जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडा ः जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा १३ गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस महिनासम्मको अवधीमा मकवानपुरबाट १३ जना गैरआवासीय नेपालीले नागरिकता लिएका हुन् । जसमा ११ पुरुष र २ महिला रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मकवानपुरबाट ५ हजार ५०७ वटा नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको छ । जसमा वंशजको आधारमा ५ हजार ४९० वटा जारी भएको उहाँले बताउनुभयो । वंशजको आधारमा २ हजार ५८३ पुरुष र २ हजार ८८६ महिलाले नागरिकताको प्रमाणपत्र लिएका छन् । मकवानपुरमा ४ वटा वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ । सो अवधीमा मकवानपुरबाट ५ हजार ४७६ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएको छ ।

उक्त अवधीमा मकवानपुरबाट ७ हजार ९७० वटा राहदानी सिफारिस गरिएको छ भने सो अवधीमा कार्यालयले २४६ वटा नाबालक परिचयपत्र वितरण गरेको छ । कार्यालयले पुस मसान्तसम्ममा ६३२ वटा अन्य विभिन्न सिफारिसहरु जारी भएको छ । पुस मसान्त भित्रमा मकवानपुरबाट २० हजार ६४५ वटा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । उक्त अवधीमा छापिएर आएका ११ हजार वटा राष्ट्रिय परिचयपत्र कार्ड मध्ये वितरण ७ हजार ५९० वटा वितरण गरिएको छ ।

अर्धवार्षिक अवधीमा प्रशासन कार्यालय मकवानपुरले ८६.५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कार्यालयले सो अवधीमा दर्ता भएको ६७ मुद्दा मध्ये ५८ फछ्र्यौट गरेको हो । त्यस्तै गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका १२ वटा मुद्दा मध्ये ९ वटा (७५ प्रतिशत) फछ्र्यौट गरिएको छ । कार्यालयमा १२२ वटा विभिन्न उजुरी दर्ता भई कारवाही भएको छ ।

प्रशासन कार्यालयले छ महिनाको अवधीमा ४ करोड बढी रकम राजस्व संकलन गरेको छ । उक्त अवधीमा कार्यालयले विभिन्न कार्य सम्पादन तथा बजार अनुगमन र जरीवाना कारवाही वापत ४ करोड ५२ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त अवधीमा ३ जनालाई वैदेशिक रोजगारी क्षतिपूर्ति उपलब्ध गराइएको छ । उक्त क्षतिपूर्ति वापत १ लाख ७७ हजार रुपैयाँ वितरण गरिएको हो ।

पुस मसान्तसम्ममा ९६ जनालाई विपद् राहत वापत ४३ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइएको छ भने ६ जना सवारी दुर्घटनाबाट पीडितलाई २६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । कार्यालयले १२ द्वन्द्व पीडितलाई दिएको राहत वापत ४ लाख ६० हजार रुपैयाँ उपलब्ध गराइएको छ । सो अवधीमा मकवानपुरमा लागूऔषध गाँजा तथा अफिम खेती हुने क्षेत्रहरुमा सुरक्षाकर्मी परिचालन गरी ८९ विगाहा गाँजा खेती नष्ट गरिएको हो । जसमा १ कठ्ठा १७ धुर क्षेत्रको गाँजाको व्याड बेर्ना, ८९ बिगाहा १९ कठ्ठा गाँजा, २४ बिगाहा ३ कठ्ठा अफिम खेति नष्ट गरिएको छ ।

कार्यालयले ६ महिनाको अवधीमा कुल विनियोजित बजेट मध्ये चालु तर्फ १ करोड ४१ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ भने पूँजीगततर्फ ८ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । प्रमुख जिल्ला अधिकारी चिलुवालका अनुसार मकवानपुरमा शान्ति सुरक्षाको अवस्था चुस्त राख्न अपराध नक्सा सहितको एकीकृत वार्षिक रणनीतिक सुरक्षा योजना र क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा गरी सोही बमोजिम व्यवस्था मिलाइएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम ७० पटक सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

राजमार्ग अवरोधरहित सञ्चालन गर्न कार्ययोजना र रोष्टर निर्माण गरी कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार मर्मत सम्भार, ट्राफिक संकेतहरुको जडान, सीसी क्यामेरा जडान कार्यलाई स्थानीय तह, सडक आयोजना र सरोकारवाला निकायहरुसँग समन्वय गरी तीव्रता दिइएको उहाँको भनाई छ । चिसोका कारण हुनसक्ने विपद्का घटनाहरुको जोखिम न्यूनीकरण गर्न शीतलहर प्रतिकार्य कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । कारागार कार्यालय भीमफेदीमा रहेका कैदी बन्दीहरुलाई लक्षित गरी कैदीबन्दीसँग सीप कार्यक्रम सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ ।