हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको छ । आँखा केन्द्र सञ्चालनका लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको हो । आगामी पाँच वर्षसम्म कायम रहनेगरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले दुईजना स्वास्थ्यकर्मीको लागि पारिश्रमिकबापतको रकम वार्षिकरुपमा अनुदानस्वरूप उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रको स्थान र आवश्यकीय भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, प्रचारप्रसार गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने, पालिकाभित्रका शैक्षिक संस्थामा अध्ययनरत बालबालिका, विपन्न वर्ग, अपाङ्ग, एकल महिला, अति विपन्न समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, आवश्यक बजेट विनियोजन गर्नुपर्ने र अस्पतालको तर्फबाट आवश्यक सामग्री तथा उपकरण, आवश्यकताअनुसारको प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय बजेट विनियोजन गर्नेलगायतका द्विपक्षीय सम्झौता भएको छ ।
अहिले बागमती र मनहरीमा एकैपटक शिविर सञ्चालन गर्ने भनिए पनि तत्कालको अवस्थामा बागमतीमा सञ्चालन गर्नेगरी सहमति भएको सामुदायिक आँखा अस्पताल हेटौंडाका अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । मनहरी गाउँपालिकामा पहिला पनि साप्ताहिकरुपमा आँखा केन्द्र सञ्चालनमा थियो । तर कोरोनाका कारण अहिले बन्द रहेको छ । अब मनहरीमा पनि समन्वयपश्चात् छलफल गरी प्रक्रिया अगाडि बढाएर दैनिकरुपमा खुल्नेगरी आँखा केन्द्र पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो ।
बागमतीमा सेवा विस्तार गर्न २ जना स्वास्थ्य कर्मचारी परिचालन गर्ने र स्वास्थ्य कर्मचारीलाई तलबको व्यवस्था गाउँलिकाले गर्ने भएको छ । सामुदायिक आँखा अस्पताल हेटौंडाले १७ लाख रुपैयाँ बराबरको आँखाको उपचारका आवश्यक उपकरण केन्द्रका लागि उपलब्ध गराउने पनि श्रेष्ठले जानकारी दिनुभयो ।
त्यहाँ रहेका नागरिकहरुले उपचारका लागि टाढा जानु पर्ने अवस्थाको अन्त्य गरी नजिकै सेवा लिन सकुन् भन्ने उद्देश्यले आँखा केन्द्र सञ्चालन गर्न लागिएको हो । थाहा नगरपालिकाको आँखा केन्द्रमा पनि औषधीको व्यवस्था रहेको र त्यहाँ दैनिक १० दखि १५ जना आँखाको बिरामी आउने गरेका छन् ।
कोभिडको बेलामा अलि समस्या हुने भएकाले आँखा केन्द्र सञ्चालन प्रक्रिया अघि बढिरहेको र ३ महिनाभित्रमा सेवा विस्तार हुने उहाँले बताउनुभयो । अहिले सामुदायिक आँखा अस्पतालको अवस्था सामान्य रहेको छ । कोरोनाका कारण बिरामी केही मात्रामा घटेका छन् । अहिले पनि दैनिक २ सयदेखि ३ सयसम्म बिरामी आउने गरेका छन् । तर जँचाउन आउने बिरामीमध्ये प्रायः मोतीविन्दुको बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।