चुँडाराज उप्रेती
“मिडिया कुनै जिम्मेवारी बिना यति धेरै शक्तिशाली छ” यो भनाइ अमेरीकी पूर्व राष्ट्रपति बाराक ओबामाको हो । विश्वकै अगुवा प्रजातान्त्रिक राष्ट्र प्रमुखले आफु राष्ट्रपतिको निर्वाचनमा होमिँदा ताका दिएको अभिव्यक्ति हो । कतिथोरै शब्द खचिँदै बाराक ओबामाले धेरै सन्देश प्रवाह गरेका थिए, मिडिया हाउसप्रति । विश्वव्यापी मान्यता के छ भने गैरसंचार क्षेत्रमा लगानी गरेका व्यक्ति वा कम्पनिले मिडिया संचालन गर्नु हुँदैन । यो मतमा दुई मत नहोला कि निश्चय नै नेपालमा विभिन्न समयमा भएका आमूल परिवर्तन संस्थागत गर्न प्रेसको ठूलो र सकारात्मक भूमिका रहेको छ । पछिल्लो समयमा नेपाल मानव सामन्तवादी प्रवृत्ति पछिल्लो समयमा मिडियामा देखा परेको छ ।
हाल संचालनमा रहेका प्रायःजसो ठूला सचारगृहको भित्री रहस्य कोट्याउने हो भने प्रष्ट हुन्छ कि किन र केका लागि मिडियामा यत्रो लगानी गरे ? बिना लगामको घोडा मिडिया होईन, हुनु पनि हुँदैन । छद्यमभेषी रुपमा भएका मिडिया माथिको लगानीले स्वतन्त्र मिडियालाई उल्लेख्य प्रयोग गरिराखेका हुन्छन् । प्रेसले विगतमा गर्दै आएको जनकल्याणकारी भूमिका हाल कमजोर देखिन्छ । सरकार, राजनीतिक दल, शक्तिकेन्द्र, विदेशी दूतावासको ठाडो कु–प्रभावबाट प्रेसको छवि धुमिल हुँदै गएको छ । सरकारमा जुन दल छ, उसैको तारिफ गरी केहि मिडियाहरुले समाचार तयार पारेको देखिन्छ । एक सप्ताह मात्र प्रेसमा आएका खबरहरुलाई नियाल्ने हो भने, केहि पत्रकारहरु दलका प्रतिनिधि जस्ता देखिन्छन् ।
विज्ञापनदाता माथिको निर्भरता स्वतन्त्र मिडिया उपरको हस्तक्षेप पनि एक हो । प्रेस जगत अन्य लगानीको क्षेत्र जस्तो कदापी होईन । त्यसै राज्यको पहरेदार चौथो अंग भनिएको होईन । मिडियले प्रत्यक्ष–परोक्ष रुपमा मानिसको चेतना, सोच, विचारमा प्रभाव पार्दछ । प्रेसले सम्प्रेषण गरेको तथ्यलाई संसारभरी नै विश्वसनीय मानिन्छ, मानिँदै आएको छ । जनतालाई सूसुचित पार्ने, जनआवाज बोक्ने, सरकारको/व्यवस्थाको आचलोचनात्मक खबरदारी प्रेसको धर्म हो । खैर, रवी लामिछानेको पत्रकार सम्मेलनपश्चात् समाचारमा बन्ने विषय, समाचार बन्नुका कारण, सत्य–तथ्य के कसो हो ? प्रेसको नीजि स्वार्थ त जोडिएको छैन ? ईत्यादी विषयमा जनसाधारण पनि चासो राख्ने भएका छन् । सिधा शब्दमा, व्यक्ति वा संस्था लक्षित समाचारहरु जनमानसले विश्लेषण नगरी पत्याइहाल्ने अवस्था छैन । हिजोका दिनको प्रेसको साख गिरेको अवस्था हो ।
आजको एक्काईसौं शताब्दी सूचना र प्रविधिको शताब्दी हो । हात–हातमा मोबाईल छन् । छापामा आउनु पूर्व धेरै खबरहरु भाईरल भैसकेका हुन्छन् । सामाजिक सञ्जालको यस्तो जालो छ कि, कुनै समाचार बन्नुपूर्व सत्यताको खोजबिन नगरी नै हात–हातमा रहेको मोबाईलमा खबर पुगिराखेको छ । विशेषतः नकारात्मक खबरहरु चाँडै फौलेका हुन्छन् । व्यक्ति वा संस्थाको सामाजिक प्रतिष्ठा क्षण भरमै धुलिसात भैसकेको हुन्छ । यस्तो अवस्थामा कुनै कुनामा आउने भूलसुधारले आधिकारिकता बिनानै प्रसारित समाचारले त्यो गुमेको प्रतिष्ठा फिर्ता होला त ?
मैले फलो गरेका केही राजनीतिक दलका नेताको ट्वीटमा देखिएको कमेन्ट यतिसम्म नकारात्मक हुन्छ कि, पढिसाध्यै हुँदैन । समाज नेतृत्वप्रति उद्वेलित छ । नागरिकहरुमा कुनै दलप्रति आशा, भरोसा छैन । नागरिकमा निराशा मात्र छ । यस्तो तरल अवस्थामा आम संचारगृहको भूमिका निकै उच्च हुन आवश्यक छ । समाचार लुकाएर, बंग्याएर, बार्गेनिङ्ग गरेको रवी लामिछानेले लगाएको आरोपमा ठूला संचारगृहको मौनता र विषय र प्रसंग अन्यत्र मोडिनुले केही हदसम्मको आरोपको पुष्टि भने गरेको छ ।