हेटौंडा ः निर्माण व्यवसायी संघ मकवानपुरले व्यवसायी र पत्रकारलाई सम्मान गरेको छ । मंसिर अन्तिम साता सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश र मकवानपुर जिल्ला समितिमा निर्वाचित पदाधिकारी तथा सदस्य र पुस अन्तिम साता सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई मंगलबार एक कार्यक्रमका बीच निर्माण व्यवसायी संघले सम्मान गरेको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर जिल्ला शाखा अध्यक्ष बालकृष्ण अधिकारीसहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोद सिंह रानाभाटले राज्यले भुक्तानी नदिँदा निर्माण व्यवसायी मात्रै मारमा परेको अवस्था नभई राज्यको भौतिक पूर्वाधार निर्माणको काम पनि प्रभावित भइरहेको बताउनुभयो । भुक्तानीको विषयलाई लिएर निर्माण व्यवसायीले सडक आन्दोलन गर्ने चेतावनी दिनुपर्ने परिस्थिति आउनुमा राज्यको लापरबाही भएको उहाँको भनाइ थियो । निर्माण व्यवसायी संघको जायज मुद्दामा मकवानपुर उद्योग वाणिज्य संघ सधैं साथमै रहने अध्यक्ष रानाभाटले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले निर्माण क्षेत्रमा भएका बिकृति, बेथिति र निर्माण सामग्रीको मूल्यवृद्धि लगायतका विषयमा पत्रकारहरुले निरन्तर कलम चलाएको र भावी दिनमा पनि यस क्षेत्रमा रहेर निश्पक्ष कलमा चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।