फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी नवौं संस्करणको हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौंको किङ कम भेट्रान्स र बानेश्वर फ्रेन्स भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार प्रतियोगिताका दुबै सेमिफाइनल खेल सम्पन्न भएसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा पोखराको एबीसी भेट्रान्सलाई पराजित गर्दै किङ कम भेट्रान्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किङको जितमा जगतमान लामाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच लामा घोषित भए ।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा पोखराको बगरभाइ खलकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै बानेश्वर फाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच बानेश्वरका राजु पुलामी घोषित भए ।

प्रतियोगितामा बानेश्वर अभिषेक चर्चलाई हराउँदै क्वाटरफाइनलमा र चितवन भेट्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै, किङ कम वीरगञ्ज युथ भेट्रान्सलाई हराउँदै क्वाटरफाइनलमा र आयोजक हेटौंडा भेट्रान्स ‘बी’लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताअन्तर्गत् उपाधिका लागि बानेश्वर र किङ कमबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुने फोर्थ अफिसिलय प्रदीप पराजुलीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५५ हजार रुपैयाँ चित्त बुझाउनेछन् ।