हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः कुखुरापालक किसानले बुधबारदेखि अण्डाको मूल्य प्रतिक्रेट २८० रुपैयाँ पाउन थालेका छन् । लकडाउनको कारण देखाउँदै सप्लायर्सले बैशाख ८ गते अण्डाको मूल्य एक सय ७० रुपैयाँसम्म कायम गरेपछि हेटौंडाका किसानहरु त्रसित भएर कुखुरा व्यवसायी संघ र मकवानपुर उद्योग वाणिज्य संघलाई समेत उचित मूल्य पाउनुपर्ने माग गरेका थिए । किसानहरु अग्रसर भएसँगै सरोकारवालाको ध्यानाकर्षण भएपछि क्रमशः अण्डाको मूल्य सुधार हुँदै अहिले अण्डाको मूल्यमा प्रतिक्रेट ११० रुपैयाँ सुधार भएको हो ।

किसानले बैशाख ८ गते अण्डाको मूल्य प्रतिक्रेट १७० रुपैयाँ पाएका थिए भने बैशाख १० गतेबाट २०० रुपैयाँ पाउन थाले । बैशाख १४ गतेबाट किसानले प्रतिक्रेट अण्डाको मूल्य २६० पाउन थालेका थिए । बैशाख २४ गते बुधबारदेखि किसानले अण्डाको मूल्य प्रतिक्रेट २८० रुपैयाँ पाउन थालेका हुन् । हेटौंडा–१८, हर्नामाडीका कुखुरापालक किसान कृष्ण अधिकारीले मूल्यमा सुधार भएसँगै धेरै राहत भएको बताउनुभयो ।

यस्तै हेटौंडा–७, नागस्वतीका कुखुरापालक किसान रामशरण गौतमका अनुसार प्रतिक्रेट २८० रुपैयाँ मूल्य पाउन थालेपछि किसानले हिजो व्यहोरेको घाटामा समेत केही राहत हुने स्थिति भएको बताउनुभयो । कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले क्रमशः मूल्यमा सुधार हुँदै आएको बताउनुभएको छ ।