जुन १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाइन्छ । रक्तसमूह पहिचान गर्ने वैज्ञानिकको जन्मदिनको अवसर पारेर विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । रगत स्वास्थ्य उपचारको क्षेत्रमा आवश्यक महत्वपूर्ण सेवा हो । रगतको संकलन र वितरणको व्यवस्थापनमा देशव्यापी रुपमा नेपाल रेडक्रस सोसाइटी र उसले स्थापना गरेको रक्तसञ्चार केन्द्रले गर्दै आएको छ । बुधबार विश्व रक्तदाता दिवसकै अवसरमा समाज संवाददाता आरजु सत्यालले रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः रक्तदाता दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिकाभित्र के कस्ता कार्यक्रमहरु भए ?
दाहालः सर्वप्रथम विश्व रक्तदाता दिवस भएका कारणले हाम्रा सम्पूर्ण स्वयम्सेवी रक्तदाताहरु, विभिन्न संघसंस्था, हामीलाई रगत दिएर नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्रमार्फत रक्तदान कार्यक्रमहरु ल्याएर बिरामीहरुलाई सजिलो तरिकाले रगत उपलब्ध गराउनु भएकोमा रक्तदाताहरुलाई म विशेष धन्यवाद र सम्मान प्रकट गर्न चाहन्छु ।
समाजः रक्तसञ्चार केन्द्रको स्थापना कहिले भएको हो ?
दाहालः हेटौँडामा २०५२ सालमा स्थापना भएको हो । केन्द्रीय ब्लड बैंकचाहिँ २०२२ सालमा काठमाडौंको वीर अस्पतालबाट सुरु भएको थियो ।
समाजः अहिले रक्तसञ्चार केन्द्रमा रगतको आपुर्र्तिको अवस्था कस्तो छ ?
दाहालः गत वर्षहरुभन्दा हाम्रो हेटौँडाका अस्पतालहरुमा अहिले आएर धेरै स्तरवृद्धि भएका छन् । निजी अस्पतालहरुले पनि सेवा विस्तार गरिरहेका कारणले पहिलाको अनुपातमा रगत पनि धेरै नै आवश्यक पर्ने हुनाले अहिले रक्तदान कार्यक्रम धेरै भएका छन् । अहिले रगत लिने–दिने व्यवस्था मिलाउने काम रेडक्रसले गरिरहेको छ ।
समाजः पहिलाको स्थिति र अहिलेको स्थितिमा के–के भिन्नता छ ?
दाहालः पहिला एक वर्षमा तीन–चार सय पोका रगत भए हामीलाई पुग्थ्यो । बाँकी रगत हामी चितवन पठाउँथ्यौं । हेटौंडाबाट चितवन तथा काठमाडौं उपचार गराउन जाने बिरामीसँग पनि हामी रगत पठाउँथ्यौं । तर अब हेटौँडामा पनि जटिल शल्यक्रियाहरु हुने भएकाले हामीलाई महिनामै तीन सय पोका रगत संकलन गर्नुपर्छ ।
समाजः केन्द्रको तत्कालीन आवश्यक सामग्रीहरु के के हुन् ?
दाहालः पोहोर डेङ्गु महामारीको समयमा हामीले सेतो रगत बनाउन पाएनौं । किनभने त्यसका लागि बिरामीहरुलाई चितवनसम्म पठाउनुप¥यो अथवा चितवनबाट रगत ल्याउनुपर्यो । तर त्यसैमा हामीलाई हेटौँडा उपमहानगरपालिका, स्थानीय तहहरु, अमेरिकी रेडक्रसको सहयोगमा हामीले कम्पोनेन्ट आफुले नै तयार गर्छौं । जस्तै, विभिन्न किसिमका प्लाज्मा छुट्टै दिने, प्लेटलेट छुट्टै दिने, होल ब्लड छुट्टै दिने, प्लायाक्सेल छुट्टै दिने व्यवस्था हामीले गरिसकेका छौं ।
समाजः यो जेठ महिनामा केन्द्रमै आएर कत्ति जनाले रक्तदान गरे र कार्यक्रममार्पmत कत्ति जनाले रक्तदान गरे ?
दाहालः यसवर्षको बैशाख र जेठमा विभिन्न संघ, संस्थाहरुको स्थापना दिवस भएकाले धेरै रक्तदान कार्यक्रम भए । यसकारण हामीले रक्तदातालाई केन्द्रमा बोलाउनु परेको छैन । रक्तदान कार्यक्रमहरुबाटै हामीलाई आवश्यक रगत आपूर्ति भइरहेको छ । त्यति गर्दा पनि करिब ५०–६० जनाजति रक्तदाताहरुलाई केन्द्रमा बोलाएर हामीले रगत झिकेका छौं ।
समाजः अहिलेको समयमा यो रक्तसञ्चार केन्द्र मकवानपुरको मागहरु के–के छन् ?
दाहालः माग भन्नाले त्यस्तो केही छैन । बरु हामी विश्व रक्तदाता दिवस मनाइराखेका छौँ। रक्तदाताहरुलाई सम्मान गर्यो । हामीले प्रत्येक वर्ष रेडक्रसको वार्षिक सभामा पनि रक्तदाता गर्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्दछौं । रेडक्रसको वार्षिक सभामा पहिलो, दोस्रो, तेस्रो भरेर संघसंस्थालाई रनिङ शिल्ड नै दिइरहेका छौं । त्यस्तैगरी संस्थालाई पुरस्कारको व्यवस्था पनि गरेका छौं । अब आउने सालमा हामी यो रक्तदाता दिवसकै दिन सम्मान गर्ने भनेर सोचिरहेका छौं ।
समाजः रक्तसञ्चार केन्द्रमा समस्या त आउँछ । ती समस्याको समाधानचाहिँ कसरी निकाल्नु हुन्छ ?
दाहालः रक्तसञ्चार केन्द्रमा हुने समस्या भनेको रगत नै नहुनु हो । अरुचाहिँ केमिकलहरुको व्यवस्थापनको विषय छुट्टै नै छ । कहिलेकाहीँ हामीसँग नै भनेको बेला डोनेसन पनि भइराखेको हुन्छ, तर रगत पाइराखेको हुँदैन । त्यस्तो बेलाका लागि हामीसँग २ सय जना रक्तदाताको सूची छ । उहाँहरुलाई कल गर्छौं । जेहोस् हामी रगत छैन भनेर अन्य जिल्लामा रगत पठाउँदैनौं ।
समाजः हामीमा कुन रगतको माग बढि हुन्छ ?
दाहालः रगतको के हुन्छ भने, हाम्रो विशेषगरी जति कलेक्सन गरेका छौं, त्यसको ६० प्रतिशत रगतचाहिँ होमोडाइलालिसलाई जान्छ । भन्नाले मृगौलाको बिरामीलाई जान्छ । उहाँहरुलाई हप्तामा २ पोका रगत दिएन भने बचाउन सकिँदैन । अरु शल्यक्रियाका लागि त्यहि अनुपातमा ३०० पोका जति महिनामा चाहिन्छ ।
समाजः आगामी दिनमा कार्यक्रम कहिले कहिले छ ?
दाहालः यो असार महिनाभरी कार्यक्रमहरु प्याक भइसकेका छन् । हाम्रो लगभग असारसम्मलाई संघ, संस्थाले नाम टिपाइसक्नु भएको छ ।