कानुनीरुपमा अधिकार समान भए पनि व्यवहारमा कठिनाई सहनु नेपाली महिलाको नियति नै हो । सबै क्षेत्रमा समान भनिए पनि पुरुषवादी समाजमा महिलालाई कार्यक्षेत्रमा अप्ठेरो भोग्नु पर्दछ । कतिपय अवस्थामा महशुसमात्र हुन्छ भने कतिपय अवस्थामा काम गर्न नै नसक्ने अवस्था श्रृजना गरिन्छन् । यसो हुनुमा महिलाहरुको अक्षमताभन्दा पनि मानिसको चिन्तन र व्यवहारले गर्दा हो । मानिसको स्वभाव, चिन्तन र चेतनास्तरले महिलालाई हेर्ने यथास्थिति दृष्टिकोणले काम गरेको हुन्छ । आज पनि महिला घरपरिवारबाट पुरुष झैं स्वतन्त्र छैनन् । कामकाजी महिलाहरुले अझै दोहोरो जिम्मेवारी निर्वाह गर्नुपरेको हुन्छ । पुस्तौंदेखि भोग्दै आएको व्यवहार अन्त्य हुन अझै कति समय पर्खनुपर्ने हो ?
समाजको अगुवा शिक्षण पेशामा आबद्ध महिलाहरुले समेत आफूलाई व्यवहारिकरुपमा सजिलो वातावरण बनाउन सकेका छैनन् । कार्यालयमा प्रमुखको जिम्मेवारी लिएका महिलाहरुको अनुभव सुखद् हुन सकेको पाइँदैन । यस्तै अनुभव छ– मकवानपुरका महिला प्रधानाध्यापकहरुको पनि । विद्यालय प्रशासन चलाउने जिम्मेवारी पाएका महिलाहरु व्यवहारिकरुपमा आफूलाई समस्या भएको अनुभव गर्दछन् भने अन्य कामकाजी महिलाहरुको अवस्था झन् कठिन भएको अनुमान लगाउन सकिन्छ । उपल्लो जिम्मेवारी पाउन नै महिलालाई निकै मुस्किल छ । पाइहाले पनि फलामको चिउरा चपाउनुपर्ने उनीहरुको अनुभव छ । नेपाली महिलाहरु स्वतन्त्रपूर्वक काम गर्नसक्ने अवस्थामा पुग्न सकेका छैनन् भन्ने कुरा प्रधानाध्यापक महिलाहरुको अनुभवले बताउँछ ।
मकवानपुर जिल्लामा सामुदायिक र निजी क्षेत्रमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका ४ सय ९९ विद्यालयका प्रधानाध्यापकमध्ये एक सय १६ महिला प्रधानाध्यापक छन् । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत पनि प्रधानाध्यापक छैनन् । प्रतिशत पुग्नका लागि योग्य शिक्षिका हुनुपर्दछ । तर के जिल्लाभित्र योग्यताकै अभावमा प्रधानाध्यापक नभएका हुन् त ? पक्कै पनि हैन । नेतृत्वका लागि योग्यतामात्र पनि पर्याप्त हुँदैन । त्यसका लागि हिम्मत र आँट तथा अग्रसर पनि हुन जरुरी छ । जसले विद्यालयको समग्र नेतृत्व लिएका छन्, उनीहरुको अनुभव पनि सुखद् हुन सकेको छैन । उनीहरुले दोहोरो जिम्मेवारी बहन गर्नुपरेको दुःखेसो छ । घरायसी काम र विद्यालयको दोहोरो जिम्मेवारीको अनुभव महिलाहरुको हुने गरेको छ ।
जिम्मेवारी पूरा गर्नका लागि पुरुषलाई भन्दा महिलालाई व्यवहारिकरुपमा पनि कठिनाईको अनुभव छ । तर कार्य प्रगतिको दृष्टिकोणबाट धेरै महिला प्रधानाध्यापकको प्रशासनिक क्षमता उत्कृष्ट देखिएका छन् । विद्यालयमा महिला नेतृत्व बढी जिम्मेवार हुने तथा होशियारीपूर्वक काम गर्ने गरेको पाइन्छ । यस्तै आर्थिक अनुशासनमा पुरुष प्रधानाध्यापकभन्दा महिलाहरु बढी सचेत छन् । महिलाको इमान्दार हुने गुणकै आधारमा पनि नेतृत्वको जिम्मेवारी सकेसम्म उनीहरुलाई दिने वातावरण बनाउनुपर्दछ । कतिपय अवस्थामा महिला प्रधानाध्यापकलाई अन्य शिक्षकदेखि विद्यार्थीले समेत अटेरी गरेका घटना पनि छन् । तर यस्तो अवस्था पुरुष भएकै ठाउँमा पनि पाइन्छ । महिला र पुरुषबीच तुलना गर्दा महिला प्रधानाध्यापकहरु बढी सफल भएका उदाहरण छन् ।