हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औं प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा सोमबार बसेको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको हो ।

बैठकले प्रजातन्त्र दिवसका अवसरमा तीन दिनसम्म गरिने विभिन्न कार्यक्रमसमेत तय गरेको छ । दिवसका अवसरमा हेटौंडामा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफूल वितरण कार्यक्रम, खुला दौड प्रतियोगिता, म्युजिकल थेरापीलगायत सार्वजनिक स्थानमा झण्डा फहराउने कार्यक्रम तय भएका छन् । यसैगरी तीन दिन दीपावली गरिने निर्णय पनि गरिएको छ ।

बैठकले फागुन ७ गते  र्‍यालीको आयोजना गर्ने र दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गर्ने बताइएको छ । बैठकले जिल्ला समन्वय समिति मकवानपुरलाई जनपरिचालन, सामाजिक विकास मन्त्रालयलाई हाजिरीजवाफ प्रतियोगिता, प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयलाई परिसम्वाद कार्यक्रमको जिम्मा दिएको छ । यस्तै, हेटौंडा उपमहानगरपालिकालाई सरसफाई, कृषि तथा सहकारी मन्त्रालयलाई फलफूल वितरण, कर्मचारी मिलन केन्द्र मकवानपुरलाई रक्तदान, जिल्ला खेलकुद विकास समितिलाई खुला दौड र प्रदेश प्रहरी कार्यालयलाई म्युजिकल थेरापीको जिम्मेवारी दिइएको छ ।

बैठकले हाजिरीजवाफ प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार तथा खुला दौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ५/५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रजातन्त्र दिवसका दिन भूटनदेवी माविको चौरबाट  र्‍यालीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुरस्कार वितरण तथा मञ्चको कार्यक्रम हुने बताइएको छ ।

बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर बीकेलगायत विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।