हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम पठनपाठन हुने भएको छ । पुस महिनादेखि स्थानीय पाठ्यक्रम सुचारु गरिने शिक्षक पूर्णभद्र भुषालले जानकारी दिनुभयो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम पठनपाठन हुने उहाँले बताउनुभयो ।
स्थानीय पाठ्यक्रमको पुस्तकको नाम हाम्रो मनहरी राम्रो मनहरी रहेको छ । गाँपालिकाको शैक्षिक विकास वार्षिक अनुदान कार्यक्रमअन्तर्गत् पाठ्यक्रम निर्माण गरिएको भुषालले बताउनुभयो । सोमबार मनहरी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण कार्यशालाको आयोजना गरी पठनपाठन सुरु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बुद्विजीवी, शिक्षक, जनप्रतिनिधिहरुको वृहत् अन्तरक्रियापछि स्थानीय पाठ्यक्रममा तथ्यांकहरु समावेश गर्न आग्रह गरिएको थियो । पाठ्यक्रम निर्माणमा अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम विकास केन्द्रको प्राविधिक सहयोग रहेको छ ।
आर्थिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, राजनैतिक, पर्यटकीय, विपत जोखिमजस्ता क्षेत्रहरुका आधारमा उद्देश्यहरु निर्माण गरिएको उहाँले बताउनुभयो । ती उद्देश्यका आधारमा तथ्यांकको मस्यौदालाई छलफल गरी पठनपाठन सञ्चालन गरिने निर्णय गरेको भुषालले बताउनुभयो । पालिका, वडा, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीकोहरुको सुझाव संकलनको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको उहाँले जामनकारी दिनुभयो । पराम्परा, रहनसहन, जडीबुटी, भेषभुषा र कला तथा संस्कृति, धर्म, मन्दिरजस्ता संरक्षण तथा विकासमा ज्ञान प्राप्त हुने उहाँले बताउनुभयो । मनहरी कस्तो भौगोलिक क्षेत्र हो ? कस्ता फलफूल तथा कृषि उब्जनी हुन्छ ? भन्ने विषयमा ज्ञान हासिल हुने हुँदा विद्यार्थीसमेत हर्षित भएका छन् ।
स्थानीय पाठ्यक्रम विषयको प्रभावकारिताबारे विद्यार्थीलाई समेत प्रशिक्षण दिएको बताउनुभयो । मनहरीकै बसिन्दा भएर मनहरी कस्तो हो भनेर थाहा नपाएको भुषालले बताउनुभयो । यस अवस्थामा मनहरीको इतिहासदेखि वर्तमान समयसम्मको परिचय यस पाठ्यक्रमले दिने उहाँले बताउनुभयो । पूर्ण तयारी तथा अनुभव नभएकाले परीक्षणका रुपमा पुस महिनादेखि पठनपाठन सुरु गरिने उहाँले बताउनुभयो ।
मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी र पठनपाठनमा सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । स्थानीय पाठ्यक्रमको पठनपाठनले मनहरीको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताइएको छ ।