हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको १६ वर्ष उमेर समूह (यु–१६) को राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी समावेश भएका छन् । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीमध्येबाट सोमबार एन्फाले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । यही भदौ १५ गतेदेखि भदौ २४ गतेसम्म भुटानमा हुने यु–१६ साफ फुटबल प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टिममा मकवानपुरका विशेष बानियाँ, भुवन कामी र सन्तोष गोङ्बा समेटिएका छन् । नेपाल अघिल्लो संस्करणको उपविजेता टिम पनि हो ।
राष्ट्रिय टिममा समेटिएका मकवानपुरका तीनैजना ए डिभिजन क्लबमा आवद्ध छन् । गोलरक्षक विशेष बानियाँ र फरवार्ड सन्तोष गोङ्बा ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा आवद्ध छन् भने डिफेन्डर भुवन कामी त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध छन् । हेटौँडा–२ बनस्खण्डीका विशेष ३ वर्षदेखी एन्फाको युथ परियोजनाअन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा आवद्ध खेलाडी हुन् । उनी ल्याबोरेटरी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
हेटौँडा–१९ घर भएका सन्तोष हेटौँडा–३, बसामाडीस्थित शिक्षा विकास शिशु सदनमा कक्षा १० मा अध्ययनरत छन् । स्थानीय प्रतियोगितामा आफुलाई प्रमाणित गरेका सन्तोष एनआरटिमा खुल्ला छनौट मार्फत आबद्घ भएका हुन् । लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको युथ–१६ टिमलाई एनआरटीले ५–१ गोलअन्तरले पराजित गर्दा पाँचै गोल सन्तोषले गरेका थिए । उक्त खेलमा सन्तोष म्यान अफ द म्याच भए । सन्तोष यु–१६ लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी मात्र नभई जारी युथ–१६ लिगको टप स्कोरर समेत हुन् ।
सात वर्षको उमेरमा बिजुलीको ट्रान्सफर्मरमा परेर दोस्रो जीवन पाएका भुवनको बाल्यकाल दुखै दुखमा बितेको छ । हेटौँडा–१०, भुटनदेवी मन्तिररोड बस्ने भुवन पनि ३ वर्षदेखि एन्फाको युथ परियोजनाअन्तर्गत त्रिभुवन आर्मी युथ एकेडेमीमा आवद्ध खेलाडी हुन् । उनी सैनिक स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । भुवनले विद्यालयस्तरीय सैनिक कप प्रतियोगितामा इमर्जिङ खेलाडीको उपाधी जितेका थिए ।