अशोक शाक्य, नेता, नेपाली कांग्रेस मकवानपुर

संघीय नेपालअन्तर्गत बागमती प्रदेशको प्रथम आम निर्वाचनमा वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रतिस्पर्धीको रुपमा मकवानपुरबाट निर्वाचनमा सहभागी हुनुभएका अशोक शाक्य नेपाली कांग्रेसका पुराना राजनीतिकर्मीको रुपमा हुनुहुन्छ । नयाँ परिकल्पनाका साथ संघीय संरचना स्थापित हुने क्रममै छ । निर्वाचनका बेला निर्वाचनपछि को के हुने भन्ने निश्चित थिएन । तर, निर्वाचनपछि प्रतिस्पर्धी उम्मेद्वार मुख्यमन्त्री भएको भन्ने आधारमा अशोक शाक्यको चर्चा हुने गरेको छ । मुख्यमन्त्रीका प्रतिस्पर्धी अशोक शाक्यसँग प्रदेश सरकारको कामलाई कसरी हेरिरहनुभएको छ भनी समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः बागमती प्रदेश सरकारले जसरी काम गरिराखेको छ ? यसमा तपाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेता हुनुका साथै मुख्यमन्त्रीसँगै निर्वाचनमा प्रतिस्पर्धी हुनुभएको हिसाबले प्रदेश सरकारको कामलाई कसरी हेरिराख्नु भएको छ ?
शाक्यः जुन ढङ्गबाट संविधान निर्माण भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको भूमिका र जिम्मेवारी थियो, त्यो अनुसार अहिले प्रदेशको भूमिका छिटफुट बजेटहरु छर्ने काम, विकास निर्माण अलिअलि गर्ने बाहेक केही पनि प्रभावकारी देखिएको छैन । मुख्य कुरा भनेको प्रदेशले जुन अधिकार सम्पन्न भएर प्रदेशमा ऐनहरु निर्माण गर्नुपर्ने, विकास निर्माण कामहरु गर्नुपर्ने हो, अहिले जुन किसिमको कोरोनाको महामारी छ त्यसमा प्रदेश सरकारले मुख्य भूमिका खेल्नु पर्ने हो त्यो भूमिका देखाउन सकेको छैन । मन्त्रालयस्तरबाट बजेट खर्च गरेर विकासको नाममा सहभागी भएको जस्तो मात्र देखिएको छ । गठन भएअनुसार प्रदेश सरकार अधिकार सम्पन्न भएर काम गर्न सकेको छैन ।

समाजः प्रदेश सरकारले कानुन निर्माणको काम गरिनै राखेको छ । प्रदेश पनि एक हिसाबले स्थापित नै भइसकेको छ । कोरोना कै कारणले काम गर्न सकिएन भन्ने भनाइ आइराखेको देखिन्छ । यो हिसाबले चाही प्रदेश सरकारले गर्न खोज्दाखोज्दै कोरोना भाइरस बाधक भयो भन्ने छ नि ?
शाक्यः कोरोना आएको ६/७ महिना भइसकेको छ । यो बीचमा धेरै कामहरु गर्नुपर्ने अवस्था थियो । त्यतातिर ध्यान पुर्‍याएको जस्तो लागेको छैन । आईसोलेशन व्यवस्थापनदेखि अस्पतालको क्षमता वृद्धि गर्ने, अस्पतालको विकास गर्ने थुप्रो अवसर थियो । यसलाई प्रदेश सरकारले सदुपयोग गर्न सकेन ।

समाजः प्रदेश सरकारको धेरै कुराप्रति असन्तुष्टि व्यक्त गर्नुभयो, प्रभावकारी काम भएको छैन भन्नुभयो । प्रतिपक्षी दलमा रहेर पनि प्रदेश सरकारका केही प्रशंसा गर्न लायक काम के भयो जस्तो लाग्छ ?
शाक्यः एउटा मकवानपुरवासी भएको हैसियतले प्रदेशको राजधानी हेटौंडा तोकिनु खुसीको कुरा हो । सर्वसम्मत राजधानी र नामाकरणको काम टुंग्याउनु प्रदेश सरकारको उपलब्धीमूलक काम हो । केही कानुनहरु निर्माण गरेका छन् तर कार्यान्वयन तहमा अहिलेसम्म पनि लैजान सकेको छैन । त्यो कार्यान्वयन तहसम्म नलगेसम्म सफल भन्ने अवस्था आउँदैन । केही गर्न खोजे जस्तो देखिए पनि केन्द्रको धेरै थिचोमिचोमा परेको देखिन्छ । केन्द्र सरकारसँग लड्ने क्षमता प्रदेश सरकारसँग भएन । हाम्रो अधिकार हामीलाई देउ भन्ने स्थिति पनि भएन ।

समाजः प्रमुख प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसले सरकारको कामको निगरानी गर्नुपर्ने जुन खालको भूमिका रहन्थ्यो । त्यो भूमिकाका विषयमा तपाईहरुले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
शाक्यः सरकार यस्तो एकलौटी ढङ्गले चलिराखेको छ । आफ्नै पार्टीको कुरा सुनिराखेको छैन । आफ्नै पार्टी अध्यक्षको कुरा नसुनेर पार्टीभित्र खैलाबैला मचिरहेको छ । प्रतिपक्षीले हरेक कुरामा आवाज उठाइराखेको छ । कोरोना विषयमा पनि धेरै कुराहरु प्रतिपक्षीले आवाज उठाइराखेको हो । तर सरकारले सुनिराखेको छैन । आफ्नै पार्टीको कुराहरु नसुनिराखेको कारणले गर्दाखेरी प्रतिपक्षीको भूमिका अलि कमजोर भएको जस्तो देखिन्छ ।

समाजः प्रमुख प्रतिपक्षी दलको नेता ईन्द्रबहादुर बानियाँ हुनुहुन्छ । उहाँको र मुख्यमन्त्रीको आपसी सहमति र सहकार्य जस्तो देखिन्छ । सत्तारुढ दलप्रति प्रतिपक्षी दलको नेताको भूमिका प्रभावकारी भएन भन्ने गुनासो सुनिन्छ नि ?
शाक्यः मुख्यमन्त्री र प्रतिपक्षी दलको नेता पनि मकवानपुर जिल्लाकै भएको कारणले धेरै कुराहरु अब राजधानी तोक्नेदेखि नामाकरणदेखि लिएर विकास योजनामा उहाँहरुको सहभागिता स्वभाविक हुने नै भयो । एकै ठाउँको भएको कारणले अब यहीँको मुख्यमन्त्री भएको कारणले अलि विरोध पनि कम भएको होला । तर धेरै कुरामा जनताले आवाज उठाउने जनताको हकहितमा आवाज उठाउने कुरामा चाहीँ हाम्रो सभापति तथा प्रतिपक्षी दलको नेताले सदनदेखि पत्रिकामार्फत, विभिन्न सञ्चार माध्यममा पनि कुराहरु राखिराख्नु भएको छ । त्यो सुनुवाई कति भएको छ, कति भएको छैन भन्ने कुरा भोलिका दिनमा मूल्याङ्कन होला ।

समाजः प्रदेश सरकारको जति समय बाँकी छ यो अवधिमा चाही के कुरामा ध्यान दिएर काम गर्न सक्यो भन्ने प्रदेशका जनताले केही उपलब्धी हासिल गर्ने देख्नुहुन्छ ?
शाक्यः सबैभन्दा प्रमुख कुरा प्रदेशका ऐन कानुन नै हो । यो ऐन कानुनलाई निर्माण गरेर कार्यान्वयन तहमा लाग्नु पर्‍यो । समष्टिगत रुपमा विकास योजनाहरु जहाँ आवश्यक छ, त्यो आवश्यकता परिपूर्ति गर्ने किसिमको विकास योजनाहरु पनि प्राथमिकता पार्नु पर्‍यो । अहिले जुन कोरोनाको महामारी छ । त्यो महामारी अहिले एउटा अवसर पनि हो । अन्य क्षेत्र बजेटहरु एउटा स्वास्थ्य क्षेत्रमा खर्च गरेर यो कोरोनासँग जित्ने र नेपाली जनताको स्वास्थ्य सुधार गर्ने । त्यो दिशामा अगाडि बढ्यो भने राम्रो होला भन्ने विश्वास लागेको छ ।

समाजः बाँकीको अवधिमा प्रतिपक्षी दलको भूमिका पनि कस्तो रहनु पर्छ जस्तो लाग्छ ?
शाक्यः प्रतिपक्षीको हिजोको परिभाषा अनुसार जुलुस, ढुंगा मुढा गरेर हिँड्नुपर्ने अवस्था हो । तर, अब कोरोनाले गर्दा त्यो अवस्था पनि छैन । जस्तो नेपाली कांग्रेस जुन जिम्मेवार पार्टीले त्यस्तो काम पनि गर्न मिलेन । त्यसैले पनि प्रतिपक्षी नभएको हो कि भन्ने कुरा गरिराखेका छन् । तर हामीले प्रतिपक्षी दलको हिसाबले जुन मुद्दाहरु उठान गर्नुपर्ने, सरकारलाई सजग गर्नुपर्ने कुरामा हाम्रो पार्टीले निरन्तर आवाज उठाइराखेको छ । प्रतिपक्षी दलको हिसाबले हामी आफैले आवाज उठाइराखेका छौं । हाम्रो पार्टीले सरकारको ध्यानाकर्षण गरिराखेको नै छ ।

समाजः आगामी दिनमा प्रतिपक्षी दलले कसरी जान्छ होला ?
शाक्यः प्रतिपक्षी दलले जुन जनताको समस्या छ । देश जुन विकाराल स्थितिमा छ । कोरोनाले गर्दाखेरी जनता पनि भयावह स्थितिमा छ । आर्थिक रुपमा थलथलिएको अवस्थामा पुगिसकेको छ । यसमा प्रतिपक्षी दलले देशलाई बचाउने, जनतालाई बचाउने र सँगसँगै आफ्नो आवाज पनि आफ्नो संगठनलाई मजबुत गर्दै जाने स्थिति देखेको छु ।