गुगल तस्बिर ।

हेटौंडाः नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरुले भर्ना अभियानसँगै वैकल्पिक विधिबाट पठनपाठनको तयारी सुरु गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको तथा निषेधाज्ञा अन्त्य नभएका कारण तत्काल भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने भएपछि विद्यालयहरुले वैकल्पिक विधिबाट पठनपाठन अघि बढाउने तयारी गरेका हुन् ।

विद्यालय तहको शैक्षिक सत्र प्रत्येक वर्ष बैशाखबाट सुरु भएर चैतमा अन्त्य हुने गर्दछ । तर, कोभिड–१९ का कारण २०७७ सालको सैक्षिक सत्रलाई भने सरकारले जेठ मसान्तसम्म लम्ब्याएको थियो । संघीय शिक्षा मन्त्रालयले असार एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेका कारण जिल्लाका सामुदायिक विद्यालयहरुले विद्यार्थीको नतिजा सार्वजनिक गरेर नयाँ भर्ना, पाठ्यपुस्तक वितरणसँगै भर्चुअल तथा अन्य वैकल्पिक विधिबाट पठनपाठनको तयारी अघि बढाएका हुन् ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकाका शिक्षा अधिकृत सोमबहादुर घलान तत्कालै विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन सम्भव नरहेको बताउनुहुन्छ । विद्यार्थीबीच भौतिक दूरी कायम गरेर पठनपाठन गराउन सहज नहुने अधिकृत घलानले बताउनुभयो । विद्यालयहरुलाई फोनको माध्यमबाट अभिभावकसँग सम्पर्क गरेर विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको उहाँले जानकारी दिनुुभयो । विद्यार्थीलाई विद्यालयमा नै भौतिकरुपमा उपस्थित गराएर पढाउन नसकिए पनि भौतिक दुरी कायम गरेर विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्न सकिने शिक्षा अधिकृत घलानको भनाई छ ।

विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट पढाउने वतावरण सृजना गरिनुपर्ने भए पनि मकवानपुरगढी गाउँपालिकामा सहज नभएको घलानले जानकारी दिनुुभयो । विद्यार्थीको भर्ना गरेर पाठ्यपुस्तक वितरण गरेपछि पुस्तक लिएर विद्यार्थीले आफैं घरमा बसेर अध्ययन गर्न सक्ने उहाँले बताउनुुभयो ।

परिस्थितिअनुसार चल्नुपर्ने भन्दै घलानले विद्यार्थीलाई पढाइमा समस्या भए फोन तथा विद्यालयमा आएर सम्पर्क गरी नजानेका कुरा सिक्न सकिनेमा जोड दिनुुभयो बालबालिकाको अभिभावकले समेत शिक्षाको महत्व बुझ्न नसक्दा प्रायः बालबालिका शिक्षाबाट टाढिँदै गएकोमा घलानले चिन्ता व्यक्त गर्नुुभयो । कोभिड महामारीको समयमा अनलाइन तथा घरमा नै बसेर गरिने पठनपाठन कत्तिको प्रभावकारी हुन्छ भन्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नें उहाँले बताउनुभयो ।

मनहरी गाउ“पालिकाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले गाउ“पालिकाभित्र सामुदायिक विद्यालयमा ९ हजार ७ सय र संस्थागत विद्यालयमा २ हजार ९ सय विद्यार्थी रहेको जानकारी दिनुभएको छ । विकट भौगोलिक अवस्था भएका गाउ“हरुमा प्रायः इन्टरनेट नपुगेको र मोवाइल पनि नहुनुका साथै अभिभावकको आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भर्चुअल माध्यमबाट पठनपाठन गराउन सहज नभएको उहाँले बताउनुभयो ।

असार १ गतेदेखि भर्ना र पठनपाठन गर्न आग्रह गरेकाले गाउँपालिकाका विद्यालयहरुले समयमा नै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराएमा विद्यार्थीले घरमा नै अध्ययन गरी केही सिक्न सक्ने उहाँले बताउनुभयो । पाठ्यपुस्तक पाएपछि अध्ययनमा असजह भएमा शिक्षकहरुसँगै सम्पर्क गरेर समस्या समाधान गर्न सकिने भएकाले यसतर्फ जोड दिन लागेको उहाँले जानकारी दिनुभयो । शिक्षक आफैं प्रविधिमैत्री नभएको अवस्थामा र विद्यार्थीसँग मोबाइल नहुँदा भर्चुअल माध्यमबाट पठनपठान गर्न नसकिने शिक्षा अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा शिक्षा अधिकृत रामचन्द्र खड्काले नगरभित्र ४० हजार विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । ग्रामीण क्षेत्रको तुलनामा नगरभित्रका विद्यालयका विद्यार्थीहरुलाई प्रविधिको पहुँचमा केही सहजता भएकाले भर्चुअल माध्यमबाट पठनपाठनको तयारी अगाडि बढाएको उहाँले बताउनुभयो ।

उपमहानगरले भर्जुअल माध्यम, रेडियो, टेलिभिजन, गुगुल फर्म र अभ्यास सिकाइबाट पठनपाठनको योजना बनाएको खड्काले जानकारी दिनुभयो । नगर क्षेत्रका माध्यमिक तथा आधारभूत विद्यालयमा इन्टरनेट जडानका लागि वार्षिक १२ हजार रुपैयााँ रकम पठाइसकेको हुँदा वैकल्पिक विधिबाट सहजरुपमा पढाई हुने उहाँले बताउनुभयो । विद्यार्थीहरुले पनि सस्तो दरमा भर्चुअल सिकाईका लागि मोबाइलमा इन्टरनेट डाटाको उपयोग गर्न सक्ने भएकाले अनलाइन माध्यमबाट पठनपाठन गर्ने विकल्प अहिले बढी प्रभावकारी हुनसक्ने शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो ।