बुधबार ११३ औं अन्तर्राष्ट्रिय नारी (महिला) दिवस मनाइएको छ । हरेक वर्ष मार्च ८ मा विश्वभर यो दिवस मनाइन्छ । नेपालमा यो दिवसका दिन देशव्यापी सार्वजनिक विदा दिने गरिएको छ । सन् १९१० मार्च ८ तारिखका दिन पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो । यसपछि हरेक वर्ष यही दिन विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने क्रम चलिरहेको छ । “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारासहित यस वर्षको नारी दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरि गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको अगुवाईमा बुधबार हेटौंडा उपमहानगरपालिकाको कार्यालयदेखि हेटौंडा बजारको बुद्वचोकसम्म प्रभातफेरि गरिएको थियो । लैंगिक समानता र महिला अधिकारको पक्षमा विभिन्न नारासहितका प्लेकार्ड र व्यानरसहित सरोकारवाला व्यक्तिहरुको सहभागितामा प्रभातफेरि गरिएको छ । दिवसकै अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
नारी हित र अस्मिताको लडाइँ प्राचिन समयदेखि चलिरहेकै छ । अनौपचारिकरुपमा हुने गरेको नारी अधिकारका अभियानले सन् १९०० को आसपासमा औपचारिकता पाएको मानिन्छ । सन् १९०७ मार्च ८ मा जर्मनीमा भएको महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संगठन’ गठन भएपछि महिला अधिकारका विषयले संस्थागत मान्यता पायो । महिलाहरुमाथिको दमन, १८ घण्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्था र असमानताको विरोधमा अमेरिकाको शिकागोमा श्रमिक महिलाहरुले जेट्किनको नेतृत्वमा १९०८ मा प्रदर्शन गरे । सन् १९१० मा डेनमार्कमा भएको महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९११ देखि विश्वभरिका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउन थालेका हुन् ।
पछिल्लो एक शताब्दीमा विश्वभर नारीको हक, हितका निम्ति निरन्तर अभियान चलिरहेको छ । नारीलाई जागरुक बनाई विभिन्न हक अधिकार दिलाउन संयुक्त राष्ट्र संघको क्रियाशीलता पनि उत्तिकै देखिन्छ । विश्वव्यापीरुपमा जुर्मुराएको महिला अधिकारसम्बन्धी जागरणले धेरै देशमा महिलाको हक अधिकारी स्थापित गरेको छ भने उनीहरुलाई एकजुट बनाउँदै पनि लगेको छ । पछिल्ला राजनीतिक परिवर्तनहरुसँगै नेपालमा पनि महिला अधिकारका क्षेत्रमा धेरै कामहरु भएका छन् । महिलालाई हक, अधिकार दिलाएर उनीहरुलाई समानता र न्याय दिलाउन हाम्रो संविधानदेखि अन्य ऐन, कानुनमा पर्याप्त व्यवस्थाहरु गरिएका छन् । यसैको फलस्वरुप राज्य संयन्त्रका प्रमुख पदहरुमा महिलाको सहभागिता बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको आफ्नै महत्व छ । यो दिवस शोषण र उत्पीडनमा परेका महिलाको अधिकार स्थापनाका लागि आवाज उठाउने एउटा माध्यम बनेको छ । यसैको फलस्वरुप हाम्रो घरपरिवार तथा समाजमा महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा निकै सकारात्मक परिवर्तन आएको छ । संविधान, कानुन, नीति, नियम आदिमा महिलामैत्री व्यवस्था कायम हुनुले उनीहरुको अधिकार स्थापित गरेको मान्न सकिन्छ । अब हरेक नारीले आफ्नो कानुनी अधिकार सहजरुपमा प्राप्त गर्न आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्छ । नारी दिवसमा गरिने सामान्य औपचारिक कार्यक्रमलाई भन्दा वास्तविकरुपमा महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्ने क्षमता विकास गर्न राज्य र सम्बद्ध निकायले विशेष ध्यान दिनु आवश्यक छ । केही कार्यक्रम गरेर दिवस मनाउनुभन्दा महिलाको हक, हित र अधिकार कायम गर्न ठोस कार्यक्रम गरिनु सार्थक हुनेछ ।