हेटौँडा ः हेटौँडा–१२ मा वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा माघ १६ गतेदेखि १९ गतेसम्म उपमहानगरस्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको छ ।
प्रतियोगिताका संयोजक मनोज लामाले हात्तीगौडास्थित बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा खेल हुने जानकारी दिनुभयो । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रतियोगितामा १३ वटा भन्दा बढी टिमहरुको सहभागिता रहने अनुमान गरिएको संयोजक लामाले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडालाई समेट्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको संयोजक लामाले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रथम पुरस्कार राशी हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने भएको छ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, १२ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष दिनेश चौलागाईंको पनि आतिथ्य रहेको थियो ।