विद्यालय तहका विद्यार्थीहरुको परीक्षा तयारी तिब्र बनेको छ । विद्यालय तहको सबै कक्षाको वार्षिक परीक्षा नजिकिएसँगै परीक्षाको तयारीलाई तिब्रता दिइएको छ । विद्यालय तहको कक्षा १० सम्मको वार्षिक परीक्षा चैत महिनामा र कक्षा ११, १२ को वार्षिक परीक्षा बैशाख महिनामा सञ्चालन हुने भएका कारण विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयहरुलाई फागुनदेखि परीक्षा तयारीको चटारो हुने गर्दछ । कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) यस वर्ष चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । एसईई सुरु हुनुअगावै कक्षा ९ सम्मका वार्षिक परीक्षा सकाउने गरी परीक्षाको समयतालिका बन्ने गरेको छ । पालिकास्तरमा सञ्चालन हुने कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा विगतका वर्षमा एसईई परीक्षासँगै गर्ने गरिएको भए पनि यस वर्ष अगाडि नै हुने सम्भावना देखिएको छ । मकवानपुर जिल्लाका हेटौंडा उपमहानगरपालिकाले फागुन ९ गतेदेखि कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन गर्ने गरी समय तालिका सार्वजनिक गरिसकेको छ भने अन्य स्थानीय तहले पनि परीक्षा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
विगतमा विद्यालय तहको अन्तिम परीक्षाको रुपमा एसएलसी हुने गर्दथ्यो । अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिएका कारण कक्षा १२ को अन्तिममा लिइने परीक्षा एसएलसी भएको छ । तर, विगतमा जस्तै कक्षा १० को एसईई परीक्षालाई विद्यार्थी, शिक्षक, अभिभावक एवम् विद्यालयहरुले विशेष महत्वको रुपमा लिन छाडेका छैनन् । यसकारण एसईईमा सहभागी हुने विद्यार्थीका लागि अहिले अभ्यास परीक्षा सञ्चालन भइरहेको छ । संस्थागत विद्यालयहरुले केही समय अगाडि नै अभ्यास परीक्षा सञ्चालन गरेको भए पनि हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा अभ्यास परीक्षा सञ्चालन भइरहेको छ । गत माघ २६ गतेदेखि सुरु भएको परीक्षा आज शुक्रबार सकिँदैछ । एसईई अभ्यास परीक्षामा विभिन्न विद्यालयका थुप्रै विद्यार्थी अनुपस्थित देखिएका छन् । चालु शैक्षिक सत्रमा कक्षा कक्षा १० मा भर्ना भएका विद्यार्थीमात्र होइन, करिब २ महिनाअघि एसईई परीक्षा आवेदन फारम भरेका विद्यार्थीसमेत अभ्यास परीक्षामा अनुपस्थित हुनुले बिचैमा पढाई छाड्ने विद्यार्थी संख्या बढ्ने देखिएको छ ।
कक्षा १० को एसईई, कक्षा ८ को बीएलई मा सहभागी हुने विद्यार्थीको नतिजा राम्रो बनाउन विद्यालयहरुको विशेष ध्यान जाने गरेको छ । बाह्य परीक्षाको रुपमा रहने यी दुई कक्षाका विद्यार्थीलाई अधिकांश विद्यालयहरुले महिनौं अघिदेखि तयारी कक्षा सञ्चालन गर्ने गर्दछन् । कतिपय विद्यालयहरुले कक्षा ९ तथा अन्य कक्षाका विद्यार्थीका लागि पनि अतिरिक्त कक्षाहरु सञ्चालन गर्दै आएको पाइन्छ । परीक्षामा राम्रो नतिजा ल्याउनकै लागि विद्यार्थीहरुलाई नियमित विद्यालय सञ्चालन हुने समयको अतिरिक्त बिहान बेलुकाको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिन्छ । यसरी सञ्चालन गरिने अतिरिक्त कक्षाले केही विद्यार्थीको नतिजा सुधार गर्न सहयोगी हुने भए पनि यसले अभिभावकमा आर्थिक भार बढाउने गरेको छ ।
अबको करिब एक महिनापछि विद्यालय तहको वार्षिक परीक्षा सुरु हुने भएका कारण अहिले परीक्षा तयारी तिब्र बन्न थालेको छ । विद्यार्थीले पढेका विषयवस्तुको ज्ञान, सीप र धारणा मापन गर्न परीक्षा लिने गरिन्छ । नेपालमा हालसम्म विद्यार्थीको शैक्षिक स्तर मापन गर्न लिखित परीक्षा नै सञ्चालन गर्ने गरिएको छ । विद्यार्थीको सिकाई उपलब्धि मापन गर्ने धेरै विधि र पद्दति भए पनि परम्परागत मानिने लिखित परीक्षालाई महत्व दिइरहेका कारण परीक्षा र यसको तयारीलाई लिएर विद्यार्थीमा एकप्रकारको मनोवैज्ञानिक त्रास सृजना हुने गरेको छ । परीक्षालाई एउटा स्वभाविक र नियमित प्रक्रिया मान्न नसकेकै कारण कतिपय विद्यार्थी परीक्षामा आत्तिने, परीक्षालाई लिएर अनावश्यक डर, त्रास लिने गरेको पाइन्छ, जुन उचित मान्न सकिँदैन । परीक्षाको तयारीमा रहेका हरेक विद्यार्थीले परीक्षालाई सामान्यरुपमा लिनु आवश्यक छ ।