वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१. २०७७ सालको कक्षा १० अर्थात एसईईको नतिजा २०७८ साल श्रावण २३ गते प्रकाशन भएको छ । परीक्षा बोर्डले यो परीक्षा २०७८ जेठ १३ गतेबाट संचालन गर्ने गरी तोकेको अवस्थामा कोभिड–१९ को दोश्रो लहरको प्रकोप बढिरहेको कारण देखाई उक्त परीक्षा भएन । विद्यालयलाई नै विद्यार्थी मूल्याङ्कनको जिम्मेवारी दिईयो । गत वर्षभन्दा विधिमा केहि कसिलोपन ल्याउने प्रयत्न भएता पनि केहि निजि विद्यालयका नतिजाको कारणले यसपटक पनि विद्यार्थी मूल्याङ्कन विवादरहित बन्न सकेन । यो नतिजा पश्चात स्वभाविकरुपमा कक्षा ११ को नयाँ भर्नाको ढोका खुल्ला भएको छ । यहि सन्दर्भमा यो आलेख केन्द्रित रहेको छ ।

२. कक्षा ११को भर्नाको मौसम छ । सबै संचारका माध्यमहरु–रेडियो, टिभी, अखबार, सामाजिक सञ्जाल भर्नाको विज्ञापनले छाएको छ । कुनै पनि संस्थाले आफूलाई कमजोर देख्ने कुरा भएन । विज्ञापनमा राम्रो प्रतिस्पर्धा छ । उत्कृष्ट नतिजा, मल्टीमिडियाको प्रयोग, कडा अनुशासन, छात्रवृत्तिको अवसर, सुविधाजनक एसीजडित कक्षाकोठा आदि यस्ता अनेकन् विशेषताहरुले भरिएका विज्ञापनको व्यापकताले विद्यार्थी अन्यौल भएको पाइन्छ । कुन संस्था रोज्ने, के विषय पढ्ने, आफ्नो भविष्यलाई कता लैजाने भन्ने परिपक्वताको अभावमा हालै एसईई उत्तीर्ण विद्यार्थी भीडको पछि लागेको पाइन्छ ।

उता अभिभावक आफ्ना सन्तानको सामु निरिह बनेको देखिन्छ । केटाकेटीहरु जता भन्छन् उतै भर्ना गर्नुपर्ला, अनि विषय थाहा भएन, के मन लाग्छ त्यही पढ्छ । त्यो त हो, विद्यार्थीको रुचिअनुसारकै विषय अध्ययनको अवसर दिनुपर्छ । लादिएको वा अभिभावकको चाहनाको नभएर विद्यार्थीको चाहना र कमाण्डकै विषय छनौट गर्नु राम्रो हो । भिडको पछि लाग्नु वा साथीले पढेको नै संस्था र विषय रोज्नु चाँही उनीहरुको स्वभाव देखिएको छ ।

३. एसईईको नतिजाले कक्षा ११ मा प्रवेशको अवरोध कसैलाई गरेको छैन । कतिपय विषयमा भने केहि शर्त र मापदण्ड राखिएका छन् । अनिवार्य विषय त्यसमा पनि गणित र विज्ञानमा कम्तिमा सी ग्रेड सहित न्यूनतम २ जीपीए भएकाहरुले कक्षा ११ मा विज्ञान विषय पढ्न पाउँछन् । विद्यार्थीको चाहना भएमा यस स्तरका विद्यार्थीहरु प्राविधिक शिक्षामा समेत जान सक्छन् । यो नतिजामा उल्लेख जिपिए तथा ग्रेडको आधारमा मात्र विषय रोज्नु भन्दा विद्यार्थीको रुची तथा चाहना र क्षमताको ठोस विश्लेषण गरेर बढ्नु राम्रो हुन्छ । हतारमा निर्णय लिएर फुर्सदमा पश्चाताप गर्ने होइन । साथीले पढेकै विषयमा भर्ना हुने, अर्काको पछि लागेर यो वा त्यो जुन स्कूलमा गयो म पनि त्यहीँ जाने भन्ने सोच राम्रो होइन । आफ्नो लागि अनुकूल संस्था रोज्नुपर्छ । भीडले ठिक निर्णय गर्छ भन्ने होइन । भीडको उद्देश्य फरक हुन सक्छ ।

४. एसईई नतिजाको राम्रो पहिचान गरेपछि कक्षा ११ मा साधारण शिक्षा रोज्ने कि प्राविधिक शिक्षा रोज्ने, दुईमध्ये एउटा बाटो निश्चित गर्नुपर्छ । कक्षा ११ र १२ भनि तोकिएका विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकाय र यी अन्तर्गत्का सबै विषयहरु साधारण शिक्षाअन्तर्गत् पर्दछन् । यद्यपि प्रचलित विधि कानूनले यी भिन्न संकाय भन्दैन । सँगै एसईई पश्चात् प्राविधिक धारको कक्षा ९ देखि १२ को निरन्तरताको अतिरिक्त सीटीईभीटी अन्तर्गत्को टीएसएलसी र डिप्लोमा तहको दुई खाले प्राविधिक शिक्षा संचालन हुँदै आएको छ । कृषि, पशु, स्वास्थ्य, इन्जिनियरिङजस्ता विषयहरुअन्तर्गत् विविध शीर्षकमा प्राविधिक शिक्षा जोडिएको छ ।

टीएसएलसी तहको शिक्षा १५ महिने तालिम नै हो र यो तहको प्राविधिक शिक्षालाई एकेडेमिक भनिँदैन अर्थात् शैक्षिक तह बढ्ने होइन । बजारमा चाँडै रोजगार पाउने निश्चित सीप हासिल हुने एक प्रकारको तालिम प्रशिक्षण अर्थात् प्राविधिक एसएलसी नै भनेर यो तह चिनिन्छ । डिप्लोमा भनिने अर्को ३ वर्षे उही विषयका प्राविधिक शिक्षालाई एकेडेमिक अर्थात् १२ कक्षा वा सो सरहको समकक्षता निर्धारण गरिएको छ । यसपछि स्नातक तहका प्राविधिक विषयमा प्रवेश गर्न सहज बन्छ । स्वास्थ्य, कृषि, इन्जिनियरिङ, वन यी सबैमा ३ वर्षे डिप्लोमा कोर्ष गरेका विद्यार्थी सजिलै स्नातक तहमा प्रवेश गर्न सक्छन् ।

५. विद्यार्थी तथा अभिभावकले यी दुईखाले शिक्षाबारे जानकारी लिनुपर्छ । आफ्नो अनुकूलता हेरेर साधारण वा प्राविधिक शिक्षाको छनौट गर्नुपर्छ । यो पनि अरुको लहलहैमा होइन । अरु घोडा चढ्यो भनेर आफू घरको धुरी चढ्ने मूर्खता गर्नु हुँदैन । सूचना लिन, जानकारी लिन लाज मान्नु हुँदैन । आफ्नो जानकारीमा भएका सबैसँग नजानेको कुरा सोधेर परामर्श लिएर अन्तमा निर्णय लिनुपर्छ । सम्भव भएसम्म वर्तमान सन्दर्भमा प्राविधिक शिक्षा रोज्नु राम्रो हुन्छ । यो सीप र रोजगारसँग जोडिएको विषय हो । यस्ता विषयमा विद्यार्थी कोटा तोकिएको हुन्छ । छात्रवृत्तिको कोटा पनि निर्धारण गरिएको हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले शुल्कसहित र शुल्करहितको भर्ना आवेदन माग गर्ने परम्परा छ ।

६. हरेक दृष्टिकोणले विद्यार्थीले आफ्नो अनुकूलको विषय रोज्नुपर्छ । पहिलो स्वयम् विद्यार्थीको रुचि र क्षमता नै हो । सँगै अभिभावकको आयस्तर जोडिनै पर्छ । खर्च गर्न सक्ने स्तर अर्को महत्वपूर्ण सबाल हो । हालका दिनमा क्षमता भएका विद्यार्थीलाई आर्थिक अवस्थाले असर नगर्ने संस्थाहरु धेरै छन् । तसर्थ पहिलो शर्त भनेको स्तरीयता र क्षमता नै आधारस्तम्भ भएको तथ्य स्पष्ट छ । आफूले रोजेको शिक्षण संस्था घरपायक छ वा छैन अर्थात् घरबाट नभ्याइने, डेरामा बस्नुपर्ने हो भने थप व्ययभारबारे यकिन गर्नुपर्छ ।

सम्भव भएसम्म घरपायकका स्कूलमा नै कक्षा ११ र १२ पढ्नु राम्रो हुन्छ । कक्षा १२ सम्म विद्यालय शिक्षा भनिएकाले यो कलेज वा विश्वविद्यालय तहको शिक्षा होइन । भ्रमहरुको पछि दौडनु हुँदैन । आफ्नो गाउँघरकै विद्यालयमा रोजेको विषय छ भने त्यहीँ पढ्नु सबैभन्दा उत्तम हुन्छ । दूरीको हिसाबले पायक पर्ने, परिचित स्थान र वातावरण, शिक्षक कर्मचारी चिनिएका, व्यवहारप्रति जानकार हुँदा हरेक ढंगले सहज र सरल हुन्छ । कहिलेकाहीँ पर्नसक्ने समस्या र अप्ठ्यारोमा जानपहिचानका शिक्षक हुँदा आफ्नो समस्या राख्न, भन्न सजिलो हुन्छ र सहयोग पनि पाइन्छ ।

७. कम जानकारी भएको, कहिल्यै नचिनेका शिक्षक, वातावरण पूरै नयाँ यस्तो अवस्थामा विद्यार्थी घुलमिल हुन दुईचार महिना त लाग्छ नै सँगै समय र दुरीले समेत ठूलो प्रभाव पार्न सक्छ । साँघुरा सडक, ट्राफिक ज्यादा, दुर्घटना धेरै हुने अनि हाम्रा विद्यार्थी अरुलाई देखाउन जोडले मोटर साइकल चलाउने यस्ता अवस्थाले थप चिन्ता उत्पन्न गर्छ नै । तसर्थ घरबाट सहजै भ्याउने, हरेक कोणबाट सकारात्मक शिक्षक र त्यहाँको वातावरणलाई अभिभावकले पनि प्राथमिकता दिनुपर्छ । त्यहाँ अपनत्व देखिनुपर्छ । आफ्नो घरआँगनको संस्था सम्बन्धित विद्यार्थी–अभिभावकको पहिचान हो र प्रतिष्ठा पनि हो ।

आफ्नो ठाउँको शिक्षण संस्था उजाड हुने, रित्तिने अनि बजारमा ऋण गरेर पढाउन आफ्ना सन्तान राख्नु कुनै पनि कोणबाट राम्रो होइन । खोजेको विषय नै भएन भने भिन्न कुरा हो । तर, विषय पनि छ, नजिक छ, न्यून शुल्क छ, शिक्षक दक्ष छन्, वातावरण राम्रो छ भने त्यहीँ पढ्नुपर्छ भनेर अभिभावक र समुदायका अग्रजले कन्भिन्स पनि गर्नुपर्छ । राजनीतिक तहले संघीयताको मर्मअनुरुप आ–आफ्नो स्थानका संस्थालाई सबल र सक्षम बनाउनुपर्छ । कमजोर भए राम्रो बनाउने अभिभारा पनि त्यही समुदायकै भएकाले आफ्नो स्थानलाई सच्याउने, विकास गर्ने अवसर उपयोग गर्नुपर्छ ।

८. अन्तमा, बनाउने राम्रो नै हो । आफ्नो सन्तानको सुन्दर भविष्य हामी सबैको चाहना हो । आफ्नो वास्तविक धरातल, विद्यार्थीको रुचिको विषय, स्थानिय शिक्षण संस्थाको वास्तविकता, आदि पक्षहरुको अध्ययन विश्लेषण महत्वपूर्ण सबाल हुन् । पछि गरिने पश्चातापले जीवन निरर्थक बन्छ नै । विद्यार्थी भीडको पछि होइन, भविष्यको पछि लाग्नुपर्छ ।

अभिभावक आफ्नो सन्तानको पछि लाग्ने होइन, सत्य र तथ्यको मार्ग पहिल्याउनुपर्छ । आडम्बरले र व्यापारिक प्रयोजनले फैलाएका भ्रम र जालको शिकारबाट माथि उठ्न नसकेको अवस्थालाई उच्च सुझबुझका साथ मनन गर्नुपर्छ । विद्यार्थी बढी उनीहरुका साथी के पढ्छन्, कहाँ पढ्छन् त्यही खोज्ने प्रायः चलन छ ।

यो परम्परागत संस्कारलाई अन्त्य गरी पढाई आफ्नो लागि हो, आफ्नो भविष्य जेमा सुन्दर छ, त्यही रोज्नुपर्छ । समुदायका अग्रजले, जनप्रतिनिधिले, राजनीतिक दलका जिम्मेवार व्यक्तिले सर्वप्रथम आफ्नो गाउँ, टोल, आफ्नै स्थानीय तहलाई राम्रो बनाउनुपर्छ । बेठिक भए ठिक बनाउन कस्ता शिक्षक राख्ने नराख्ने, संस्थाका नेतृत्व गलत भए फेर्ने, कसरी हुन्छ राम्रो गर्न पहल गर्नैपर्छ । यो वा त्यो रिसाउँछ कि, यो त भन्न भएन, आफ्नो मान्छे छ, आफ्नै पार्टीको छ भन्नेजस्ता गलत विचारले प्रश्रय पाएमा संघीयताको मर्म नै ओझेलमा पर्नसक्छ । सबैखाले विकासको पहिलो स्रोत र आधार शिक्षा नै हो । शिक्षा राम्रो बनाउने र आजका विद्यार्थी भविष्यका यो राष्ट्रलाई समृद्धिमा लैजाने पक्ष भएकाले उनीहरुको विद्यालय शिक्षाको अवस्थामा सबै सरोकारवर्गले सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।