सांकेतिक तस्वीर । स्रोतः गुगल ।

कतारः कतार सरकारले दिउँसो घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही गरेको छ । कतार सरकारले जुन महिनाको दोश्रो सातासम्म ९८ कम्पनीलाई कारबाही गरेको हो । प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले दिउँसो घाममा कामदारलाई काममा लगाएको भन्दै ९८ कम्पनीलाई कारबाही गरेको हो ।

कतार सरकारले पहिलो चरमा घाममा काम लगाउने ५४ कम्पनी र दोश्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको छ । कतार सरकारले पहिलो चरणमा जुन १ देखि ३ तारिखसम्म र दोश्रो चरणमा जुन ४ देखि ९ तारिखसम्म निरीक्षण गरेको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ । २००७ को मन्त्रिपरिषद्को निर्णय १६ अनुसार कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० बजेटबाट बेलुका ३ः३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ ।

कारबाहीमा परेका निर्माण, मर्मत, कृषि र उद्योग क्षेत्रका कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ । कतारको अल मुन्ताजा, खलीफा शहर, अल वाक्रा, अल वूकैर, अल सैलिया, अल खैरैत्यायत, अल राययान अल जदीद, ऐन खालिद, उम्म सलाल मुहम्मद, लुसाइल, अल डफना, मुरैख, र अल मशाफमा रहेका कम्पनीले नियम उलंघन गरेका थिए ।

मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ । मन्त्रालयले गत वर्ष नियम उल्लंघन गर्ने २०० बढी कम्पनीलाई कारबाही गरेको थियो । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । कतारमा बढीमा ५५ डिग्री र घटीमा १७ डिग्रीसम्म तापक्रम हुने गरेको छ । नेपाली राजदूतावास दोहा कतारका अनुसार कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।