हेटौंडा बजारमा लगाइका फूलहरु ।

हेटौंडाः बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको शहरको रुपमा विकास गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार तथा आसपासको क्षेत्रलाई फूलैफूलको हरियाली शहर निर्माण गर्ने अभियान सुरुवात गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजारको प्रत्येक चोकचोकमा गमला राखेर फूलको विरुवा रोपेको छ । त्यसको रेखदेख गर्न र गमलामा पानी हाल्न हेटौंडा उपमहानगरपालिकाकै कर्मचारी खटिने गरेका छन् ।

हेटौंडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई तिव्र पार्न आफ्नै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्ने कार्य हेटौंडा उपमहानगरपालिकाले सुरुवात गरेको छ । नगर परिसरमा स्थानीयस्तरमा उत्पादन हुने फूलको विरुवा उत्पादन गर्न प्लाष्टिकको टनेलभित्र नर्सरी स्थापना गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता जगन्नाथ सापकोटाले जानकारी दिनुभयो ।

यसै वर्ष फूलका विरुवा रोप्न मिल्नेगरी १० हजार फूलका विरुवा उत्पादन गर्ने लक्ष्य लिएकोे हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौंडा बजारक्षेत्र र आसपासका सडकपेटीमा रोपिने ठूला–ठूला विरुवाहरु बाहिरबाट किनेर ल्याउने र साना फूलका विरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गरिने मेयर महतले बताउनुभयो ।

हेटौंडाको वातावरणमा अनुकूल हुने सबै प्रकारका फूलका विरुवा उत्पादन गरिने मेयर महतले जानकारी दिनुभयो । अहिले हेटौंडा बजार क्षेत्रको मत्स्य विकास केन्द्र, नगरपालिकारोड, कान्तिराजपथ, मकवानपुर क्याम्पस गेटलगायत सडकको डिभाइडरमा लगाइएका पूmलले शहरको सुन्दरता बढाएको छ ।

पानी नपरेर केही स्थानमा फूलका विरुवा मरेका पनि छन् । नगरले आफ्नै घर वरपर भएका फूलहरुको संरक्षण गर्न नगरबासीलाई अनुरोध गर्दै आएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाले नगरमा घर बनाउँदा अनिवार्यरुपमा २ वटा फलफूलका विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ ।