राजकुमार लामिछाने
(हाँस्यव्यंग्यः नागपञ्चमी विशेष)
भोलि एउटा साहित्यिक कार्यक्रममा बमजस्तै ताली पड्किने कवितासहित उपस्थित हुने निम्तो आएकोले के कोर्ने होला भनेर विस्तारामा पल्टेर गम खाँदै थिएँ । अचानक एउटा कविता फुरेकोले साइत जुरेको महसुस गरेँ ।

उद्घोषक मित्रले बोलाएपछि पोडिएम अगाडि अडिएँ र कविता वाचनका लागि ठडिएँ । गला खोल्न र स्पष्ट हुने गरी बोल्न ख्वाक्क खोकेँ र माइकको मुखमा हल्का ठोकेँ । माइक रिसाएर हो कि मैले बोली मिसाउन नपाउँदै उ चुप रह्यो । “हलो हलो” भन्दाभन्दै उसको आवाज कता चलो पत्तै भएन ।

साउण्ड सिस्टमका साहुजीले माइकलाई फकाई फुल्याई गरेर एकछिन भुल्याएपछि माइक टेस्ट गर्दा वेस्ट भयो। करिब बीस÷पच्चीस मिनेटको अतिथि सम्बोधनपछि सुरू भयो मेरो कविता ।

एक सय चार वर्ष जंगे साँपले डस्यो
त्यसपछि कालो जातको पंचे सर्प पस्यो
राजतन्त्र, गणतन्त्र, तन्त्र सबै उस्तै
धामी मात्र फरक हजुर मन्त्र उस्तै उस्तै !

यस्तो अत्यन्त चोटिलो, पोटिलो, सान्दर्भिक र मार्मिक मेरो कविताले कार्यक्रममा उपस्थित दर्शकहरूका मन छोयो र वान्समोरको आवाजले कविता स्वयं भावुक भएर रोयो ।

तर दुर्भाग्यवश उक्त कविताले आफ्नो अपमान भएको भनेर सारा नागहरू जागे र मलाई लखेट्न लागे । म अघि–अघि नागहरू पछि–पछि केही किलोमिटरको म्याराथन रेश नै चल्यो । जब दौडिन नसक्ने भएर मेरो शक्ति गल्यो, तब उनीहरूसमक्ष हात जोड्दै र प्रसङ्ग क्षतिपूर्तितिर मोड्दै कुरा मिलापत्रतर्फ चल्यो ।

एउटा किम्वदन्ती सुनेको थिएँ । एकपटक एउटा किसानले आफ्नो खेत खनिरहेका बेला नागका बच्चाहरू मारिएपछि नागिनी रिसाएर किसानको पनि सबै परिवार सखाप पारिदिएकि थिई । तर किसानकी छोरीले भने तपाईंलाई दुध खुवाउँछु नमार्नुहोस् भनेर अनेकौं अनुनय विनय गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिएकोले उनको ज्यान बचेको हुँदा नागहरूको पछिसम्म ध्यान गरेको ।

मैले पनि उक्त किसानकी छोरीले झैं विलौना गर्दै भने, “माफ गर्नोस् ! मैले नेपालको अस्तव्यस्त राजनीतिक व्यवस्था र दुईजिब्रे नेतागणको चरित्रसँग तुलना गरेर हजार जिब्रा भएका तपाईंहरूको उपेक्षा गरेँ । अब सधैं तपाईंहरूको शरणमा पर्छु र गाईको दूध, अक्षता, दुबो, खीर, पुरीसहित विभिन्न परिकारका प्रसाद चढाउँदै पुजा गर्छु ।” यति भनेपछि मलाई क्षमा दिए र नागहरू अलप भए ।
हुन त नागलाई विभिन्न भगवानको रूप मानेको, सृष्टि नै उनीहरूले धानेको, नाग रिसाए भने पानीको अभाव हुने, खडेरी परेर ज्यान लिने, घर पातालतिर धस्ने र मानव समुदाय ठूलो संकटमा फस्ने लगायतका अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास र मान्यताहरूले बेलाबेलामा दिमागमा हिट नगरको होइनन् । झन् आफ्नै कवितामा नागहरूलाई व्यङ्ग्य गरेका कारण उनीहरू रिसाएका कुराले चिटचिट पसिना छुटिरहेको हुँदा मेरो मथिङ्गल कसरी नागलाई खुशी बनाउने भन्ने सन्दर्भमा नै सधैं जुटिरह्यो ।

माले, झाले, कोरम, फोरम, पाएजति सबै सोरै भन्ने विभिन्न पार्टीहरूका नाम भएजस्तै नागहरूका समेत बाह्र नाम उल्लेख भए पनि आखिर अनन्त, वासुकी,पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने प्रचलन रहेको । नाग नगिनी खुशी भई उनीहरूले दिएको आशिर्वादले चन्द्रावति र नवराजको भोलिपल्टै भेट भएको । रौंको आकारमा फुलभित्र पसेर परीक्षितलाई तक्षक नागले डसेर मारेको धर्मशास्त्रमा वर्णित प्रसङ्गहरूले समेत नागलाई खुशी बनाएर राख्नुपर्ने विषयले मथिङ्गलमा सधैं कचिंगल चलिरहन्थ्यो ।

यिनै विविध कारण र आफूले गरेको कबोल मुताविक नागहरूलाई खुशी पार्न दुध चढाउने, विभिन्न परिकारका सामग्री तयार गरी नाग टाँस्ने पूजा गर्ने पवित्र उद्देश्यले नाग पञ्चमीका दिन सबेरै गौमाताको दुध एवम् गोबर संकलनतर्फ लागेँ ।

गाउँघरमा पो माली गाई, झाली गाई, काली गाई, तिल्की गाई, मिल्की गाई, खैरी गाई, राती गाई, कथुरी गाई, कैली गाई जस्तो रंग रूपको गाई खोज्यो त्यस्तै गाई पाइन्थ्यो । रोजीरोजी दुध र गोबर ल्याइन्थो । नाग लपक्क टाँसेर दुध चढाइन्थ्यो र पो नाग पुजेको फल पाइन्थ्यो । गाउँमा कति कहर काट्नु भनेर रहरले शहर पसियो । अहिले गाई खोज्दैमा बिहान चुर्लुम्म डुब्छ गाई रोज्न त परै जाओस् ।

गोबर खोज्न गौरीगञ्जका गौरीशंकर गौतमका गएको । गाईको गर्धनमा गजबको गिर्खो गाडिएर गोल बजारका गम्भीरमान गोतामेको गाडीमा गुन्जनगरतर्फ गुडाएको गजानन्द गजुरेलले गाठी कुरा गम्भीरतापूर्वक गरेकोले गोबर्धन गौडेलसँगै गएँ गजेन्द्र गुइदेलको गाई गोठमा ।

मलाई देख्नेबित्तिकै गौमाताले आँखा तानिन् र झ्याप्प पुच्छरले सप्को मारेर हानिन् । त्यो हिलाम्मे लप्को मेरा ढाँडमा लपेटियो । अहो ! गौमाताको उदर बिसन्चो भएर हो वा खुराक त्यस्तै खुवाएर हो, पिनास नै विनाश हुनेगरी गन्ध प्रवाह भयो । तैपनि अझ यकिन गर्न हातका औला गौमाताद्वारा विसर्जित गोबर रूपी हिलोमा चोबल्दै नाकार्षनलाई न्यायमूर्तिको जिम्मेवारी दिएँ । एक हप्ताको बासी मांसलाई समेत ताजा सुगन्धित एवम् वास्नादारको हवाला दिने नाकेश्वर नारायणले समेत गौमाताले गोब्य्राएको अर्धठोसाकार पदार्थमा दुर्गन्धको मात्रा भेटिएको निर्णय सार्वजनिक हुने क्रम चलिरहेको थियो । त्यति नै बेला गौमाताको पेट मेघ गर्जनसरि गडगडाउँदै गोब्रेद्वारबाट छुटेको धारो मेरो शरीरको हेडक्वाटरबाट खनियो र पुरै शरीर असारे रोपाइँमा मेला गएको बाउसे झैँ बन्यो ।

हे भगवान् ! म बिलखबन्दमा परेँ । के गरौँ कसो गरौँ छट्पटी भयो । नजिकै रहेको धाराको सहारा लिएँ । चार पाँच पटक साबुनपानीले दल्दा पनि गन्ध बन्द भएन । मलाई त त्यस्तो गाह्रो भयो भने आधुनिक दानाको नाउँमा अपाच्य खाना ख्वाउँदा गौमातालाई कति साह्रो भएको होला ? जे होस् दुग्ध व्यवसायको भल बगाउने नाउँमा नानाथरी केमिकल मिसिएको खाना ख्वाउन बल गर्ने गोपालहरू नै जानून् ।

बल्लतल्ल चम्चाको सहारा लिएर गोबरलाई एउटा प्लास्टिकको थैलोमा थन्काए । घरमा आएर सबै पुजाका सामग्रीहरू तयार गरी नाग टाँस्ने बन्दोबस्त गर्दै थिएँ । तर तरल पदार्थजस्तैमा परिणत भएको उक्त गोबर दोब्बर तेब्बर लगाउँदा पनि नाग टासिएन । हातमा गाँसिएर फिर्ता भई रह्यो । केही सीप नलागेपछि आधुनिक गमले लोपरलुपुर पार्दै दुधको धारो नागका शीरबाट झार्दै, “ॐ कुरूकुल्ले फट स्वाहाः” भन्दै नाग टासेँ र नागहरूलाई नमन गर्दै मुसुक्क हासेँ ।

यति गरेपछि नागहरू पक्कै खुशी भए होलान् भनेर मन झुशी भयो । तर “गाउँघरमा झैँ गाईको बाक्लो गोबरले नाग नटासी किन केमिकल मिसाएर टाँसेको” भन्दै नागहरू रिसाएर पुनः मलाई लखेटेकोले बचाउ–बचाउ भन्दै छट्पटिदा खाटबाट डङ्गरङ्ग भुईमा पछारिँदा पो झल्याँस्स ब्यूझिएछु । अहिले सम्झदा पनि जीउ थरर्र कामिरहन्छ । इति
(लेखक सिस्नुपानी मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)