उद्धव सापकोटा
पृष्ठभूमि झरनाको उद्गमस्थल तत्कालिन छतिवन गाविसको वडा नम्बर ६ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय हो । विद्यालयमा नेपाली विषय शिक्षकको रुपमा रमेशमोहन अधिकारी आउनु भयो । उहाँ साहित्यिक संस्था स्थापना र साहित्यिक पत्रिका प्रकाशनमा उत्सुकता राख्नु हुँदो रहेछ । उहाँले आफूसँग फापरबारीबाट प्रकाशन भएको ‘जुनकिरी’ हवाइ साहित्यिक पत्रिका र चन्द्रनिगाहपुरबाट प्रकाशन भएको ‘सूर्योदय’ पत्रिकाको पनि १-२ प्रति ल्याउनु भएको रहेछ । ती पत्रिका देखाउँदै “छतिवनमा पनि केही गर्न सकिन्छ कि” भन्ने विषयमा छलफल चलाउँदा म धेरै उत्साहि बनेँ । ‘जुनकिरी’ पत्रिकामा मैले चिनेका एकदुई जना साथीहरूको रचना छापिएको रहेछ । आफूले चिनेकै व्यक्तिहरूको कविता छापिएको देखेपछि मलाई पनि उत्सुकता जगायो । अनि छतिवनमा पनि एउटा साहित्यिक संस्था गठन गर्ने र त्यसैको माध्यमबाट साहित्यिक गतिविधि अगाडि बढाउने उद्देश्यका साथ २०५० सालमा महेन्द्र मावि छतिवनमा शिक्षकहरूको संलग्नतामा झरना साहित्यिक परिवार गठन भयो ।

त्यतिबेला छतिवनमा भएका दुईवटा माध्यमिक विद्यालय मध्ये महेन्द्र माध्यमिक विद्यालय तल्लो भागको अगुवा विद्यालय नै थियो । विभिन्न फिडर विद्यालयबाट कक्षा ४, ६ र ९ मा नयाँ विद्यार्थीहरू अध्ययनका लागि आउँथे । उनीहरू पढाइ बुझेका अभिभावकहरूकै छोराछोरी हुनाले उनीहरूमा थप सम्भावना हुन्थ्यो नै । समाजमा टेलिभिजनको प्रवेश नै भएको थिएन भन्दा पनि हुन्थ्यो । हेटौँडामा खुलेका १÷२ एफएम रेडियोको पहुँच पनि कतै कतै मात्रै थियो । यी सबै कारणले गर्दा अतिरिक्त क्रियाकलाप भनेकै साहित्यिक क्रियाकलाप हुन गयो ।


महिनै पिच्छे हुने साहित्यिक गोष्ठीमा छतिवन, भिरकोट, कर्मचुली र यदाकता हात्तीसुँडेका प्रतिभाशाली विद्यार्थीहरू बीच प्रतियोगिता हुँदा पुरस्कारका लागि राम्रो प्रतिस्पर्धा हुन्थ्यो । हामी सान्त्वना पुरस्कार चौथो हुनेलाई नदिएर प्रोत्साहन गर्नुपर्ने व्यक्ति, स्थान र विद्यालयलाई दिने गथ्र्यौँ । यसो गर्दा सबै प्रोत्साहित हुन्थे । प्रतियोगितामा छानिएका कविताहरू हेटौँडाबाट प्रकाशित हुने ‘कुराकानी’, ‘प्रयास’, र वीरगञ्जबाट प्रकाशन हुने ‘प्रतीक’, दैनिकमा प्रकाशनको व्यवस्था मिलाएका थियौँ भने हेटौँडाको मनकामना एफएम, थाहा एफएम, रेडियो मकवानपुर र हेटौँडा एफएमबाट पनि प्रसारण हुने गर्थे । जसको रचना छापिएको हो उसलाई ‘लेखक प्रति’ भनेर विद्यार्थीलाई पत्रिका नै दिइन्थ्यो । यी सबैले गर्दा साहित्यको राम्रो आधार निर्माण हुँदै गएको थियो ।

मासिक साहित्य गोष्ठी, पत्रिका प्रकाशन र वार्षिक रुपमा हुने वृहत् साहित्य गोष्ठी जस्ता कार्यक्रमका लागि आर्थिक जगेर्ना गर्न निकै कठिन थियो । प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीका लागि रु. २ दर्ता शुल्क भनेर लिएर पुरस्कार व्यवस्थापनमा खर्च गरिन्थ्यो । पत्रिका प्रकाशन गर्ने समयमा कार्यसमितिमा भएका साथीहरूसँग दामासाही उठाइन्थ्यो । जसले गर्दा कतिपय साथीहरू क्रमशः समितिबाट टाढा हुने क्रम बढ्दै थियो । दर्ता शुल्क २ तिर्न नसकेका विद्यार्थीहरू आफ्नो रचनालाई अप्रतियोगी रचनाको रुपमा सुनाउन बाध्य थिए । अझ सबैभन्दा गाह्रो कुरा त वृहत साहित्य गोष्ठी सम्पन्न गर्ने खर्च जुटाउनु थियो । तुलनात्मकरुपमा खर्च अलि ठुलै हुन्थ्यो ।

यस अवस्थामा अतिथिहरूलाई पनि अवस्थाअनुसार कार्यसमितिका कार्यकारी पदका व्यक्तिलाई जिम्मा लगाइन्थ्यो । उनीहरूले नै आफ्नो भागमा परेका अतिथिहरूको सवै व्यवस्था मिलाउनु पथ्र्यो । कार्यक्रम त भव्य रुपमा सम्पन्न हुन्थ्यो तर त्यसमा भएको खर्च मिलाउन निकै पछिसम्म समस्या परिरहन्थ्यो । तर राम्रो पक्ष के भयो भने हाम्रो कार्यक्रमबाट फर्किने अतिथिहरूले सकारात्मक सन्देश नै आफ्ना रचनामा र बहस तथा छलफलमा दिने हुनाले छतिवनको परिचर्चाको दायरा निकै फराकिलो हुन गयो । कतिपय साहित्यकारहरूले एकपटक छतिवनको कार्यक्रममा पुग्न पाउनुलाई जीवनको उपलब्धिकारुपमा लिन थाल्नुभयो । तर हामी भने आर्थिक अभावले मन खोलेर अतिथिहरूलाई बोलाउने अवस्थामा थिएनौँ ।


आर्थिक सङ्कटको कारण झरनाका गतिविधिहरू नै प्रभावित हुने अवस्था सिर्जना भएपछि हामीले आजीवन सदस्यताको अवधारणा अघि बढाएर रु. १००० मा आजीवन सदस्य बनाउने, उनीहरूको नाम झरनामा नियमित प्रकाशन गर्ने र त्यो रकम स्थानीय व्यवसायीलाई व्याजमा लगाएर त्यही व्याजबाट हुने आम्दानीले अर्धवार्षिक पत्रिका निकाल्ने योजनामा लाग्यौँ । उक्त काममा हामी आंशिक रुपमा सफल पनि भयौँ । हामीले सोचेजस्तै गरी व्याजबाटै पत्रिका प्रकाशन गर्न त पुगेन तैपनि निकै राहत महुसस गरियो । त्यसपछि तत्कालिन छतिवन गाविसका अध्यक्ष, उपाध्यक्षसँग यस बारेमा कुरा ग¥यौँ । त्यतिबेला गाविसमा ३ लाख बजेट मात्र आउँ्रथ्यो । त्यसबाट नै गाविसले हामीलाई वार्षिक कार्यक्रमका लागि पाँचदेखि सातहजार रुपैयाँसम्म दिने गथ्र्यो । यसरी हामीले भएको पैसालाई फारु गर्दै र नपुग पैसा आफ्नै गोजीबाटै हाल्दै पत्रिका चलाउँदै गयौँ । पछि गाविसको चुनाव हुन नसकेर कर्मचारीको हातमा गाविस परेपछि एक दुईपटक अत्यन्त कठिनाइका साथ ५-७ हजार लिन सके पनि पछिल्ला दिन हाम्रो श्रोत सुक्यो । अक्षयकोष भनेकै कोषलाई क्षय गर्दै हाम्रा खर्च टार्न थाल्यौँ । देश द्वन्द्वको चपेटामा परेपछि हाम्रा गतिविधि पनि प्रभावित भए । लगभग हामी नाम मात्रको संस्थाको रुपमा परिणत भयौं ।

वर्तमान अवस्था
देश शान्ति प्रक्रियामा गईसकेपछि झरनालाई पनि नयाँ ढङ्गले पुनर्संरचित गरेर नयाँ पुस्तालाई कार्यकारी बनाएर पुराना पुस्तालाई सल्लाहकारको जिम्मेवारी दिएपछि झरनाले पुनर्जीवन पाएको छ । नयाँ पुस्ताले नयाँ सम्भावनाको खोजी गर्दै झरनालाई एउटा राष्ट्रियस्तरको उदीयमान साहित्यिक संस्थाको रुपमा क्रियाशील बनाएको छ । यसलाई अझ निरन्तरता दिएर अगाडि बढाउनका लागि देश संघीय संरचनामा गएपछिको बकैया गाउँपलिकाको पहिलो अध्यक्षको रुपमा दामोदर खनाल, उपाध्यक्षको रुपमा सरला बोलखे र झरनाको जन्मभूमिको रुपमा रहेको वडा नंं. ४ को वडा अध्यक्षको रुपमा राजन दङ्गाल निर्वाचित भएर आएपछि हामीले झरनाको दीगोपनका लागि एउटा अन्तरििक्रया आयोजना ग¥यौँ ।
संयोगले उहाँहरू तीनैजना झरनालाई नजिकबाट नियाली रहनु भएको, झरनाकै कार्यसमितिमा रहेर काम गर्नु भएको व्यक्तित्व पर्नु भयो । यसका साथै गाउँपालिकाका अन्य जनप्रतिनिधिहरू पनि झरनाले भाषा, साहित्यको माध्यमबाट बकैयालाई राष्ट्रियरुपमा चिनाउन सफल भएको कुराको जानकारी राख्नु हुन्थ्यो । यसकारण झरनाको वार्षिक साहित्य गोष्ठीको सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने कुरामा सम्पूर्ण रुपमा सहमति भएको छ । विगत दुई वर्षदेखि झरनाको वार्षिक गोष्ठीलाई बकैया झरना साहित्यिक महोत्सवको रुपमा गर्न थालेपछि झरनासँगै बकैया गाउँपलिकाको पनि देशका साहित्यकार, कलाकार, पत्रकार र लेखकहरूमा सकारात्मक प्रभाव देशव्यापी बन्दै छ ।

आगामी कार्यभार
कुनै ठाउँ भौतिक रुपमाजति नै विकसित भएपनि त्यस ठाउँको भाषा, कला, साहित्य र संस्कृतिको स्तरमा सुधार हुन सकेन भने त्यो विकास अधुरो नै रहन पुग्छ । यसका लागि गाउँपालिकाले दीर्घकालीन सोच बनाएर यस काममा अघि बढ्न ढिला गर्न हुँदैन । आजभोलि कतिपय स्थानीय तहले पालिकाभित्रको भाषा, साहित्य र कला–संस्कृतिको जगेर्ना गर्नका लागि प्रज्ञाा प्रतिष्ठानको गठन गरी आफ्नो कामको थालनी गर्न थालेका छन् । त्यसैले हाम्रो पालिकाले पनि बकैया प्रज्ञा प्रतिष्ठानको गठन गरी बकैया भित्रको विविधताको संरक्षण गरी यहाँको कला, संस्कृति, भाषा, साहित्य र पुरातात्विक महत्वको वस्तु र स्थानहरूको जगेर्नामा ढिला गर्नु हुँदैन ।

अन्त्यमा, बकैया गाउँपालिका र ५ नं. वडाको पहलमा झरनाले प्राप्त गरेको २ कठ्ठा जग्गामा भवन निर्माण गरी त्यसै मार्फत प्रत्येक वडामा एक पुस्तकालय खोल्ने कामलाई पहिलो प्राथमिकतामा, त्यसैको माध्यमबाट पठन संस्कृतिको संरक्षण गर्नका लागि बकैया भित्रका राजनीतिक पार्टी, पालिकामा निर्वाचित हुने जनप्रतिनिधि, समाजसेवी, निर्माण व्यवसायी र अन्य सम्पूर्ण सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ ।

(सापकोटा झरना साहित्यिक परिवारका पूर्वअध्यक्ष हुनुहुन्छ ।)