आउँदो मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरिरहेको हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गराउन निकै चुनौती हुने भएको छ । बालमैत्री पालिका घोषणा गर्न विद्यालय, समुदाय, वडालाई बालमैत्री बनाउँदै सिङ्गो पालिका बालमैत्री बन्नुपर्छ । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने दिन ५ महिना बाँकी हुँदा बालमैत्री वडा घोषणाको सुरुवातै हुन सकेको छैन । उपमहानगरपालिकाले अहिलेसम्म हेटौंडाका कुनै पनि वडालाई बालमैत्री घोषणा गर्न सकेको छैन । हेटौंडामा १९ वटा वडा रहेका छन् । उपमहानगरले वडा–वडामा सहजकर्ताको व्यवस्था गरेर बालमैत्री घोषणाको तयारी तिब्र बनाइरहेको छ । बालमैत्री वडा सहजकर्ता नियुक्ति गरिएको ५ महिना भइसकेका छन् । यसबीचमा सहजकर्ताले विद्यालय र समुदायमा बाल समूह गठन गर्ने र बाल अधिकारबारे सामान्य सचेतना जगाउनेबाहेक उल्लेख्य काम भएको छैन । अहिलेकै अवस्थामा हेटौंडाका कुनै पनि विद्यालय र टोललाई बालमैत्री घोषणा गर्न सक्ने अवस्था छैन भने वडालाई बालमैत्री घोषणा गर्न सजिलो देखिँदैन ।

स्थानीय तहलाई बालमैत्री घोषणाका लागि ५१ वटा सूचकहरु पूरा भएको हुुनुपर्ने व्यवस्था छ । बालअधिकार र संस्थागत विकाससम्बन्धी यस्ता सूचकहरु अधिकांश अपुरो रहेको अवस्थामा तोकिएको समयमा बालमैत्री घोषणा सजिलो नहुने निश्चत छ । बालबालिकाको बाँच्न पाउने अधिकार (बाल बचाउ) सम्बन्धी १४ वटा सूचकहरु पूरा गर्नुपर्ने हुन्छ । बालबालिकाको संरक्षण पाउने अधिकार (बाल संरक्षण) अन्तर्गत् १० वटा सूचकहरु पूरा गर्नुपर्ने बताइएको छ । बालबालिकाको विकास गर्न पाउने अधिकार (बाल विकास) सम्बन्धी ५ वटा र बालबालिकाको सहभागी हुन पाउने अधिकार (बाल सहभागिता) सम्बन्धी ६ वटा सूचकहरु पूरा गरेको हुनुपर्छ । संस्थागत विकाससम्बन्धी १५ वटा सूचकहरु पनि पूरा भइसकेपछि बालमैत्री पालिका घोषणा गर्न सकिनेछ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बाल बचाउ, विकास र सहभागितासम्बन्धी सूचकहरुभन्दा बाल संरक्षणसम्बन्धी सूचकहरु पूरा गर्न चुनौतीपूर्ण देखिएको छ । बाल संरक्षणभित्र पनि बालश्रम र बालविवाह मुख्य चुनौती रहने देखिएको छ ।

बालमैत्री पालिका घोषणा गर्न तोकिएका सूचकहरु पूरा गर्नुका साथै बालमैत्री हिसाबले सेवा प्रवाह गर्नुपर्ने र विद्यालय तथा समुदायहरुमा पनि बालमैत्री वातावरणको ग्यारेन्टी हुनुपर्नेछ । टोल, समुदाय, विद्यालय सबैतिर बालमैत्री वातावरण बनाउँदै ५१ वटा सूचक पूरा गर्न अबको ५ महिना समय पर्याप्त हुँदैन । बालमैत्री घोषणा अभियानको अहिलेसम्मको तयारी सुस्त बनिरहेको छ । बालमैत्री सहजकर्ताले वडास्तरमा सचेतनामूलक केही गतिविधि गरेको भए पनि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासम्बन्धी सेवा, सुविधाको ग्यारेन्टी गर्न धेरै कठिनाई हुने देखिन्छ । निर्धारित समयमा नै बालमैत्री पालिका घोषणाका अबको ५ महिना तिब्र गतिमा नतिजामुखी काम गर्नुपर्ने चुनौती देखिएको छ ।

उपमहानगरपालिकाले बालमैत्री घोषणाका लागि सबैभन्दा पहिला विद्यालयसँग सम्बन्धित सूचकहरुमा ध्यान दिनु आवश्यक छ । धेरै बालबालिकाको प्रत्यक्ष संलग्नता रहने विद्यालयमा बालमैत्री सुनिश्चित नहुँदासम्म बालमैत्री घोषणा सम्भव हुँदैन । विद्यालय बालमैत्री भइसकेपछि क्रमशः समुदाय, वडा हुँदै पुरै पालिकालाई बालमैत्री घोषणा गर्नु बुद्धिमानी हुनेछ । बालमैत्री घोषणा गर्ने स्थानीय तह ज्यादै कम रहेकाले हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणाका लागि हतारिनुपर्ने अवस्था छैन । बालमैत्री स्थानीय तह घोषणा विगतमा गरिएका घोषणाहरु खुला दिशामुक्त, बालश्रममुक्त, बालविवाहमुक्त, पूर्ण खोपयुक्त, सडकमानवमुक्त, पूर्ण साक्षरजस्तो नहोस् । पर्याप्त तयारी र तोकिएको सबै सूचकहरु व्यवहारिकरुपमै पूरा भएको सुनिश्चिततापछि मात्र बालमैत्री घोषणा हुनुपर्छ ।