हेटौंडाः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आयोजित व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । हरेक वर्ष बैशाख १ बाट विभिन्न कार्यक्रम गरेर व्यक्तिगत घटना दर्ता सप्ताह मनाइने गरिन्छ ।
हरेक साल आयोजना हुने व्यक्तिगत घटना दर्ता सप्ताहमार्फत् आम नागरिकलाई व्यक्तिगत घटना दर्ताको फाइदाबारे सचेत गराउन सहयोग पुग्ने हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । जन्म, मुत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटनाहरु स्थानीय पञ्जीकरण अधिकारीमार्फत् दर्ता गर्ने गरिन्छ ।
घटना भएको ३५ दिनभित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा गएर त्यस्ता घटना दर्ता गराउनु पर्दछ । वडा कार्यालयको सचिवलाई व्यक्तिगत घटना दर्ता अधिकारीको जिम्मेवारी दिइने गरिएको छ । व्यक्तिगत घटना दर्ता गरेपछिमात्र राज्यले प्रदान गर्ने पाइने सेवा सुविधा पाउन सकिनेछ ।
व्यक्तिमा घटना दर्ता गराए धेरै फाइदा पाउन सकिने जनाइएको छ । बालबालिकालाई विद्यालय भर्ना गर्न, नेपाली नागरिकता प्रमाणपत्र लिन जन्मदर्ता गर्नुपर्ने हुन्छ । यस्तै, व्यक्तिगत घटना दर्ता गर्दा नाता कायम गर्न, चल–अचल सम्पत्ती नामसारी गर्न सहज हुन्छ । व्यक्तिगत घटना दर्ताले पति-पत्नीबीच वैधानिक सम्बन्ध र प्रमाण कायम हुन्छ । जीवन बीमा, पेन्सन, उपदान वा बैंकबाट रकम झिक्न सुविधा हुन्छ ।
हेटौंडा उपमहानगरपालिकामा गत वर्ष ८ हजार ३६४ वटा व्यक्तिगत घटना दर्ता भएको छ । उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७९ सालको वैशाखदेखि चैतसम्म ३ हजार ४४४ जनाको जन्मदर्ता भएको छ । जसमध्ये १ हजार ७७८ जना बालक र १ हजार ६६६ जना बालिकाको जन्मदर्ता गरिएको छ ।
उपमहानगरपालिकामा गत वर्ष ९८५ जनाको मृत्युदर्ता गरिएको छ । ५३६ पुरुष र ४४९ महिलाको मृत्यु दर्ता गरिएको शाखाको तथ्यांक छ । गत वर्ष २४५ वटा सम्बन्धविच्छेद गरिएको छ भने १ हजार ७८४ विवाह दर्ता गरिएको छ । यसैगरी, १ हजार २३१ परिवार बसाइँसरेर आएको र ६७५ परिवार बसाइँसरेर गएका छन् । बसाइँसरेर आउने परिवारका सदस्य संख्या ४ हजार २०३ रहेको छ भने बसाइँसरेर जाने परिवारका सदस्य संख्या २ हजार ८५ रहेको छ ।