विगत केही हप्तादेखि विश्वभर र खास गरेर छिमेकी देशहरुमा कोभिड–१९ संक्रमणको दर बढ्दो क्रममा छ । भारतसँगको खुला सिमाना तथा अन्तर्राष्ट्रिय उडानका कारण नेपालमा समेत संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ । एक वर्षदेखि विश्वलाई नै नियन्त्रणमा लिएको कोभिडको प्रभाव विगत छ महिनादेखि कम भएको थियो । कोभिडकै कारण नागरिकले स्वास्थ्य सावधानी अपनाउन थालेपछि यसको प्रकोप कम भएको हो । तर कम हुँदै गएपछि आम नागरिकले आफ्नो व्यवहार पुरानै शैलीबाट गर्न थालेका छन्, जसले गर्दा फेरि संक्रमण दोहोरिँदै गएको छ । दोहोरिएको मात्र नभई कतिपय देशमा त नयाँ भाइरसको समेत संक्रमण हुन थालेको पुष्टि भएको छ । भाइरसहरु नियन्त्रणका लागि विशेष औषधि भन्दा पनि मानिसको व्यवहार नै उपचारको प्रमुख माध्यम हो ।

भारतमा संक्रमण बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली जनजीवनमा पर्ने नै भयो । त्यसैले सरकारले पनि सचेत गराउन थालेको छ । सभा, जुलुस, गोष्ठी, भेलाजस्ता भिडभाड हुने कुनै पनि कार्य नगर्न भन्दै सूचना जारी गरेको छ । स्वास्थ्य मन्त्रालयको यही अनुरोधकै आधारमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जिल्लाबासीलाई होशियार रहन भनेको छ । सरकारी सूचनासँगै आम नागरिक फेरि लकडाउन हुने त हैन भन्ने त्रासमा छन् । लामो समयको लकडाउनले हैरानी व्यहोरेको समाज त्यही भयमा छ । अन्य कामभन्दा जीवनरक्षा नै पहिलो प्राथमिकता पर्दछ । लकडाउनको अवस्था आउन नदिनका आम नागरिकको जीवनशैली महत्वपूर्ण पक्ष बन्दछ ।

भिडभाड कम गर्ने र सतर्कता गराउने जिम्मेवार सरकारी निकायहरुमै आदेशको उल्लंघन बढी हुने गरेको देखिन्छ । भिडभाड नगर्न सर्वसाधारणलाई सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आफ्नै कार्यालय परिसरमा भने भिड नियन्त्रणको प्रयत्न गरेको छैन । संक्रामक रोग नियन्त्रण ऐन कार्यान्वयन गराउनुपर्ने प्रशासन कार्यालय परिसरमा भिडभाड व्यापक छ । सर्वसाधारणलाई मास्क लगाउन, साबुनपानीले हात धुन अपिल गरिरहँदा जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका सर्वसाधारणदेखि कर्मचारीसमेतले सामान्य सावधानीसमेत अपनाएको देखिँदैन । आदेश दिनेले नै पालना नगर्ने नियम सर्वसाधारणले किन गर्ने भन्ने प्रश्न उठ्दैन र ? यतिमात्र हैन कि, कर्मचारीबाट सार्वजनिक हितविपरित सुर्तीजन्य पदार्थको खुलम्खुल्ला सेवनसमेत भएका घटनाले दिर्नेशन उल्लंघनमा प्रोत्साहन दिएको अर्थ लाग्दैन र ?

कसैलाई अनुशासनमा बस्न आदेश दिने व्यक्ति स्वयम् अनुशासित हुन आवश्यक छ । सार्वजनिक सेवाप्रदायक संस्थाहरुमा भिड हुनु स्वभाविक हो । तर त्यसलाई उचित व्यवस्थापन गरिनु पर्दछ । सूचना सार्वजनिक गरेर आफ्नो जिम्मेवारीमात्र पूरा गर्ने परम्परा अन्त्य हुनु पर्दछ । सरकारी निकायबाटै स्वास्थ्य मापदण्ड कडाईका साथ पालना भएमात्र सर्वसाधारणलाई होशियारी गराउन सकिन्छ । सडकपेटी वा पसल र घरमा मात्र कोरोनाको जोखिम हुने र सरकारी कार्यालायमा चाहिँ नहुने भन्ने होइन । भाइरसको प्रकोप जहाँबाट पनि हुनसक्ने भएकाले होशियारी अपनाउनु सबैको जिम्मेवारी हो । यस विषयमा आदेश दिने निकायहरुले पहिला पालना गर्न आवश्यक छ ।