मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । दिनहुँजसो लागूऔषध गाँजासहित धमाधम मानिसहरु पक्राउ पर्नुले मकवानपुरमा यसको समस्या भयावह देखाएको छ । प्रहरीले विशेष अभियान नै चलाएर वर्षेनी गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको भए पनि ठूलो परिमाणमा गाँजा बरामद हुनुले प्रहरीको प्रयास निरर्थक बनेको देखिन्छ । हरेक वर्ष किसानले गाँजा खेती गर्ने र प्रहरीले फाँड्ने गर्दा किसानको श्रम तथा पुँजी नाश हुने र राज्यको स्रोत साधन पनि खर्च हुने अवस्था छ । यस्तो अवस्थामा वैकल्पिक खेती अपनाउने वातावरण बनाएर स्थानीय सरकारले गाँजा खेतीमा संलग्न किसानलाई प्रेरित गर्नुपर्छ । प्रहरीले विशेष सुराकीको आधारमा गाँजा बरामद गर्दैमा यसको खेती रोकिने सम्भावना देखिँदैन ।

मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा शुक्रबार राति कैलाश गाउँपालिका–६ को दुम्सीखर्कका जीतबहादुर मोेक्तानको घरमा खानतलासी गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मोक्तानको घर नजिकैको गोठबाट ७ क्वीन्टल लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले चरेसजस्तो देखिने वस्तु १२ केजी पनि फेला पारेको छ । मोक्तानको घरबाट भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ । मोेक्तानसहित अन्य ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार पनि मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सूचनाको आधारमा राक्सिराङ–८ का प्रेम घलान र ठाकुराम मोक्तानको घर खानतलासी गर्दा क्रमशः १६३ केजी र १८२ केजी गरी ३४५ केजी लागूऔषध गाँजा फेला पारेको छ । प्रहरीले गाँजासहित घलान र मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दुई दिनको बीचमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको घटनाले यसको कारोबारमा ठूलै गिरोह सक्रिय रहेको अनुमान गर्न सकिन्छ । दिनहुँजसो लागूऔषध बरामद गरिएको घटनाले मकवानपुरमा लागूऔषधको कारोबार फस्टाइरहेको देखिन्छ । गाँजा तथा अफिम खेतीका लागि मकवानपुर जिल्ला देशभरमै अग्रस्थानमा आउँछ । तत्कालीन माओवादी जनयुद्धको समयमा मकवानपुरमा गाँजाखेती निकै फस्टाएको थियो । जनयुद्धका कारण गाउँमा प्रहरीको उपस्थिति नभएपछि गाँजा तथा अफिम खेतीले व्यापकता पाएको थियो । तत्कालीन नामाटार, कालिकाटार, भार्ता, गोगने, आग्रा, डाँडाखर्क, टिस्टुङ, राक्सिराङ, खैराङ, काँकडा, सरिखेत गाउँ विकास समिति गाँजाखेती बढी हुने क्षेत्रमा चिनिएको थियो । अहिले ती क्षेत्र थाहा नगरपालिका, कैलाश गाउँपालिका र राक्सिराङमा गाउँपालिकामा रहेका छन् ।

गाउँमा यातायातको सुविधा र प्रहरी प्रशासनको सक्रियतासँगै किसानहरु गाँजा खेतीको विकल्प खोज्न थालेका कारण गाँजा तथा अफिम खेती कम भएको भनिए पनि ठूलो परिमाणमा गाँजा बरामद हुनुले गाउँघरमा गाँजा खेती प्रशस्तै हुने गरेको पुष्टि गर्दछ । गाँजा, चरेस, अफिमलाई लागूऔषधको रुपमा लिइएको छ । यसको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवन गैरकानुनी मानिन्छ । वर्षेनी प्रहरीले ग्रामीण भेगको ठूलो क्षेत्रमा लगाइएको गाँजा तथा अफिम नष्ट गर्दै आएको भए पनि ठूलो परिमाणमा गाँजा बरामद हुनुले प्रहरी सक्रियता अझ बढाउनुपर्ने देखिन्छ । गाँजा र अफिम खेती गर्ने किसानमा सचेतना वृद्धि गर्दै वैकल्पिक खेतीतर्फ आकर्षित गराउन विशेष कार्यक्रम ल्याइनु पर्छ । यसका लागि स्थानीय सरकारले प्रभावकारीरुपमा विशेष अभियान थाल्नु आवश्यक छ ।