हेटौँडाः प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण अवरुद्ध बागमती प्रदेश सभा सोमबारबाट सुचारु भएको छ । सोमबारको बैठकमा प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रतिपक्षीहरूसँग सहमति भएको र अवरुद्ध प्रदेश सभा बैठक सुचारु हुने जानकारी गराउनुभयो ।
मन्त्री लामाले प्रदेश सभा बैठक सुचारु हुने जानकारी गराउनुभएसँगै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आगामी आर्थिक वर्षका राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल प्रारम्भ भएको घोषणा गर्नुभयोे । उहाँले दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियालाई बोल्न समय दिनुभयो । नेता थपलियाले बजेटमा बिग्रिएको कुरा सच्याउने सहमति भएकोपछि आफुहरुले प्रदेश सभा बैठक चल्न दिने निर्णय गरेको बताउनुभयो ।
प्रदेश सभा बैठक अवरोध गर्ने रहर नभई बजेट अन्यायपूर्ण र विभेदकारी भएपछि प्रजातान्त्रिक प्रक्रियालाई समाएर प्रदेश सभाको बैठक अवरोध गरेको उहाँले बताउनुभयो । बजेट सन्तुलन बनाएर प्रदेशलाई समृद्ध बनाएर लैजाने लक्ष्यमा सत्तापक्षले केही तलमाथि गर्न खोजेपछि आफूहरुले प्रदेश सभा बैठक सुचारु गर्न सहमत भएको उहाँले बताउनुभयो ।