तस्वीरः गुगल ।

हेटौंडाः कच्चा पदार्थको मूल्यमा गिरावट आएसँगै कुखुराको दानाको मूल्यमा घट्ने भएको छ । कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीका अनुसार जेठ १ गतेदेखि लागु हुने गरी उद्योगहरुले कुखुराको दानाको मूल्य प्रतिकेजी ३ रुपैयाँसम्म घटाउने जानकारी दिनुभयो ।

किसानले भने यसअघि नै प्रतिकेजी ६ रुपैयाँसम्म घट्नु पर्ने भने पनि यसअघि उद्योगले प्रतिकेजी २ रुपैयाँ मात्रै घटाएको थियो । अहिले पनि उद्योगले ३ रुपैयाँ मात्रै घटाउने भनिएकोले कुखुरापालक किसान निराश छन् । दाना बनाउन प्रयोग हुने मकै र भटमासको पिना सस्तो भएको छ । दाना बनाउन मकै ६० प्रतिशत प्रयोग हुने गरेको छ । मकैको मूल्य घटेअनुसार दानाको मूल्य नघट्नुले कुखुरापालक किसान मारमा परेका छन् ।

दाना उद्योग संघका अध्यक्ष रविन पुरीले दानाको मूल्य उद्योगहरुले आआफ्नो अवस्थाअनुसार घटाइरहेको जानकारी दिनुभयो । यसअघि संघले केही समन्वय गरे पनि अहिले संघको भूमिका नरहेको अध्यक्ष पुरीको भनाइ छ । हेटौंडा औद्योगिक क्षेत्रस्थित सिद्धार्थ प्यालेट दाना उद्योगका सञ्चालक समेत रहनुभएका गिरीले आफ्नो उद्योगले भने तत्काल मूल्य नघटाउने बताउनुभएको छ । सिद्धार्थ प्यालेटसँग पुरानै मकै र कच्चा पदार्थ बाँकी रहेकोले मूल्य घटाउन नसक्ने दावी गर्नुभयो ।