मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचित हुने क्रम जारी छ । मतगणनाको कार्य अन्तिम चरणमा पुग्दैछ । प्रत्यक्षतर्फ विजयी हुनेको टुंगो लागेर समानुपातिकतर्फ दलहरुले प्राप्त मतका आधारमा निर्वाचन आयोगले समानुपातिकतर्फको विजेताको सुचि पनि सार्वजनिक गरेपछि प्रतिनिधि सभा र प्रदेश सभा गठनको प्रक्रियाले पूर्णता पाउनेछ । अहिले प्रत्यक्षतर्फ निर्वाचित र आगामी दिनमा समानुपातिकतर्फबाट निर्वाचित हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले ध्यान दिनुपर्ने विषय के देख्नहुुन्छ ? उनीहरुले कसरी काम गर्नुपर्छ ? भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तित्वको सुझाव यहाँ प्रस्तुत गरिएको छ ।
नागरिक ठूला कुरा चाहँदैनन् । सर्वसुलभ शिक्षा, सहज स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, विदेशिनु पर्ने बाध्याताको अन्त्य, श्रमको उचित सम्मान अहिलेको सर्वसाधारणको चाहना हो । कृषकले समयमै मल पाउने कुराको ग्यारेन्टी, उत्पादित वस्तुको उचित मुल्य र बजार, बढ्दो महंगी नियन्त्रण, राजानीतिक स्थायित्वमा पनि उनीहरुको जोड छ ।
व्यवस्था परिवर्तन भन्दा पनि दलहरु रुपान्तरित हुन नसकेको सर्वसाधारणको गुनासो छ । नियमित एउटै व्यक्ति र उसका आसेपासेले मात्रै अवसर पाउने विषयमा पनि नागरिकको असहमति छ । दल र तिनका उम्मेदवारहरुले आफुहरुलाई तत्काल परिवर्तन गर्न सक्नुपर्छ । अब पनि नागरिकले दल र तिनको उम्मेदवारहरुको पुरातान शैलीलाई स्विकार्दैनन् भन्ने देखाइसकेको छ । नेताहरुको बोलाई र गराई एउटै हुुनपर्छ ।
अब आश्वसनमा कसैले विश्वास गर्दैनन् । गर्न नसकिने र कार्यक्षेत्र मै नपर्ने विषयमा बोल्नु भएन । चुनिएका उम्मेदवारहरुले विकासका गतिविधि गर्छु भनेर झुठ बोल्न बन्द गर्नुपर्छ । म नागरिकका पक्षमा नीति, नियम बनाउँछु भन्न र गर्न सक्नुपर्छ । महिला, जनजाति, अल्पसंख्यक, पछाडी पारिएकाहरुको पक्षमा काम गर्ने तत्परता देखाउनुपर्छ ।
प्रतिनिधि सभा सदस्यले वर्तमानको राष्ट्रिय मुद्दाहरुसँग परिचित हुनुपर्छ होला । राष्ट्रिय सार्वभौमिकता, शान्ति सुरक्षा, अन्तरप्रदेश सम्बन्धसँग जोडिएको राष्ट्रिय अखण्डता लगायत राष्ट्रियस्तरका जलविद्युत, यातायात लगायतका परियोजनाहरुको आवश्यकता वा सम्भावनाहरु लगायतका मुद्दाहरुमा अध्ययन र भूमिकाको खाँचो पर्छ होला । त्यस्तै प्रदेश सदस्यले भने सर्वप्रथम आफ्नो प्रदेशको सम्भावना र चुनौतीहरु सम्बन्धमा साथै त्यस प्रदेशका नागरिकहरुको आवश्यकताहरु सम्बन्धमा राम्रो ज्ञान हुनु जरुरी हुन्छ किनकि उनीहरुले भूमिका खेल्ने वा उठान गर्ने यी मुद्दाहरू नै हुन् ।
प्रतिनिधि सभा होस् वा प्रदेश सभा दुवैका सदस्यहरुले गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको समान मुद्दामा अन्य सदस्यहरूसँगको सहकार्य हो जस्तो लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा त वहाँहरुले नागरिकसँग नियमित अन्तरक्रिया गर्नुप¥यो । नागरिकको आवाजलाई पकड्नु प¥यो । जनभावनालाई बुझेर सम्बोधन गर्ने र जनभावनालाई सही दिशा दिने दुबै काम गर्नु प¥यो ।
हामीले अहिले धेरै फ्रेस र युवा नेतृत्वहरु पाएका छौं । यो खुशीको कुरा पनि हो तर, वहाँले म नायक हुँ मैले बुझ्नु सिक्नु पर्छ भन्ने बिर्सनु चाहिँ हुँदैन । जस्तो कि एक नेतृको भाषणमा सुने “नेपालमा धरहरा ठहरिँदा अमेरिका भन्ने देश पनि थिएन ।” यहाँ उनी नागरिकलाई असक्षम नेतृत्वको कारण नेपाल बन्न सकेन भनेर स्थापित गर्न खोज्दै हुनुहुन्थ्यो जुन आधा मात्र सत्य हो । पहिलो कुरा अमेरिकाको ग्रासरूट विकास भएको होइन । बेलायत लगायत युरोपका धनाढ्य देशहरुले उपनिवेशिकरणबाट अमेरिका निर्माण भएको हो ।
अर्को कुरा कुनै देशको आर्थिक विकाससँग नेताको क्षमता मात्र होइन त्यहाको भूवनोट, प्राकृतिक स्रोत विशेष गरेर तेलजन्य पदार्थ, समुन्द्रसँग जोडिनु÷नजोडिनु आदिले ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै सामाजिक संरचनागत कुराहरु पनि आउँछन् । त्यसैले सामाजिक र राष्ट्रिय समस्याबाट उद्वेलित हुनु एउटा कुरा हो र समस्यालाई बुझ्नु र समाधान खोज्नु र त्यसमा निरन्तर काम गर्नु फरक कुरा हुन भन्ने वहाँहरुले बुझ्नु पर्छ । तथापि थोरै विनम्रता र अग्रसरताले त्यो वहाँहरुले गर्नसक्नु हुन्छ जस्तो लाग्छ । सबैभन्दा १ नम्बरमा चाहिँ इमान हो जुन वहाँहरुले छोड्नु भएन ।
१) स्वास्थ्य, शिक्षा एवम् रोजगारका कुराहरुलाई प्राथमिकता दिई सोही अनुसार नीति निर्माण गर्नुपर्दछ ।
२) आर्थिक विकासमार्फत् देशको आर्थिक क्षेत्रको सुधार सम्भव हुने हुँदा सोही अनुसार नीति निर्मँण गर्नुपर्दछ ।
३) स्वदेशी उद्योगहरुलाई संचालनका लागि विशेष प्राथमिकताका साथ काम गर्नु पर्दछ । जस्तैः हेटौंडा कपडा उद्योग सञ्चालन गरी सरकारी सेवामा हेटौंडा कपडा उद्योगको कपडा अनिवार्य, भृकुटी कागज कारखाना संचालन गरी यसको उत्पादन प्रयोग गर्न प्राथमिकता आदि ।
४) स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रभावकारी देखिएको छ । यसलाई अझ विपन्न वर्गले सहज रुपमा स्वास्थ्य उपचार पाउने व्यवस्था गर्नु प¥यो । पैसा नभएर कुनै पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् सोही अनुसार कार्यक्रम ल्याउनु प¥यो ।
५) प्रत्येक प्रदेशमा प्रदेशस्तरीय प्राविधिक शिक्षालयहरु स्थापना गरिनु पर्दछ । प्राविधिक शिक्षालयमार्फत् दक्ष जनशक्ति स्थापना गरी स्वरोजगारीको वातावरण सृजना गरिनु पर्दछ । यसबाट बैदेशिक रोजगारीमा जानै पर्ने भएमा पनि सिकेको सीप प्रयोगमा ल्याउँदा सहज हुन्छ ।
६) सरकारी, गैरसरकारी एवम् नीजि क्षेत्रमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अवधारणा अपनाउनु पर्दछ । सरकारी कार्यालयहरुमा देखिएको ढिलासुस्ती एवम् अन्य सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार ल्याउनु पर्दछ ।