सिएम रिमाल हेटौंडा

ए दाइ कता ?
गेटमा पुग्नासाथ एकजना भाइले प्रश्न गरे ।
म हतार हतार भदौँ २५ गते लाइसेन्सको म्याद सकिने अघिल्लो दिन २४ गते नै नवीकरण गराउन पुगेको थिएँ । ती भाइले आफ्नै कार्यालयमा लगेर फर्महरु भरिदिए । अनि लागियो लाइसेन्स फाँटतिर ।
‘एकछिन बाहिर बस्नुहोस् त’ भित्रबाट भर्खर जुँगाको रेखी बसेको केटोको फुर्तिलो आवाज सुन्न पाइयो ।
‘ल तपाईँको अनलाइनमा चढेको छैन पछि आउनुस् ।’ केटोको आवाजमा दम थियो ।’
‘अब के गर्ने त सर ?’ प्रति प्रश्नमा एक अधवैँसे मानिसले सोध्नु भयो ।
‘वीरगञ्ज जानुस् उतैबाट अनलाइनमा चढाएर आउनुहोस् अनि हुन्छ काम तपाईँको ।’
विचरा कहाँबाट आउनु भएको हो । मलिन अनुहार लगाएर आफ्नो बाटो तताउनु भयो ।
पालो मेरै थियो । टक्क गएर अग्लो कुर्सीमा बसेँ । नागरिकता र लाइसेन्स अनि फर्म भरेको सबै दिएँ । तपाईँको पनि अनलाइनमा चढेको छैन चढाएर आउनुस् । रुखो स्वरमा दम्भ पनि मिसिएको थियो उहाँको आवाजमा ।

‘हजुरले गर्न मिल्छ भने गरिदिनुस् न’ मेरो आवाज सायद उहाँको कानसम्म मात्रै पुग्यो होला ।
प्रति उत्तरमा ‘मिल्दैन’ भन्ने आवाज आयो ।
निराश हुँदै बाहिर निस्किएँ । ‘भाइ अब के गर्ने त है ?’ भनेर सोधेँ ।
भाइले म वीरगञ्जमा भनुँला भोलि आउनु न है ।
हुन्छ भन्नुको विकल्प नै थिएन मसँग ।
भोलिपल्ट भाइले दिएको समयमै पुगेँ ।
‘ला दाइ ! आज पनि अनलाइन मै हालेको छैन नि तपाईँको त ।’
‘अब के हुन्छ त ? म विरगञ्ज नै जानुपर्ने हो कि मिल्छ त यतैबाट ?’ सोधेँ भाइलाई ।
‘सकभर म मिलाउने प्रयास गर्छु है त दाइ । बस्दै गर्नु न ।’

एकछिन पछि त ‘१५०० लाग्छ रे दाइ । काम यतैबाट हुन्छ ।’ भन्ने पो सुनियो त ।
को हो र १५०० लिने ? भनेर भित्र पसेको थिएँ त्यही जो रुखो बोलीमा दम्भको साथ खाजा खाँदै हुनुहुन्थ्यो । भाइले मेरै अगाडि कति लाग्छ भनेर सोधे । उसले १५०० लाग्छ भनेर कापीमा लेखी देखायो ।
अब के गर्ने भन्ने दिमागमा नै आएन एक त जरिवाना लाग्ने डर भयो अर्को त थप १५०० तिर्नुपर्ने कुरा आयो । यसो गर्दा लगभग ४५०० जति लाग्ने अनुमान भयो ।

अलि हतारमा ‘यो महिनाभित्र जरिवाना लाग्दैन रे छुट छ दाइ’ भन्यो भाइले । म खुशीले गद्गद् भएँ । भाइलाई सोधेँ ‘भाइ कहिले आऊँ त म ?’
‘पर्सि ।’ प्रतिउत्तरमा जवाफ आयो ।
‘सरकारी कर्मचारी जसले काम गर्नुपर्ने हो अगाडिबाट नगरी पछाडिको झ्यालबाट गर्ने काम निकै नै अर्थपूर्ण हुँदो रहेछ । त्यही मान्छे जसले नम्वर चढाए हुनेमा त्यही मान्छे जसलाई १५०० दिएपछि मात्र त्यति काम एकैछिनमा सम्पन्न हुने है ।’ बाइकमा सोच्दै घर फर्केँ ।
भदौँ ३० मा । ‘भाइ म आऊँ ?’ ‘फोनबाटै सोधेँ ।
आउनु न १२ बजेतिर ।’ उताबाट उत्तर आयो । खुसी हुँदै गएँ ।
‘अनि के भो त चढ्यो त अनलाइनमा ? ’ निकै उत्सुक हुँदै सोधेँ कारण १५०० बच्नेवाला थियो र ।
‘कहाँ चढ्नु नि दाइ । हुँदै भएन नि ।’
‘अनि अब के गर्ने त आज अन्तिम दिन होइन र ?’

‘हो दाइ अब विकल्प नै छैन । उसैलाई नभनी हुँदैन ।’ अलि घट्छ कि सोध न त एकपटक फेरि ।
‘उहाँ त आउनु भएकै छैन । घरमै हुनुहुन्छ । घरबाटै गरिदिने रे पैसा चाहिँ १५०० नै लाग्छ रे घट्दैन भन्नुभयो उहाँले त ।’ मन अमिलो पार्दै ‘गर न त’ अब मर्नेबेला हरियो काक्रो भनेझैँ भयो मलाई त ।
के गर्नु घरबाट कमाइखाने भाडो बनाएपछि हामी जस्ताले के नै गर्न सक्छौँ र ?
केही समय पछि लाग्यौँ पुरानै ठाउँ जहाँ रुखो आवाज मात्र सुन्न पाइन्थ्यो । तर त्यस दिन एकजना मेडम हुनुहुँदो रहेछ दर्ता फाँटमा । उहाँलाई सबै सक्कली कागजपत्रहरु बुझाएँ । नाम, ठेगाना हेरेपछि आफ्नै गाउँले हुनुहुँदो पो रहेछ भन्नुभयो । निकै नै खुशी लाग्यो । ‘पहिले नै थाहा पाएको भए १५०० नलाग्ने रहेछ नि भन्दै मनमनै सोचेँ ।’

सबै कुरा सोध्नुभयो मैले पनि भनिदिएँ । आखिर आफ्नै दाजुको साथीकी श्रीमती पो पर्नुभएछ । उहाँले गर्न मिल्ने सबै काम गरेर पठाइदिनु भयो । खुसी लाग्यो । एउटा कर्मचारीले गर्नुपर्ने जिम्मेवारी र हुनुपर्ने बोली सबै थियो उहाँमा ।
आखिर सरकारी नाम निकाल्दैमा यति धेरै घमण्ड र दम्भ किन देखाउनु पर्‍योे र ? सेवाग्राहीको सेवा गर्न बसेका नै भ्रष्ट खुलेआम भित्रबाट काम गर्छन् भने कसरी भ्रष्टाचार मुक्त, सुशासनयुक्त बन्छ भनेर गर्व गर्ने हामी सोझा साझा नेपाली जनताले ?