फाईल तस्विर ।

हेटौंडाः नेकपा माओवादी केन्द्रको नेतृत्वमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारको एक सय दिन पूरा भएको छ । एक सय दिनमा नियमित काममै सीमित रहेको छ । जम्कट्टेलले मंगलबार मुख्यमन्त्री कार्यालयकै सभाकक्षमा पत्रकार सम्मेलन गरी आफ्नो १०० दिनको प्रगति विवरण प्रस्तुत गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको नियमित कामलाई नै उपलब्धीको रुपमा व्याख्या गर्नुभएको छ ।

शिक्षा, सामाजिक, युवा र खेलकुद क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, पूर्वाधार विकास क्षेत्र, श्रम, रोजगार तथा यातायात क्षेत्र, पर्यटन, उद्योग तथा सहकारी क्षेत्र, वन तथा वातावरण क्षेत्र, आन्तरिक मामिला, कानुन तथा विपद् व्यवस्थापन, सार्वजनिक प्रशासन एवम् कर्मचारी व्यवस्थापन र विविध गरी क्षेत्रगत प्रगतिको विवरण प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारलाई पूर्णता दिन नसकेको जम्कट्टेल सरकारले अन्तरक्रिया, अभिमुखीकरण, समन्वय बैठक, हात्ती आक्रमणबाट मृतकका परिवारलाई राहत वितरण गर्नुदेखि चेपाङ समुदायको न्वागी पर्वमा विदा दिने निर्णय पनि १०० दिनको उपलब्धीको सूचिमा समेटिएको छ । सरकारी कार्यालयले नियमित गर्ने काम पनि १०० दिनको उपलब्धी भएको भनी पत्रकारले प्रश्न गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले जे गरियो, राम्रै गरियो भनी प्रतिक्रिया जनाउनुभयो । सरकार गठनको अवस्था सहज नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले सत्ताको भागबण्डाकै लागि मन्त्रालयको संख्या नबढ्ने दावी गर्नुभएको छ ।