हेटौँडाः हेटौँडा–४ स्थित किताबघरले पहिलो वार्षिकोत्सवको अवसरमा पठन संस्कृतिबारे बहस तथा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ । शनिबार हेटौँडामा भएको “विद्यालयमा पठन संस्कृतिः के, किन र कसरी पढ्ने” शीर्षकको बहसमा लेखक, साहित्यकार नयनराज पाण्डे, न्यू मिलेनियम स्कूलकी कविता अर्याल र निजी तथा आवासीय विद्यालय अर्गजनाइजेसन (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी सहभागी हुनुहुन्थ्यो ।
न्यू मिलेनियम स्कूलकी कविता अर्यालले आफ्नो विद्यालयको विशेषताको विषयमा व्याख्या गर्नुपर्दा व्यवस्थित पुस्तकालयको चर्चा गर्ने गरेको र अभिभावकलाई अन्य सुविधाभन्दा पनि पुस्तकालय देखाउने गरेको बताउनुभयो । पठन संस्कृति अनिवार्य भएकोले पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्दा पढ्ने बानीको विकास भई पाठ्यक्रमका पुस्तक सहज हुने बताउनुभयो । साहित्यकार, लेखक नयनराज पाण्डेले बालबालिबाललाई पढ्न प्रेरित गर्ने आकर्षक पाठ्यपुस्तक गुण र संख्या दुबै हिसाबले कम रहेको उल्लेख गर्नुभयो । उहाँले आफू बालसाहित्यमा लेख्न रुचि राखे पनि लेख्ने आँट भने नआएको बताउनुभयो । बहसमा सहभागी प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विद्यालयमा मात्रै नभई समुदायमा पनि पुस्तकालयको स्थापना र प्रयोगलाई बढाउन सके पठन संस्कृतिको विकास हुने धारणा राख्नुभयो ।
यसैबीच किताबघरले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा हेटौँडा–५ स्थित जिएस निकेतन माविकी आकांक्षा निरौला, हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविकी गृष्मा खतिवडा र हेटौँडा–९ स्थित हेटौँडा मोर्डन स्कूलकी सुमिसा श्रेष्ठका कविता उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट १० मा पर्न सफल सहभागीलाई सहभागिताको प्रमाणपत्रसहित एक÷एक थान पुस्तक प्रदान गरिएको थियो । कार्यक्रममा पाठकको प्रतिक्रिया समेत प्रस्तुतीको अवसर दिइएको थियो । कार्यक्रममा सहभागी पाठकले फरक र विविध विषयका पुस्तक उपलब्ध गराएर किताबघरले पठन संस्कृतिको विकासमा सहयोग पु¥याएको बताएका थिए ।