हेटौँडा–१८, हर्नामाडीमा गार्मेन्ट उद्योगको उद्घाटनमा सहभागी नगर प्रमुख, वडा अध्यक्ष लगायत ।

हेटौँडाः स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ लगानीमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरेको छ । हेटौँडा–५ र हेटौँडा–१८ मा सोमबार एकैदिन दुई उद्योग नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको छ । हेटौँडा–५ मा हेटौँडा गार्मेन्ट समुह र हेटौँडा–१८ मा हर्नामाडी स्वरोजगार महिला गार्मेन्ट उद्योगले व्यवस्थापन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

उद्योगको उद्घाटन गर्नुहुँदै नगरप्रमुख लामाले दैनिक गुजाराका लागि नियमित आयआर्जन गर्न पहिलो चरणमा उपमहानगरले लगानी गरेको बताउनुभयो । गाउँघरमै रहेर नियमित आयसँगै सीपको निखारताका लागि सुनौंलो अवसर भएको उहाँको भनाइ थियो । नगरप्रमुख लामाले रोजगारीको अवसरलाई सदुपयोग गर्दै सुन्दर भविष्य बनाउन शुभकामना दिनुभएको छ ।

पहिलो चरणको आभारभूत सिलाईकटाई तालिम लिएकाहरुलाई थप तालिम दिँदै रोजगारीको अवसर दिएको बताइएको छ । अहिले उपमहानगरले बीउ पुँजी लगानी गरेर सुरुवात गरेको उद्योगलाई कार्यविधि बनाएर निजी क्षेत्रलाई हस्तान्तरण गरिने उपमहानगरका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँकाअनुसार अहिले पहिलो चरणमा आधारभूत सिलाईकटाईको तालिमपछि हेटौँडा–५ मा १० र हेटौँडा–१८ मा २१ जनाले रोजगारीको अवसर पाउने छन् । गार्मेन्टमा अहिले भएको संख्याबाट हरेक वर्ष १० जनाको दरले रोजगारीमा लाग्नेहरु थप गर्नुपर्ने बताइएको छ ।

उपमहानगरले सञ्चालनमा ल्याएको हेटौंडा–५ गार्मेन्ट मेनुका श्रेष्ठ र १८ मनु भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–५ का अध्यक्ष सुशील घिमिरे, १८ का अध्यक्ष अनिल बानियाँ, हेटौँडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्य रहेको थियो ।