विश्व फुटबलको महामेलाको रुपमा मानिने विश्वकप फुटबल सुरु भएको छ । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबलको यो २२ औं संस्करण् हो । विश्वकप फुटबल २०२२ आइतबारदेखि एसियाली राष्ट्र कतारमा सुरु भएको हो । कतारको राजधानी दोहामा निकै उत्साह र भव्यताका साथ विश्वकप फुटबलको २२ औं संस्करण औपचारिक उद्घाटन भएको छ । उद्घाटनसँगै यस वर्षको विश्वकप फुटबलको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच भएको थियो । आफ्नो समूहको कमजोर मानिएको इक्वेडरसँग पहिलो पटक विश्वकप खेलेको कतार २–० गोलले पराजित भएको छ । आयोजक राष्ट्र भएकाले स्वतः विश्वकप फुटबल खेल्न पाउने सुविधाका कारण कतारले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको हो ।
विश्वकप फुटबल खेल्नका लागि विभिन्न महादेशबाट छनौट खेल जित्नु आवश्यक हुन्छ । प्रारम्भीक खेलबाट छनौट भएका ३२ देशलाई ८ समूहमा विभाजन गरेर विश्वकपको भिडन्त गराइन्छ । ८ वटै समूहमा चार–चार टिम हुन्छन् । समूह चरणमा समूहभित्रका प्रत्येक राष्ट्रहरुबीच लिगका आधारमा खेल खेलाइन्छ । चारवटै टिमले एक–अर्कासँग लिग खेलिसकेपछि हरेक समूहको शीर्ष दुईमा रहने टोली अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्नेछन् । यसरी १६ वटा टोलीबीच प्रिक्वाटरफाइनल खेल खेलाइन्छ, जसबाट विजयी ८ वटा देशको टिम क्वाटरफाइनलमा पुग्दछन् । क्वाटरफाइनलका खेलबाट विजयी ४ टिमबीच सेमीफाइनलमा भिडन्त गराएर विजयी दुई टिमबीच फाइनल प्रतिस्पर्धा हुन्छ । २२ औं संस्करणको विश्वकप फुटबलको फाइनल खेल आउँदो आगामी पुस ३ गते आइतबार हुनेछ ।
करिब एक महिनासम्म चल्ने विश्वकप फुटबल प्रतियोगितामा ६४ वटा खेल हुनेछन् । विश्वकप फुटबलका खेल कतारका ८ वटा रंगशालमा हुनेछन् । विश्वकपमा ८ सय ३१ खेलाडी सहभागी हुनेछन् । विश्वकप फुटबल विश्वको सबैभन्दा महत्वपूर्ण र ठूलो खेल महोत्सव मानिन्छ । विश्वभर फुटबल खेलको प्रचलन रहेका कारण विश्वकप फुटबललाई सबै देशमा विशेष आकर्षणको रुपमा लिने गरिन्छ । कतिपय मानिसका लागि विश्वकप फुटबल निकै प्रतीक्षित हुने गरेको छ । विश्वकप फुटबलमा विश्वका ३२ देशमात्र सहभागी भए पनि अधिकांश देशका खेलप्रेमीहरु आ–आफ्नो रुचिअनुसारका देश र खेलाडीको समर्थनमा खुलेर लाग्ने गरेको पाइन्छ । नेपालमा पनि विश्वकप फुटबलको निकै चर्चा र चासो रहने गरेको छ । कतिपय ठाउँमा सार्वजनिकरुपमा विश्वकप फुटबलका खेल देखाउने र हेर्ने गरिन्छ । सबै उमेर समूहका मानिसबीच लोकप्रिय विश्वकप फुटबल प्रतियोगिताका दावेदार मानिएका टिमको समर्थनमा खुलेर लाग्ने नेपाली फुटबलप्रेमी दर्शकका कारण यसको आकर्षण पुष्टि गर्दछ ।
यसअघि रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकपमा क्रोसियालाई ४–२ गोल अन्तरले हराएर फ्रान्स विजेता बनेको थियो । हालसम्म विश्वकप फुटबलमा ब्राजिलले सबैभन्दा बढी ५ पटक विजेता बनेको छ । जर्मनी र इटाली समान ४–४ पटक विजेता बन्दा उरुग्वे, फ्रान्स र अर्जेन्टिनाले २–२ पटक विश्वकप जितेका छन् । इङ्ग्ल्याण्ड र स्पेनले एक–एक पटक विश्वकप फुटबलको उपाधि जितेका छन् । यस पटकको विश्वकपमा पनि यसअघिका विजेताहरु नै प्रमुख दावेदार देखिएका भए पनि फिफाको बरियतामा अग्रस्थानमा रहेका बेल्जियम, पोर्चुगल, क्रोसिया, कोलम्बियालगायत देशले पनि विश्वकप दावेदारी प्रस्तुत गर्ने सम्भावना रहेको छ ।