नेपालमा प्रत्येक वर्ष वैशाख पहिलो साता राष्ट्रिय वन्यजन्तु सप्ताह मनाइन्छ । हरेक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म वन्यजन्तु तथा वनस्पतिको संरक्षणसँगै अवैध व्यापारलाई निरुत्साहित पार्ने उद्देश्यले विविध कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइन्छ । यस वर्ष २८ औं वन्यजन्तु सप्ताह चलिरहेको छ । समन्वय, सहकार्य र सहअस्तित्वः वन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइँदैछ । दुर्लभ वन्यजन्तु संरक्षणका लागि दायित्व बोध गराउन महत्वपूर्ण हुने वन्यजन्तु सप्ताह मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणमा समेत सहयोगी बन्नु आवश्यक भइसकेको छ । वन्यजन्तु संरक्षणमा देखिएको सफलताले मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेको छ । यसकारण वन्यजन्तु संरक्षणमा थप संकट उत्पन्न हुने सम्भावना बढाएको छ । वनजंगलको संरक्षणसँगै वन्यजन्तुको संख्यामा वृद्धि हुँदै जाँदा मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढेको छ । वन्यजन्तु मानव बस्तीमा प्रवेश गरेर आक्रमण गर्ने घटना बढ्दै गएपछि वन्यजन्तु संरक्षणमा थप चुनौती बन्ने सम्भावना देखिएको हो ।


२८ औं वन्यजन्तु सप्ताहको अवसरमा हेटौंडामा पनि विविध कार्यक्रम भइरहेको छ । हेटौंडामा वन विज्ञान विषय अध्ययरत विद्यार्थीहरुको समूहले वन्यजन्तु सप्ताहमा वन्यजन्तु संरक्षणका लागि विविध सचेतनामूलक कार्यक्रम गरिरहेका हुन् । सप्ताहको पहिलो दिन शुक्रबार विद्यार्थीहरुले वन विज्ञान क्याम्पस परिसर सरसफाई गरेर डस्टविन राखेका छन् । दोस्रो दिन शनिबार हेटौंडा बजार क्षेत्रमा सचेतनामूलक र्यालीका साथै मार्चपास गरिएको छ । वन्यजन्तु सप्ताहकै अवसरमा विद्यार्थीहरुले कर्रा खोला सरसफाई तथा नदीनाला सरसफाईसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया आयोजना गरिएको छ । संरक्षणसम्बन्धी सचेतनामूलक आर्ट, डढेलो नियन्त्रणसम्बन्धी अभिमुखीकरण, साना प्रजातिका वन्यजन्तुको संरक्षण, चरा संरक्षणसम्बन्धी कार्यक्रम गरिनेछ । वन तथा वन्यजन्तु संरक्षणका लागि सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।


उष्ण, समशितोष्ण र ठण्डा सबैखाले हावापानी भएको नेपाल जैविक विविधतामा धनी मानिन्छ । नेपाल जैविक विविधतामा विश्वमा २५ औं र एसियामा ११ औं स्थानमा पर्दछ । यसकारण नेपालमा धेरै प्रकारका वनस्पति र वन्यजन्तु पाइन्छन् । छोटो दूरी र थोरै समयको अन्तरमै हावापानीमा पाइने विविधताले नेपालमा धेरै प्रकारका जीवजन्तु पाइनु स्वभाविक हो । नेपालमा ६ सय ३५ प्रजातिका पुतली, एकसय ८५ प्रजातिका माछा, ४३ प्रजातिका उभयचर, एकसय प्रजातिको सरिसृप, ८ सय ६८ प्रजातिको चरा र एकसय ८१ प्रजातिको स्तनधारी पाइन्छन् । त्यस्तै फूल फुल्ने वनस्पतितर्फ ६ हजार ५ सय प्रजातिको एन्जिओेस्पम्र्स र २८ प्रजातिका जिम्नोस्पम्र्स तथा करिब ५ हजार प्रजातिका फूल नफुल्ने वनस्पतिहरु नेपालमा पाइन्छन् । जलवायु परिवर्तनसँगै मानवीय क्रियाकलापका कारण कतिपय वनस्पति र वन्यजन्तु संकटमा परेकाले त्यसको संरक्षणका प्रयासहरु भइरहेका छन् । वन्यजन्तु संरक्षणका लागि भएका प्रयासले जैविक विविधताको वृद्धिसँगै पर्यावरणीय सन्तुलन कायम भए पनि त्यसबाट मानिसलाई पुग्ने हानीबारे गम्भीर भएर सोच्नु आवश्यक बनेको छ ।


प्रकृतिमा कुनै पनि जीवको संख्या सधैंभरि एकनाश हुँदैन । जीवजन्तु तथा वनस्पतिहरु घटबढ हुने, लोप हुने र नयाँ देखिने क्रम चलिरहेको हुन्छ । वन्यजन्तु संरक्षणका लागि भएका प्रयास, प्राकृतिक बासस्थानमा हुने परिवर्तन, समग्र जलवायु परिवर्तनका कारण वन्यजन्तुको प्रजाति, वंशाणु र संख्यामा परिवर्तन भइरहेको हुन्छ । वन विनाश र वन्यजन्तु तस्करीका कारण वन्यजन्तुको संख्यामा चाँडै थपघट हुने गर्दछ । हामीले वन्यजन्तुलाई पर्यावरण, जैविक विविधता, सांस्कृतिक आधारका साथै पर्यटकीय महत्वसँग जोडर हेर्नु आवश्यक छ । वन र वन्यजन्तु संरक्षण र सही उपयोगबाट पनि देशको प्रसिद्धि र समृद्धि वृद्धि हुन सक्छ । देशको सम्पदाका रुपमा रहने वन्यजन्तुको अध्ययन, अनुसन्धान, संरक्षणसँगै उचित व्यवस्थापन आवश्यक छ । वन्यजन्तुको संख्या वृद्धिको अनुपातमा बासस्थान र आहाराको उचित व्यवस्थापनबाटै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।