पत्रकार सम्मेलनमा कार्यक्रमको जानकारी गराउनुहुँदै ।

हेटौंडाः ओपेरा इन्फोटेन्मेन्ट क्रियशन प्रालिद्वारा हेटौंडामा मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेन्ट क्रियशनका अध्यक्ष विक्रम लुङ्वाले मिसेज तामाङ हुने बताउनुभएको हो ।

अरु जातिको तुलनामा तामाङ समुदायका छोराछोरीमा फरक व्यवहार भइरहेको भन्दै लुङ्वाले महिलाहरुलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति वृद्वि भएको बताउनुभएको छ । यस्ता प्रवृत्ति न्यूनीकरणका साथै तामाङ समुदायका महिलाको स्वतन्त्रताको पहिचानका लागि मिसेज तामाङ प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

महिलाहरुमा कुनै विषयमा निवेदन लेख्नसमेत नसक्ने अवस्था रहेको भन्दै लुङ्वाले महिलामा बोल्ने क्षमताको विकास र महिला सशक्तिकरणमा यस प्रतियोगिताले सहयोग गर्ने बताउनुभएको छ । प्रतियोगितामा सहभागी हुन १५ हजार शुल्कसहित २५ दिनको तालिम लिनुपर्नेछ । मिसेज तामाङको तालिम आगामी चैत २५ गतेदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा २० वर्षदेखि ४५ वर्षसम्मका तामाङ समुदायका विवाहित महिलाहरु सहभागी हुन सक्नेछन् । विजेताले कर कट्टा गरेर १ लाख रुपियाँ नगद प्राप्त गर्नेछन् । करिब २० जना प्रतियोगी सहभागी हुने मिसेज तामाङको फाइनल आगामी बैशाखमा हुने लुङ्वाले जानकारी दिनुभयो ।