फाइल तस्बिर ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा मागेरै जीवन बिताएकाहरुको समाचार समृद्ध समाज राष्ट्रिय दैनिकमा प्रकाशन भइसकेका छन् । समाचार संकलनका क्रममा काम गरेर कमाउनुभन्दा सडकका पेटीमा मागेर बसेमा पैसा यत्तिकै पाइन्छ भन्ने हिसाबले पनि बसेको पाइएको छ । सबैभन्दा बढि अशक्त भन्दा पनि केही परिश्रम गरी खान सक्नेहरु पनि सडकमा माग्न बसेका थिए ।

यस विषयमा वडा अध्यक्षदेखि मेयरसम्मको प्रतिक्रिया बुझ्दा उहाँहरुको फरक–फरक अभिव्यक्ति रहेको छ । हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामाले उक्त वडामा तीनवटा झुपडीमा परिवारसहित अव्यवस्थित बसोबास गरिरहेकाबारे कुरा गर्दा आफूलाई केही थाहा नभएको बताउनुभएको छ । हेटौंडाको बसपार्क आफ्नै वडामा भएकाले नेपालका विभिन्न ठाउँदेखि छिमेकी देश भारतबाट समेत यस्ता परिवारका व्यक्तिहरु आउने गरेको बताउनुभयो । राज्यले नै समाधान गर्न नसकेको यस्ता समस्या आफूले पनि समाधान गर्न नसक्ने भन्दै वडा अध्यक्ष लामाले त्यस्ता व्यक्ति नेपाली नागरिक भएमा उनीहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित जिल्लाका सम्बद्ध निकायलाई आग्रह गर्ने बताउनुभयो ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनै पनि बालबालिकाले पढ्न पाउनु उनीहरुको अधिकार भएको दावी गर्नुभएको थियो । मेयर महतले नजिकको विद्यालयमा सम्पर्क गरी पढ्न नपाएका बालबालिकालाई जसले भर्ना गराए पनि उपमहानगरपालिकाले पढाई खर्च बेहोर्ने बताउनुभएको थियो । उपमहानगरले डे«ससहित शैक्षिक सामग्री र पढाइ खर्च व्यहोर्ने मेयर महतले उद्घोष गर्नुभएको हो ।

हेटौंडा–१ मा रहेको अमर माविका प्रधानाध्यापक मालती उप्रेतीले बालबालिकासहित अभिभावक उपस्थित भएमा विद्यालयले पढाउने आवश्यक व्यवस्था मिलाउने बताउनुभयो । एक सञ्चारकर्मीको रुपमा सम्बन्धित निकायसमक्ष बालबालिकाको पठनपाठन तथा अभिभावकको व्यवस्थित बसोबासको कुरा राख्दा सकारात्मक देखिए पनि कार्यान्वयनमा गम्भीरता पाइएन । आइपरेका नागरिकको समस्या समाधानमा तत्काल जुट्नुपर्ने जनप्रतिनिधिलाई जानकारी गराउँदासमेत गम्भीर चासो नदेखाएको पाइएको हो ।

ती बालबालिकालगायत अन्यको उद्दारका लागि गरिएको पहल सफल भएन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बद्ध निकाय गम्भीर नदेखिँदा वि.सं २०८२ सालभित्र सहयोगीपेक्षी सडक मानवमुक्त देश बनाउने लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ ।

हेटौंडा–१० स्थित बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयनजिकै सडक छेउमा रहेका तीनवटा झुपडीमा विद्यालय नगएका ५ जना बालबालिका भेटिएका थिए । ती बालबालिकासहित अन्य ६ जना व्यक्तिहरु पनि ती झुपडीमा बस्दै आएका छन् । यसैगरी हेटौंडा–२ घर भएका ५२ वर्षका राजु खड्की, ६५ वर्षका बुद्धिबहादुर तामाङ, रेखा घिमिरे, हेटौंडा– ११ का राजकुमार प्रजालगायत अन्य व्यक्तिहरु पनि सडकमा माग्न बसेको तथा कबाडीका सामानहरु उठाउँदै गरेको अवस्थामा भेटिएका थिए ।

ती विभिन्न व्यक्तिका भावना तथा इच्छाहरुलाई नियाल्दा प्रायः काम गर्नुभन्दा मागेर खानु ठिक भनेर सडकमा बस्ने गरेको पाइएको हो । ५ बालबालिकामध्ये २ बालकको पढ्ने चाहना हुँदा पनि अभिभावकको बेवास्ताले पढ्न नपाएकोे बताएका थिए । ‘हामीलाई कसैले पढाए पढ्छौं’ भनेर भनेका बालकहरुका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराई पढाउने वातावरण बनाएर सम्पर्क गर्न खोज्दा ती बालकहरु भेटिएनन् ।