नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्ती मनाइएको छ । बीपी कोइरालाको ११० औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी आइतबार मनाइएको छ । वि.सं. १९७१ साल भदौ २४ गते जन्मिएर २०३९ साल साउन ६ गते निधन भएका बीपी कोइराला नेपालको राजनीतिक इतिहासमा सदा स्मरणीय व्यक्तित्व हुन् । बीपीलाई एक कुशल राजनेताको रुपमा चिन्ने गरिन्छ । उनी राजनीतिज्ञ मात्र थिएनन्, विचारक र चिन्तक पनि थिए । उनी क्रान्तिनायकमात्र होइन, प्रयोक्ता पनि थिए । बीपी कोइराला नेपाली राजनीतिका चम्किला तारा थिए । राजनेताको जस्तो हैसियत बनाएका बीपीको जीवनकाल संघर्षपूर्ण र कष्टपूर्ण बनेको पाइन्छ । उनको लोकप्रियतालाई कमजोर बनाउन विभिन्न असफल प्रयासहरु पनि भएका थिए । मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल बीपीले जम्मा १८ महिनामात्र शासन सत्ता सम्हाल्न पाए । बीपीको लोकप्रियताबाट आत्तिएका तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते उनलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेका थिए ।
बीपी कोइरालाको नाम जोडिएका थुप्रै संघसंस्था खुलेका छन् । उनकै अगुवाइमा स्थापना भएको नेपाली कांग्रेस पार्टी अहिले पनि देशकै ठूलो राजनीतिक दल रहेको छ । नेपाली कांग्रेस तथा अन्य संघसंस्थाले बीपी कोइरालाकै नाम भजाएर राजनीति गरिरहेको छ । यसकारण तिनै संघसंस्था र नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी बीपी कोइरालाको जन्मजयन्ती मनाएको छ । विभिन्न कार्यक्रम गरेर उनको राजनीतिक तथा साहित्यिक योगदानको चर्चा गरिएको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले उनको दूरदर्शिता, इमान्दारिता, राष्ट्र र राष्ट्रियताप्रतिको विचार र व्यवहारको प्रशंसा गरेका छन् । जन्मजयन्ती र स्मृति दिवसमा बीपीको जति चर्चा गरिन्छ, त्यसको थोरैमात्र पनि व्यवहारमा लागू गर्न नसक्नु भने विडम्बना नै मान्नुपर्छ । बीपीको नामलाई बेचेर राजनीति गरिरहेकाहरुले पनि उनको विचार तथा सिद्धान्तलाई व्यवहारमा लागू गर्न सकेका छैनन् ।
१०४ वर्षको जहाँनिया राणा शासन अन्त्यका लागि बीपी कोइरालाको भूमिका महत्वपूर्ण मानिन्छ । बीपीकै नेतृत्वमा गरिएको सशस्त्र संघर्षको परिणामस्वरुप २००७ सालमा नेपालमा राणा शासन अन्त्य भयो र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । विसं २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस दुई तिहाइ बहुमतसहित विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालीन संविधान तथा कोइरालाको सरकार भंग गरे । राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । कुनै मुद्दाबिना नै बीपी कोइरालालाई ८ वर्षसम्म कैदमा राखियो । २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर उनी नेपाल फर्के । तर तत्कालीन सरकारले उनलाई देशद्रोहको अभियोगमा करिब २ वर्ष जेलमा राख्यो । प्रजातान्त्रिक समाजवादलाई प्रमुख सिद्धान्त बनाएका बीपीले आफ्नो सिद्धान्तअनुरुप काम गर्न भने पाएनन् ।
राजनीतिलाई सामान्य नागरिकको जीवनसँग जोड्न खोज्ने बीपीको योगदानलाई जति चर्चा गरे पनि अपूरै हुन्छ । उदार प्रवृत्तिका बीपी निडर, निर्भिक र दूरदर्शी पनि थिए । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक मानिन्छन् । उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर र यहुदीजस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चित छन् । बीपीका दोषी चश्मा र श्वेतभैरबी कथा संग्रह एवम् आफ्नो कथा र जेल जर्नल जीवनी प्रकाशित छन् । देश र जनताका लागि केही गरौं भन्ने भावना भएका बीपीको नेतृत्व देशले लामो समय पाउन सकेन । प्रजातन्त्र र समाजवादलाई मौलिक चिन्तनका आधारमा जोड्दै उनले नेपाललाई विश्व राजनीतिक मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएका थिए । बीपी कोइराला नेपाली काँग्रेस पार्टी र त्यसका नेता, कार्यकर्ताका मात्र नभई धेरै राजनीतिक नेतृत्वका निम्ति प्रेरणाको स्रोत बनेका भए पनि उनको चिन्तन र विचारलाई ओझेलमा पारिँदै आएको पाइन्छ ।