सभ्य समाजका लागि अपाच्य घटनाहरु पछिल्लो समय हेटौंडामा बढ्दै गएका छन् । नियतबस वा अन्जानमा नै भएका किन नहुन्, यस्ता घटनाले आम नागरिकको ध्यानाकर्षण गर्दछ । दुई हप्ताबीचमा हेटौंडामा भएका छात्राहरुमाथिको दुर्व्यवहारका घटनाले देशभरका सञ्चार माध्यममा प्राथमिकता पाएका छन् । मानव अधिकारदेखि महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुको पनि चासो बढेको छ । जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सहभागी भएका छात्राहरुमाथि दुर्व्यवहार भएको घटना नसेलाउँदै परीक्षार्थीमाथि पनि त्यस्तै घटना भएको छ । घटना कसले र कसमाथि भयो भन्ने भन्दा पनि यहाँको समाज र प्रवृत्तिले समाजलाई नै लज्जित बनाएको छ । छात्रासँग सबन्धित घटना भएकाले सरोकारवाला पक्षको पनि गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी भएको घटना सार्वजनिक भएको छ । दुर्व्यवहारको आरोप लागेको जनप्रतिनिधि धरौटीमा रिहा भएकै दिन हेटौंडा क्याम्पसमा अर्को घटना भएको छ । परीक्षा दिन परीक्षा केन्द्र पुगेका छात्राहरुलाई चिट ल्याएको आशंकामा अस्वभाविक र अपमानपूर्ण व्यवहार गरी खानतलासी गरिएको घटना सार्वजनिक भएको छ । प्रतिस्पर्धी क्याम्पसका विद्यार्थीहरुलाई हतोत्साही बनाउने क्याम्पसहरुको पुरानै शैली र व्यवहार हो । तर हेटौंडा क्याम्पसमा भएको चिट काण्ड अस्वभाविक घटना बनेको छ । छात्राहरुको शरीर खानतलासीका लागि महिला कर्मचारीहरु परिचालन गरिन्छ । हेटौंडा क्याम्पसमा पनि महिला नै खिटएका थिए, तर पनि परीक्षणको विधि अस्वभाविक भएको देखिएको छ ।
कुनै पनि परीक्षालाई नियमसंगत र मर्यादित बनाउनु परीक्षा केन्द्रमा खटिएका कर्मचारीको जिम्मेवारी हो । तर यसैका नाममा कसैमाथि दुर्व्यवहार गर्न पाइँदैन । परीक्षार्थीको शरीर कतिसम्म खानतलासी गर्ने भन्ने पनि सीमा हुन्छ । तर हेटौंडा क्याम्पसका कर्मचारीहरुले गरेको व्यवहार निन्दनीय नै छ । कर्मचारी आफैंले यतिसम्म परीक्षण गरे कि, उनीहरुलाई कतिसम्मको अधिकार दिएको थियो भन्ने पक्षबाट पनि अनुसन्धान हुन जरुरी छ । निर्देशानुसार नै खानतलासी गरेका हुन् भने निर्देशन दिने पनि कारबाहीको भागी हुनु पर्दछ । परीक्षार्थीहरुले पनि परीक्षाको मर्यादा राख्न सक्नु पर्दछ । चिट खानतलासी गर्दा भेटिनेहरुले आफ्नो कमजोरी स्वीकार गरेका हुन्छन् भने चिट नै नल्याएकाहरुले अपमानबोध गरेका हुन्छन् ।
परीक्षा केन्द्र भएको घटनालाई लिएर विद्यार्थी संगठनहरुले विरोध गर्नु स्वभाविक हो । आवेशमा रहेको अवस्थामा क्यापसमा तोडफोड पनि भएको छ । कर्मचारीले गरेको कमजोरीको प्रतिशोध क्याम्पस संरचनामाथि हुनु हुँदैन । यति नगरेको भए दोषीमाथि कारवाही पनि नहुने आशंका थियो । घटनालाई थप बल्झाउने भन्दा सुल्झाउने प्रयास भएको छ । तत्काल दोषी देखिएका कर्मचारीलाई परीक्षाहरुमा सहभागी हुन नपाउने गरी कारवाही गरिएको छ । यस विषयमा पीडित विद्यार्थी, संगठनहरु र शिक्षक वर्ग सहमत भएका छन् । समयमै समस्याको समाधानका लागि पहल भएकाले निकास पनि आएको देखिन्छ । विद्यार्थीमाथि दुर्व्यवहार भएको पुष्टि भएपछि अब परीक्षा सञ्चालन गर्दा कस्तो विधि अपनाउने भन्ने विषयमा अन्य परीक्षा केन्द्रहरुले पनि शिक्षा लिन जरुरी छ ।