देशभरका सामुदायिक विद्यालयमा सरकारले निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरेको छ । कक्षा १० सम्मका विद्यार्थीलाई समयमै निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने जिम्मेबारी सरकारको हो । तर, हरेक वर्षजसो देशका विभिन्न जिल्लामा विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको समाचार सार्वजनिक हुँदै आएको छ । गत शैक्षिक सत्रमा समयमा पाठ्यपुस्तक पुर्याउन नसकेको सरकारले यसवर्ष सबै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउने दावी गर्दै आएको छ । समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेर पुस्तकबिनै विद्यार्थीले परीक्षा दिएका समाचार विगतका वर्षहरुमा आउने गरेको भए पनि यसवर्ष त्यस्तो नहुने सरकारको दावी छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । आइतबारबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै मकवानपुरका अधिकांश विद्यालयहरुले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेका छन् । मकवानपुर जिल्लामात्र नभई यस वर्ष देशका सबैजसो जिल्लामा शैक्षिक सत्र सुरु हुनुअगावै आवश्यक पाठ्यपुस्तक पुगेको समाचार आइरहेका छन् । यस वर्ष सबै विद्यार्थीले समयमै पुस्तक पाउने सम्भावना देखिएको छ ।
बैशाख दोस्रो साताबाट पठनपाठन सुरु गर्ने तयारी गरिरहेका मकवानपुरका विद्यालयहरुले बैशाख पहिलो साताभर विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण गरिरहेका छन् । विगतका वर्षहरुभन्दा यस वर्ष धेरै पुस्तक बिक्रेताले पाठ्यपुस्तक बिक्री गरिरहेको बताइएको छ । विगतमा विद्यालय तहका सबैजसो कक्षाका पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रलाई दिइने गरिएको थियो । जनक शिक्षाले मात्र पाठ्यपुस्तक छपाई गरेर वितरण गर्न नसकेकाले समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको गुनासो व्यापक बनेपछि सरकारले यस वर्ष कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा निजी छापाखाना तथा प्रकाशनहरुलाई दिइएको छ । कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाले नै छपाई र वितरण गरेको छ । निजी क्षेत्रले चैतको पहिलो हप्तातिरै बजारमा कक्षा ५ सम्मका पाठ्यपुस्तक उपलब्ध गराएको भए पनि जनक शिक्षाले चैतको अन्तिम साता बजारमा पाठ्यपुस्तक उपलब्ध गराएको थियो ।
पुस्तक छपाई र वितरणमा सधैं समस्या आएपनि दिगो समाधानको उपाय अवलम्बन गर्न सरकार उदासिन बन्दै आएको छ । विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था संविधानमै छ । निःशुल्क शिक्षाको व्यवस्थालाई सहयोग गर्नैका लागि विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइँदै आएको हो । यसका लागि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जिम्मा पाउने गरेको छ । जनक शिक्षालाई सक्षम बनाएर समयमै पाठ्यपुस्तक छपाई र वितरणको व्यवस्था गर्न त्यति कठिन छैन । तर, जनक शिक्षाको व्यवस्थापन र शिक्षा मन्त्रालयले प्रभावकारी काम गर्न नसक्दा समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउन सकिरहेका छैनन् । शैक्षिक सत्र सुरु भएको महिनौं नाघ्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समस्या पर्छ नै । हरेक वर्ष सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने दावी गर्दै आइरहेको अवस्थामा त्यस्तो दावीले कत्तिको सार्थकता पायो भन्ने समीक्षा सरकारले गर्नैपर्छ ।
पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित बन्नु उचित हुँदैन । समयमै पाठ्यपुस्तक नपाउँदा शिक्षक र विद्यार्थी दुबैलाई पठनपाठनमा समस्या पर्ने गरेको छ । यसले शैक्षिक क्षेत्र थप अस्तव्यस्त बन्ने गरेको छ । पाठ्यपुस्तक अभाव हुने समस्यालाई सधैंको लागि अन्त्य गर्नु आवश्यक छ । यसका लागि सम्बद्ध निकायले आवश्यक चासो र चिन्ता जाहेर गर्नैपर्छ । पाठ्यपुस्तक छपाई र वितरणलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गर्नुपर्छ । सरकार गम्भीर बनेर हरेक वर्ष समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याउन सरकारले ध्यान दिनु आवश्यक छ ।