भर्चुअल प्रविधिमा सुरु भएको नवोदय मुन कार्यक्रमका सहभागीहरु ।

हेटौंडाः नवोदय शिशु सदनको आयोजनामा नवोदय मोडल युनाइटेड नेशन (मुन) कार्यक्रम बिहीबारबाट सुरु भएको छ । भर्चुअल प्रविधिबाट तीन दिनसम्म आयोजना हुने नवोदय मुन कार्यक्रममा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउँदै राष्ट्र संघको भूमिकाबारे छलफल गरिनेछ ।

कार्यक्रमको उद्घाटन अवसरमा एपेक्स स्कूल रुपन्देहीका प्रिन्सिपल दीपक गौतमले मुन कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने भएकाले बालबालिकाले धेरै कुरा सिक्ने बताउनुभयो । ‘मुन संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम हो’, गौतमले भन्नुभयो– ‘विभिन्न एजेण्डामा रही छलफल गरिने भएकाले छलफलमा उत्पन्न भएका समस्यालाई समाधान गरी ठोस निचोड दिने कार्य मुनले गर्दछ । कार्यक्रमले अन्तर्राष्ट्रिय तवरबाट सम्बन्ध कायम राखी व्यावसायिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।’

कार्यक्रममा प्रा.डा. राजु क्षेत्रीले संयुक्त राष्ट्र संघको परिषद् तथा कार्यको व्यवहारिक विषयमा छलफल हुने भएकाले बालबालिकाहरुमा ज्ञान हासिल गर्नुका साथै नेतृत्व पनि विकास हुनेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा डायस कमिटीमा रहेका पदाधिकारीहरुको परिचय दिनुको साथै एजेण्डाको विषयमा छोटकरीमा विद्यार्थीहरुले जानकारी गराएका थिए ।

उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, प्याब्सनका केन्द्रीय सदस्य मदन दाहाल, प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, गोल्डेन गेट विद्यालय काठमाडौंका संस्थापक प्रिन्सिपल सिङ्ग लामा, युथ थिड्ढर सोसाइटी चितवनका अध्यक्ष सुशील खनाल, कमाने एकेडेमीका प्रिसिन्पल प्रतिमा डंगोल, एसक्यूसी जनकपुर हवका संयोजक कुनाल शर्मालगायतको आतिथ्यता रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा ६ वटा कमिटीहरु विभाजन गरिएको छ । कमिटीले विभिन्न एजेण्डामा रही छलफल गर्नेछन् । कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, विश्वका तत्कालीन स्थिति तथा जल्दोबल्दो घटना, समस्या समाधान र छलफलको प्रक्रियासँग बालबालिकालाई परिचित गराउने कार्यक्रम संयोजक भूपेन्द्रप्रताप सिंहले जानकारी दिनुभयो । कार्यक्रममा नवोदय शिशु सदनका कक्षा ८, ९ र १० का विद्यार्थीहरु र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीको सहभागिता रहनेछ ।