालबालिकालाई कुपोषण भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको फोकल पर्सन बासु रिमालका अनुसार स्वास्थ्यकर्मीहरुलाई कुपोषणसम्बन्धी ७ दिने तालिम दिने गरिएको छ । यस्तै, पालिकाको ओटीसी सेन्टरमा माग भएअनुसार कुपोषणको उपचार गर्ने खाना आरओटिएफ वितरण गरेको रिमालले बताउनुभयो । पालिकाले आपैmँ कुपोषणको विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको उहाँको भनाइ छ ।

मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रव लामिछानेले मध्यम कुपोषण भएका ७ जना बालबालिकाको आमभञ्ज्याङ स्वास्थ्य चौकी र मकवानपुरगढी स्वास्थ्य चौकीमा उपचार भइसकेको बताउनुभयो । यस्तै, मनहरी गाउँपालिकाले पोषण रोकथामसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनुभयो । उहाँको अनुसार पालिकाले ५ वर्ष मुनिका करिब ३ हजार ५ सय बालबालिकाको पोषण स्क्रिनिङ गरेको छ ।

ईन्द्रसरोवर गाउँपालिकाले उपाध्यक्ष पोसिलो कार्यक्रमअन्तर्गत गर्भवतीलाई एक क्रेट अण्डा र पोसिलो खानेकुरा दिने गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताउनुभयो । पालिकाले ओटीसी सेन्टर सञ्चालन गरेको छ । उहाँका अनुसार मध्यम कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेको र कडा कुपोषणलाई हेटौंडा रिफर गर्ने गरिएको छ ।

पहिलेको तुलनामा अहिले कुपोषणका बिरामी बढिरहेको हेटौंडा अस्पतालका बालरोग विषेशज्ञ डा. राजु सेढाइले बताउनुभयो । बालबालिकाको तौल नबढ्ने वा धेरै बढ्ने, खाना खान मन नलाग्ने, सुक्ने वा फुल्ने, छिटो बिरामी पर्ने यसको लक्षण हुन् । बालबालिकाको उचाइअनुसार तौल हुनुपर्ने डा. सेढाइले बताउनुभयो ।

बालबालिकालाई जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु पर्छ । ६ महिनापछि मात्र पोसिलो खानेकुरा खुवाउनु पर्छ । अस्पतालले भर्ना भएका बालबालिकालाई निःशुल्क दूध दिने गरेको छ । बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोसिलो खानेकुरामा धेरै ध्यान पु¥याउनु पर्छ । बालबालिकालाई कुपोषण हुनेबित्तिकै जाँच गराउन आवश्यक हुन्छ । कुपोषण भएका बालबालिकामा वृद्धि कम हुने, दिमागको विकास नहुने, सानो रोग पनि ठूलो हुने र सामान्य भन्दा मुत्युको दर छिटो र बढि हुने डा. सेढाइले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा हेटौंडा अस्पतालमा ५ हजार ५ सय ११ जना बालबालिकाले कुपोषण भए नभएको सम्बन्धी स्क्रिनिङ जाँच गराएका छन् । अस्पतालले कुपोषण भएको तर कुनै पनि रोग नलागेको बालबालिकालाई भर्ना गर्ने बाल वार्डकी नर्स सविना प्रधानले बताउनुभयो । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३२ जना बालबालिकालाई भर्ना गरेको थियो । अस्पतालमा साउन महिनामा ३ जना, भदौ महिनामा २ जना, असोज र मंसिर महिनामा एक–एक जना, फागुन महिनामा ३ जना, चैत महिनामा ३ जना, बैशाख महिनामा १० जना, जेठ महिनामा ६ जना र असार महिनामा ३ जना भर्ना भएका थिए ।

अहिले कोही पनि भर्ना नभएको नर्स प्रधानले बताउनुभयो । नेपाल सरकारले निःशुल्क गरेको औषधी, अनुसन्धानलगायतका पोषण खानेकुरा अस्पतालले बालबालिकालाई प्रदान गरेको छ । अस्पतालले भर्ना भएका बालबालिकालाई जानेबेलामा एक जोर कपडा दिने गरेको प्रधानले बताउनुभयो ।

कुपोषण भएका बालबालिकाको उपचार गर्ने कार्य सरकारले गर्ने गरेको जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानले बताउनुभयो । जनसमुदायले स्वास्थ्य कार्यालयसँग सो भएमा समन्वय गर्नुपर्छ । सम्बन्धित पालिकाले घरघरमा पोषणयुक्त खानेकुरा पठाउने बताउँदै उहाँले पालिकाले बजेट काटेर भए पनि कुपोषण भएका बालबालिकालाई सेवा सुविधा पु¥याउनु पर्ने बताउनुभयो । कुपोषणलाई घटाउन सबैको दायित्व हुन्छ । अनिवार्य सेवा सुविधा दिन समितिले समन्वय गरेर भूमिका निर्वाह गरेको र गर्ने घलानले बताउनुभयो ।