हेटौंडाः बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गरेको छ । उच्च शिक्षाको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापना गर्न आवश्यक महसुस गरी प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको हो ।
प्राध्यापक युवराज संग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा ४ प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न धेरै पुँजी लगानी गर्नुपर्ने अध्ययनले देखाएको छ । सार्वजनिक विश्वविद्यालयको जताजतै क्याम्पसहरु नहुने, तर अध्ययन अनुसन्धान केन्द्र, परीक्षा केन्द्र तथा सामुदायिक क्याम्पसहरु सदस्य हुनसक्ने भनिएको छ ।
प्रदेश सरकारले गठन गरेको कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनमा थिङ्क ट्याङ्क विश्वविद्यालय स्थापना गर्ने, विकास भएका कलेजलाई नै विश्वविद्यालय बनाउने, कुनै खास क्षेत्रको सामुदायिक क्याम्पस वा आंगिक क्याम्पसलाई विश्वविद्यालय बनाउनेजस्ता विकल्प उल्लेख गरिएको छ । प्रदेशका १३ जिल्लाको भूगोल, राजस्व आम्दानी, पढाईमा भएका खर्चहरु, पढाई हुनसक्ने पाठ्यक्रमहरुलगायतमा जिल्लैपिच्छे अध्ययन गरिएको कार्यदलका संयोजक संग्रौलाले बताउनुभयो । कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनले प्रदेश सरकारलाई विश्वविद्यालय स्थापना गर्न मार्गप्रशस्त गर्ने उहा“ले बताउनुभयो ।
गत पुस मसान्तमा सामाजिक विकास मन्त्रीसमेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिवेदन ग्रहण गर्नुहुँदै चालु आर्थिक वर्षमा प्रदेश विश्वविद्यालय विधेयक पारित गरेर विश्वविद्यालय स्थापनाको काम अघि बढाउने बताउनुभएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार प्रदेश विश्वविद्यालयसम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको छ । विधेयकको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पठाइएको सेढाईंले बताउनुभयो । प्रदेशसभाको सातौं अधिवेशनबाट प्रदेश विश्वविद्यालय विधेयक पारित गर्ने प्रदेश सरकारको तयारी छ ।