शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । । सन् १९१० मार्च ८ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । यस दिवसलाई श्रमिक महिला दिवसको रुपमा समेत मनाउने गरिएको छ । नेपाललगायत विश्वभर हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । हेटौंडामा पनि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइएको छ । अखिल नेपाल महिला संघ मकवानपुर ले सप्ताहव्यापी कार्यक्रम गरी नारी दिवस मनाएको छ । रक्तदान, स्लो स्कुटी रेस, श्रमिक महिलालाई खाद्यान्न सहयोग, वक्तृत्वकला, अन्तरक्रिया र सम्मान कार्यक्रम गरेर संघले दिवस मनाएको हो । संघले मकवानपुरका ७ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको थियो । संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई महिलाको हकअधिकार प्राप्ती, लोकतन्त्रको स्थापना, नागरिकको अधिकार प्राप्तीको विभिन्न माग राख्दै मागपत्र बुझाएको छ । महिलाहरु कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा आधुनिक र प्रविधिको प्रयोगका माध्यमबाट हुने हिंसा आदिबाट पीडित भएको भन्दै घटना नै नघट्ने वातावरण सिर्जना गर्न र घटना घटेको खण्डमा छिटो र प्रभावकारी न्यायका लागि आवश्यक कदम चाली अपराधीलाई उचित दण्ड, पीडितलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउने व्यवस्था गर्न संघले माग गरेको हो ।

नारी दिवसकै अवसरमा जिल्ला बचत संघ मकवानपुरले ‘१०१’ सहकारी अभियन्ता पुस्तक विमोचन गरेको छ । सहकारीको स्थापना र विकासमा समर्पित ५० जना महिला अभियन्ताहरुको कथा समेटिएको पुस्तक विमोचन गरिएको हो । नारी दिवसकै अवसरमा शुक्रबार ३३ जना महिलालाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ५ वटा विधामा ३३ जना महिलालाई सम्मान गरेको हो । उपमहानगरपालिकाको १९ वटा वडाबाट एक–एक जना संघर्षशील महिलालाई सम्मान गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएर व्यवसायी बनेका महिलालाई पनि सम्मान गरिएको छ । यस्तै, निर्माण तथा उद्यममा संलग्न महिलालाई पनि सम्मान गरिएको छ । एकल महिला र चुनौतीपूर्ण व्यवसायमा संलग्न महिलासमेत सम्मानित भएका छन् । नारी दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाले श्रमजीवी महिलाहरुलाई सम्मानका साथै खुला हाजिरीजवाफ प्रतियोगिता र निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

महिलाको हक, हित र अस्मिताको लागि शताब्दीऔं अघिदेखि आवाज उठ्ने गरेको भए पनि पछिल्लो एक शताब्दीमा महिलाको आवाज बुलन्द बन्दै आएको छ । संयुक्त राष्ट्र संघीय क्रियाशीलतामा बढेको जागरणको लहरले विश्वभरिकै मुलुकका नारीलाई एकजुट बनाउँदै लगेको छ । यसलाई महिला र अन्य नागरिकमा आएको राजनीतिक सचेतना र आर्थिक क्रियाकलापले पनि सहयोग गर्दै आएको छ । विश्वका सबैजसो देशमा देखिएको राजनीतिक परिवर्तन, आर्थिक समानता, महिलालाई प्राप्त भएका विशेष अधिकारले नारीलाई थप सशक्त बनाउँदै लगेको छ । तर, पनि महिलामाथि हुने हिंसा, शोषण, उत्पीडन, भेदभावका समस्या अझै हटेको छैन ।

नारी स्वयम् जागरुक भएर अगाडि नबढेसम्म अपेक्षित परिणाम प्राप्त नहुने यथार्थबोध हुनुलाई सकारात्मक मान्नुपर्छ । पछिल्लो समय महिलालाई जागरुक बनाउन उत्प्रेरित गर्न विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । यस वर्षको नारी दिवसको अवसरमा पनि हेटौंडामा महिला प्रधानाध्यापक र अन्य महिलालाई सम्मान गरियो । यस्ता सम्मानले महिलालाई केही हदसम्म उत्प्रेरित गर्ने भए पनि उनीहरुलाई हरेक क्षेत्रमा अगाडि बढ्न अवसर दिनु उचित हुनेछ । राजनीतिक परिवर्तन र चेतना वृद्धिसँगै नारीप्रति हेरिने दृष्टिकोण बदलिएको छ । संविधान, कानुन, नीति, नियम आदिमा नारी अनुकूल व्यवस्था कायम भएको छ । तर, नीति निर्माण तह र राज्य सञ्चालनका अंगहरुमा महिला सहभागिता न्यून छ । नारी दिवसको अवसरमा सिमित महिलालाई सम्मान गरेरमात्र आम महिलाको समस्या समाधान हुँदैन । यसका लागि उनीहरुलाई उचित अवसर दिनैपर्छ ।