हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत ७ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । एसईईको तालिका सार्वजनिक भएसँगै मकवानपुरका विद्यालय परीक्षाको तयारीमा लागेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल मकवानपुरले केन्द्रिय परीक्षा तालिकाअनुसार आइतबारबाट एसईई अभ्यास परीक्षा सुरु गरेको छ । यता सामुदायिक विद्यालयले भने विद्यालय अनुकुल परीक्षाको तयारी गरिरहेका छन् । कोचिङ कक्षा, नियमित पठनपाठन, अभिभावकसँग छलफल तथा भेटघाट र परीक्षा संचालन गरेर विद्यार्थीलाई एसईईको तयारी गरिरहेका छन् ।

मकवानपुरका राक्सिराङ, बैकया, इन्द्रसरोवर, कैलाश, मनहरी, भीमफेदी, मकवानपुरगढी, भीमफेदी गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयले विद्यालय अनुकुल परीक्षा सञ्चालन गरिरहेको जनाएको छ । थाहा नगरपालिकाको शिक्षा विकास शाखाका शिक्षा अधिकृत सूर्यबहादुर थिङकाअनुसार १७ वटा विद्यालयबाट २ सय ७४ छात्रा र २ सय ५६ गरी ५ सय ३० विद्यार्थी एसईईमा सहभागी हुने बताउनुभयो । मकवानपुरका कुनै पनि पालिकाले एसईईका लागि एसईई अभ्यास परीक्षा लिने गरेको छैन । तर संस्थागत विद्यालयमा भने आइतबारबाट एसईई अभ्यास परीक्षा सुरु भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी मकवानपुरको विकट राक्सिराङ गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत पंकज थारुकाअनुसार ६ वटा विद्यालयबाट २ सय ५७ जना विद्यार्थी एसईईमा सहभागी हुने जानकारी दिनुभयो । भीमफेदी गाउँपालिका शिक्षा शाखाका प्रमुख चक्र साउदका अनुसार अंग्रेजी, विज्ञान र गणित विषयको अतिरिक्त कक्षा सञ्चालन गरेर विद्यालयले एसईईको तयारी गरिरहेको बताउनुभयो ।

टाढादेखि विद्यार्थी पढ्न आउनुपर्ने बाध्यताका कारण सबै विद्यार्थी उपस्थित नहुने गरेको उहाँको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले भने एसईईमा सहभागी विद्यार्थी तथ्यांक सार्वजनिक गर्न सकेको छैन । तोकिएको समयमा विद्यालयले विद्यार्थीको विवरण उपलब्ध गराउन नसक्दा तथ्यांक सार्वजनिक गर्न ढिलाई भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।