हेटौंडाः मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ सार्वजनिक गरिएको छ । शनिबार हेटौंडामा एक समारोहका बीच पुस्तक सार्वजनिक गरिएको हो । सर्जक सञ्जाल मकवानपुरको संयोजनमा पुस्तक सार्वजनिक गरिएको हो ।
सिमान्तकृत चेपाङ समुदाय, लोपोन्मुख बनकरिया र गाडी बोक्नेहरुको कथा समेटिएको पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षता तथा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, लेखक चन्द्र किशोर, साहित्यकार तुल्सी थापा, सन्तोषी बनकरियाको पनि सहभागिता रहेको थियो ।
‘छेलिएका अनुहार’ माथि साहित्यकार भूपिन र लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, व्यवसायी, उद्यमी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।