हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँ कमिटीले व्यवस्थाको मर्म अनुरुप कार्य गर्न पालिकालाई ध्यानाकर्षण गराएको छ । बुधबार मकवानपुरगढी गाउँ कमिटीका अध्यक्ष राजकुमार खड्का र कमिटी इन्चार्ज सरोज खनालको संयोजकत्वमा पालिकाका उपाध्यक्ष मानकुमारी नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सामाजिक सूरक्षा भत्ता वितरणमा सहजता ल्याउनूपर्ने, उत्पादनमा आधारित दुधमा दिइरहेको प्रतिलिटर अनूदान नियमित गर्नुपर्ने, नीति तथा कार्यक्रम तय गर्दा र बजेट बाँडफाड गर्दा गठबन्धन तथा सर्वदलीय समन्वय गर्नुपर्ने ध्यानाकर्षण पत्रमा भनेका छन् । स्थानीय सरकारको दुइवर्षे नीति तथा कार्यक्रम गन्तव्यविहीन देखिएकोले दीर्घकालीन र जनमूखी नीति कार्यक्रमहरु तयार गर्नुपर्ने, प्रशासनिक संयन्त्र कमजोर रहेकोले सो को सुधार गर्नुपर्ने, भूमाफियाहरुले आफ्नो कब्जामा बाँझो राखेको जमिन किसानहरुको पहुँचमा ल्याउने नीति अबलम्वन गर्नुपर्ने जस्ता माग राखेका छन् ।
पहिले पनि मौखिक रुपमा ध्यानाकर्षण गराउँदै आउँदा पनि जनताबाट भएका मागहरु सम्बोधन नभएको बताउँदै मागहरुलाई समयमा नै सम्बोधन नगरेमा पार्टी भण्डाफोरको कार्यक्रम लिएर अगाडि बढ्ने चेतावनीसमेत दिएका छन् ।